काठमाण्डौंः धौलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन ।
अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ । त्यसैले अस्पतालमा कोरोना संक्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी आएपछि अस्पतालका चिकित्सकले बिरामीलाई आठ घण्टा लगाएर पोखरा पु¥याएका छन् ।
भेन्टिलेटर आवश्यक बिरामीलाई भेन्टिलेटर तत्कालैै आवश्यक भए पनि चिकित्सकले बिरामीको अवस्था स्थिर राखी पोखरा पठाएका हुन् ।
कोरोना संक्रमित बागलुङ नगरपालिका–६ का ५० वर्षीय पुरुषलाई अस्पतालका चिकित्सकले आफैँ खटिएर अम्बो प्याकिङ(मुखबाट कृत्रिम श्वास दिएर)गरी पोखराको भेन्टिलेटरमा पु¥याइएको छ ।
अस्पतालमा कार्यरत फिजिसियन डा अभिषेक वाग्ले, डा. सुनिल सिलवाल र डा.प्राग गजुरेललगायतको समूहले बिरामीलाई अम्बो प्याकिङ गरी पोखरा पु¥याएर भर्ना गरेको हो । यसका लागि चिकित्सक रातभर खटिएका थिए ।
धौलागिरि अस्पताल बागलुङमा कार्यरत डा.सिलवालका अनुसार आइतबार साँझ अस्पताल आएका संक्रमितलाई तत्कालै भेन्टिलेटर आवश्यक पर्ने भएपनि अस्पतालमा भेन्टिलेटर खाली नरहेका कारण डाक्टरहरु आफैँ बिरामीसँग बसेर सोमबार बिहान मात्रै पोखरा पु¥याइएको हो ।
“यो चिकित्सकहरुको मेहनतका कारण मात्रै सम्भव भएको हो, भेन्टिलेटरको आवश्यकता भएका बिरामीलाई तत्काल भेन्टिलेटरमा राख्न नसकेको अवस्थामा अम्बो प्याकिङ गरी पोखरा लगिएको हो”, डा.सिलवालले भने, “यो निकै बिरलै मात्रमा गरिन्छ र बाँच्ने सम्भावना न्यून भए पनि हामीहरुले बिरामीलाई पोखरा लगेर भेन्टिलेटरमा राख्न सफल भएका छौँ, बिरामीलाई डा. अभिषेक वाग्लेले एम्बुलेन्समा राखेर आफैँ भेन्टिलेटर भएको अस्पताल पु¥याउनुभयो ।”
भेन्टिलेटरमा तत्कालै राख्नुपर्ने बिरामीलाई आठ घण्टासम्म स्वास्थ्य स्थिर राखी भेन्टिलेटरमा सकुशल पु¥याउने कार्य प्राय असम्भव हुने स्वास्थ्यकर्मी बताउँछन् । अस्पतालका चिकित्सकको मेहनतका कारण एक संक्रमितको अहिले फिस्टेल अस्पताल पोखराको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तत्कालैै बिरामीलाई भेन्टिलेटरमा राख्दासमेत बचाउन नसकेको अवस्थामा आठ घण्टापछि मात्रै पोखरा लगेर भेन्टिलेटरमा पु¥याएर उपचार गराउनुमा चिकित्सकको ठूलो मेहनत हुने स्वास्थ्यकर्मी बताउँछन् ।
६० थान अक्सिजन सिलिण्डर र पाँच लाख सहयोग
कोरोना सङ्कटसँग जुध्न ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत लगानीमा अक्सिजन सिलिण्डर तथा नगद सहयोग गर्नुभएको छ ।
नगरप्रमुख नेपालीले व्यक्तिगतरूपमा ६० थान अक्सिजन सिलिण्डर र नगद रु पाँच लाख सहयोग गर्नुभएको हो ।
उनले धवलागिरि अस्पताललाई नगदसहित ३० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ३० थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
कोरोना महामारीमा नागरिकको जीवनरक्षा आफ्नो प्रमुख दायित्व भएको भन्दै उनले व्यक्तिगतरूपमा पाँच लाखसहित ३० अक्सिजन सिलिण्डर अस्पतालनै पुगेर हस्तान्तरण गरेका छन् ।
अस्पतालमा अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्री खरिदका लागि नगरप्रमुख नेपालीले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरलाई नगद तथा सिलिण्डर हस्तान्तरण गरेको छ ।
अक्सिजनले भरिएका ३० सिलिण्डर करिब नौ लाखको लागतमा अस्पताललाई प्रदान गरेको उनले बताए ।
नगरप्रमुख नेपालीले आफूले व्यक्तिगतरूपमा ६५ थान अक्सिजन सिलिण्डर खरिद गरेकामा ३० थान धवलागिरि अस्पताललाई र ३० थान आफ्नो नगरपालिकाको केन्द्रमा रहेको बुर्तिवाङ प्राथमकि स्वास्थ्य केन्द्रलाई सहयोग गरेको बताए ।
यस्तै आफ्ना नागरिकलाई अत्यावश्यक अवस्थामा भनेर पाँच सिलिण्डर अक्सिजन पोखरामा राखेको बताउनुभयो ।
“नागरिकको जीवन रक्षाका लागि सानो भएपनि सहयोग गरेको छु”, नेपालीले भने “सामान्य कोरोनाका बिरामीको ढोरपाटनमा उपचार गरिनेछ भने जटिल प्रकारका बिरामी धवलागिरि अस्पताल पठाइने भएकाले अस्पताललाई नगदसहित अक्सिजन सहयोग गरेको हूँ ।”
धवलागिरि अस्पतालमा नगरप्रमुख नेपालीले प्रदान गरेको ३० थान अक्सिजनसहित १ सय ३६ अक्सिजन सिलिण्डर अस्पतालको स्वामित्वमा र फिर्ता गर्ने गरी व्यवसायीले प्रदान गरेका ५३ अक्सिजन सिलिण्डर छन् ।
कोरोना महामारीमा अस्पतालमा अक्सिजन सिलिण्डर कमी भएर नागरिकको उपचारमा समस्या नहोस् भन्नका लागि नगरप्रमुख नेपालीले नगदसहित सिलिण्डर सहयोग गर्नु अत्यन्तै सराहनीय काम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरले बताए ।
अस्पतालमा केही दिनमै नयाँ अक्सिजन प्लान्ट स्थापना गर्ने नेपाल सरकारको तयारीसमेत छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया