असार २३, २०८२ सोमबार July 7, 2025

सरकार बनेको पहिलो वर्ष ल्याउनुपर्ने खालको बजेट आएको छ : डा. विश्व पौडेल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

आगामी आर्थिक वर्षको बजेटलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

समग्रतामा हेर्दा विगत तीन वर्षयता ठूलो बजेट बनाउने तर त्यसको लक्ष्य हासिल नगर्ने समस्या देखिएको छ । ११ खर्बभन्दा बढी बजेट खर्च गर्ने लक्ष्य हासिल नगरेको रेकर्ड भएकाले अहिले ल्याइएको साढे १६ खर्बको बजेटको लक्ष्य हासिल हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । त्यसमा पनि कोभिडको बीचमा आएको बजेट हो, यो । सरकार नै परिवर्तन हुने वेला पनि छ । किनभने, चुनाव अनिश्चित भयो, अब के हुन्छ भनेर कसैलाई पनि थाहा छैन । अब बन्ने सरकारको ‘कमिटमेन्ट’ यही हुन्छ कि हुँदैन, थाहा छैन । तर, यो बजेट हेर्दा प्रधानमन्त्री ओली प्रधानमन्त्री भएको पहिलो वर्ष आउनुपर्ने खालको बजेटजस्तो छ । किनभने, उहाँ प्रधानमन्त्री हुनेबित्तिकै आएका भए अहिलेसम्म कार्यान्वयनमा जाने खालका आयोजनाहरू धेरै छन्, जुन भोलिका दिनमा कसले कार्यान्वयन गर्ने भन्ने स्पष्ट छैन ।

साढे १६ अर्बको बजेटको स्रोततर्फ ऋणको हिस्सा निकै ठूलो अनुमान गरिएको छ, त्यो हासिल हुन सक्ला ? 

३ खर्ब ९ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिइएको छ, जुन हासिल गर्न सक्ने क्षमता अहिलेसम्म देखिएको छैन । २ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउने सम्भावना हुन सक्छ । वैदेशिक अनुदान पनि ६३ अर्बको अनुमान गरिएको छ । कोभिडका कारणले आयो भने बेग्लै हो, नत्र यो पनि उच्च नै हो । योभन्दा अगाडि अनुदानको संशोधित अनुमान नै ३५ अर्ब थियो । पोहोर–परार पनि वैदेशिक अनुदान र वैदेशिक ऋणमा हाम्रा अनुमानहरू वास्तविकताभन्दा पर रहे । यसरी परम्परागत रूपमा पनि उच्च अंकको ऋण र अनुदानको अंक राखेर बजेटलाई ठूलो बनाउने गरिएको छ । यसपालि पनि यो प्राप्त गर्न सकिन्छ कि सकिँदैन, भन्न सकिन्न ।

बजेटका प्राथमिकतालाई चाहिँ कसरी हेर्नुहुन्छ ? 

कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ, त्यसमा कसैको गुनासो नहोला । बीचमा सरकार नै परिवर्तन भयो भने पनि यसलाई फेर्ने स्थिति देखिँदैन । पिसिआर परीक्षण सबैलाई ‘फ्री’ भन्नुभएको छ, त्यो एकदमै सकारात्मक हो । अब पिसिआरको दायरा बढाउनुपर्‍यो । अहिले उहाँहरूले आइसियू तथा बेडहरू बढाउने, अक्सिजनको सुविधा थप्ने, भेन्टिलेटर सबै ठाउँमा राख्ने भन्नुभएको छ । यो सबैले हाम्रो सामुदायिक स्वास्थ्यको स्थिति ३–४ वर्षपछि झनै राम्रो बनाउन मद्दत गर्छ । औषधि आयातमा भन्सार ‘फ्री’ गरिदिने कार्यक्रम छ । यी विषयलाई यो महामारीमा कसैले पनि परिवर्तन गर्दैन । यसको आलोचना गर्नुपर्ने कारण छैन ।

स्वास्थ्यमा आइभिएफ सेवा विस्तार गर्ने कार्यक्रम पनि परेको छ, त्यो राम्रो हो । सरुवा रोगका लागि अस्पतालहरू विस्तार गर्ने योजना राम्रो हो । सरुवा रोग आयो भने हामीसँग अस्पतालहरू हुनेछन् । महामारीपछि खुलेको भनेर सम्झनाका लागि पनि चाहिन्छ । महामारीले हामीलाई कसरी परिवर्तन ग¥यो भन्ने बुझ्न पनि यसले मद्दत गर्छ ।

त्यस्तै, विद्यार्थीलाई ल्यापटप किन्न सस्तोमा ऋण दिने कार्यक्रम ल्याइएको छ, यसलाई कोभिडसँगै जोडेर हेर्नुपर्छ । किनभने, विद्यार्थीलाई अनलाइन शिक्षामा समस्या भएको छ । यसले उनीहरूलाई ल्यापटप किन्न सहज भयो । यसलाई पनि मैले सकारात्मक रूपमा नै लिएको छु । निर्माण व्यवसायीका माग पनि सम्बोधन गरिदिनुभएको छ । यो बजेटले कर्मचारीलाई पर्यटनमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ । त्यसबाट आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ र पुनरुत्थान (रिकभरी)लाई मद्दत गर्छ ।

खासगरी, यसपटक सरकारले बेवास्ता गरेको चाहिँ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएर हो । यसको कार्यान्वयनमा सधैँ प्रश्न भइरहेको छ । तर, त्यसमा पोहोरको ११ अर्ब बजेट भए पनि खासै खर्च भएको छैन, यस वर्ष यसपालि १२ अर्ब बजेट राखेको छ । यसमा उहाँहरूले कसरी कार्यान्वयन गर्नुहुन्छ भन्ने प्रश्न छ । पहिलो वर्षदेखि नै प्रधानमन्त्रीको नाममा भएको प्रोजेक्ट हो यो, तर यसलाई राम्रोसँग अघि बढाउन मिहिनेत नै गरिएको छैन जस्तो देखिन्छ ।

उहाँहरूले ‘मिस’ गरिदिएको अर्काे स्टार्टअप फर्म र प्रशिक्षार्थी कामदारको एक–एक अर्बलाई बढाउनुभएको छैन । हुन त यी कार्यक्रम चलाउनै नसकेको भएर बजेट नबढाएको पनि हुन सक्छ । बजेटमा यो ५ वर्षदेखि छ । पहिलोपटक डा. महतको पालामा ५० करोड छुट्याइएको थियो ।

गर्भावस्थादेखि वृद्धावस्थासम्मको सामाजिक सुरक्षाको विषय पनि ठीक छ । पहिले बच्चा हुँदादेखि भन्ने हुन्थ्यो । यो विवादास्पद हुँदैन । सोसल सेक्युरिटी फन्डलाई चाहिँ सक्रिय गराउन एकदमै जरुरी छ, अहिले ।

कृषि क्षेत्रको कार्यक्रम तथा बजेटका विषयमा तपाईंको धारणा के छ ? 

कृषिमा कार्यक्रमहरू कसरी अघि बढाउने भनेर हामीलाई सधैँ समस्या हुने गरेको छ । पोहोर रासायनिक मलमा अनुदान ११ अर्ब थियो, यसपालि १२ अर्ब भनेको ठूलो विषय भएन । अहिले उत्पादनमा आधारित अनुदान भनेको छ, पहिला यो शब्द प्रयोग गरेजस्तो लागेन । त्यसकारण अनुदानको प्रणालीलाई राम्रो बनाउन बल गर्नुहुन्छ कि, हेरौँ । नार्कलाई ३ अर्ब बजेट छुट्याएको भनेको छ । जबकि, नास्टलाई २० करोड मात्रै छुट्याएको छ । यसरी अनुसन्धानलाई कहिल्यै प्राथमिकता दिइएको थिएन । गत वर्ष ३ करोड पनि थिएन, यिनीहरूको बजेट । त्यसो हुँदा कृषि अनुसन्धानमा यति ठूलो बजेट छुट्याउनु सकारात्मक हो ।

५ वर्षमा चामलमा आत्मनिर्भर बनाइने भनेको छ, यस्तो कार्यक्रमलाई अब बेवास्ता गरिदिए हुन्छ । किनभने, सरकार ५ महिने पनि छैन, ५ वर्षे कार्यक्रम कसले अघि बढाउँछ ? बिमाका सम्बन्धमा चाहिँ ठीकै छ ।

यस वर्ष विद्युतीय गाडीलाई प्रोत्साहित गरेको देखियो । यसमा के भन्नुहुन्छ ? 

अर्थमन्त्रीको पहिलाको बजेट पनि वातावरणमैत्री थियो, विद्युतीय गाडीमा । त्यो कार्यक्रमलाई खतिवडाले ‘रोल ब्याक’ गरिदिएको हो । यसपालि पनि वातावरणमैत्री आएको छ, प्लास्टिक प्रतिस्थापन गर्ने भन्ने छ । तर, ०८८ सम्म साना पेट्रोलियम गाडी विद्युतीयले विस्थापन गर्ने कार्यक्रम ल्याउनुभएको छ, त्यसको स्वामित्व कसले लिन्छ भन्ने प्रश्न छ । तर, अर्थमन्त्रीले वातावरणमैत्री ‘इमेज’ चाहिँ निरन्तर लैजान खोजेको देखियो ।

उद्योग र लगानीका क्षेत्रलाई कत्तिको प्राथमिकता दिएको पाउनुभयो ? 

उद्योगको सवालमा म उहाँको ठूलो फ्यान होइन । उद्योगलाई उहाँले प्राथमिकीकरण गर्न सक्नुभएको छैन । तर, एउटा राम्रो कुरा गर्नुभएको छ, सरकारी उद्योगमा निजी क्षेत्रलाई म्यानेजमेन्ट दिने । तर, यसलाई अगाडि बढाउन कसको आँट हुन्छ ? त्यो म देख्दिनँ । हाम्रो देशमा यो विवादास्पद हुन्छ । तर, पहिलो त म उदयपुर सिमेन्टलाई नै निजी क्षेत्रलाई दिनुपर्छ भन्नेमा छु ।

खानेपानीको सन्दर्भमा कुरा गर्दा याङ्ग्री र लार्के खोला मेलम्चीमा जोड्नु एकदमै आवश्यक हो । अर्काे वर्ष सुरु गरेर ३ वर्षभित्र सक्ने भन्नुभएको छ । सकिन्छ कि सकिँदैन, थाहा छैन । मेलम्ची आइसकेपछि त्यो लिएर आउन एकदमै जरुरी छ । वितरण प्रणालीका लागि पैसा हाल्नुभएको छ ।

मैले अघि नै भनेँ, यो सुरु वर्षमा आउनुपर्ने खालको बजेट हो । सुरुङमार्गहरू सुरु वर्षमै ल्याउनुपर्थ्यो । पहिलो वर्षमा गरेको भए ५ वर्षको आफ्नो ‘लेगेसी’ हुन्थ्यो, उहाँहरूको ।

सडक पूर्वाधारका क्षेत्रमा खासगरी राजमार्गको स्तरोन्नतिलाई जोड दिएको देखिन्छ, यसमा के भन्नुहुन्छ ? 

पुष्पलाल लोकमार्गलाई चार लेन बनाउने भन्नुभएको छ, यो पनि आवश्यक नै छ । तर, महेन्द्र राजमार्ग सुरु गरेकै ६० वर्ष भयो, त्यो पनि चार लेन बन्न सकेको छैन । महेन्द्र राजमार्ग त पञ्चायतमा मागेर मात्रै गरेको हो । मागेर मात्रै गर्दा ढिलो हुन्छ । अहिलेका परियोजना आफ्नै पैसाले गर्ने भएकाले आक्रामक ढंगले जानुपर्छ । मेरो विचारमा अब पूर्वाधारको हकमा नकारात्मक कुरा गर्नुपर्ने छैन । तैपनि, सुरुङमा सिद्धबाबा, नागढुंगा र लामाबगर–लार्चे आदिमध्ये नागढुंगालाई प्राथमिकतामा राख्नुपर्छ । नागढुंगा काठमाडौंबाट बाहिर निस्कनलाई चाहिन्छ । सिद्धबाबा पनि पोखरा, बुटवलका लागि आवश्यक भयो । दाउन्नेलगायत अरू जो छन्, यी सबै प्राथमिक हुन् । दुई–तीन वर्षअगाडिदेखि आइरहेका अरू सडकहरू त्यस्तो महत्वपूर्ण होइनन् । मुख्य व्यापारिक मार्ग वा राजमार्ग जोड्ने ठाउँमा पहिले गर्नुपर्छ । अर्को, नारायणहिटीदेखि दशरथ रंगशालासम्म ठूलो पार्क बनाउने भन्नुभएको छ । यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको परियोजना हो ।

बजेटका प्राथमिकतामा कहाँ कमजोरी भयो जस्तो लाग्छ ? 

कम आयस्तर भएका नागरिकलाई आयकरमा छुट दिने सन्दर्भमा उहाँ चुक्नुभएको छ । पहिले पनि मन्त्रीज्यूले आयकरको न्यूनतम थ्रेसहोल्ड माथि ल्याउने गर्नुभएको थियो । सिंगललाई भएको अढाई लाखबाट साढे तीन लाख, तीन लाखबाट चार लाख बनाउनुभएको थियो । यसपटक पनि उहाँले निम्न आयवर्गको करको सीमा माथि ल्याउनुहुन्छ भन्ने लागेको थियो, तर ल्याउनुभएन । त्योचाहिँ कमजोरी हो ।

मलाई पुँजीबजारमा अझै धेरै इनिसियटिभ चाहिन्थ्यो जस्तो लाग्छ । किनभने, पुँजीबजारले अहिले निकै ठूलो योगदान दिएको छ । कुनै पनि मन्त्रीले अब बाबुराम भट्टराई वा युवराज खतिवडाले जस्तो पुँजीबजारविरोधी भाषण दिन सक्दैन । पहिले त जुवा भने पनि केही मतलब हुँदैनथ्यो । अब अहिले २० अर्ब रुपैयाँ कर राजस्व आउने भयो । एनसेलभन्दा बढी पुँजीबजारबाट आउने भयो । वर्षकै २० अर्ब ट्याक्स तिर्ने ठाउँमा त ३०–४० अर्ब लगानी गरेर सुधार गर्नुपर्ने थियो । ऋण लिएरै गरे पनि हुन्छ । पुँजीबजारले जुन रूपमा प्रतिफल दिइरहेको छ, त्यो आधारमा यिनीहरूले यसमा ठूलो सफ्टवेयर ल्याउनुपर्ने हो ।

तर, अहिले पनि सरकार व्यवसाय गर्न खुला गर्नेभन्दा पनि रोक्नेतर्फ देखिएको छ । सबै कुरा रोक्नु हुँदैन । म ०४८–०५१ र अहिलेको तुलना गर्छु । त्यतिवेला विश्वविद्यालय खोल्छु भन्दा पनि कसैले रोक्दैनथ्यो । मेडिकल, हस्पिटल, एयरलाइन्स, बैंक, फाइनान्स कम्पनी, इन्स्योरेन्स खोल्छु भन्दा पनि कसैले रोक्दैनथ्यो । त्यही भएर त ८ प्रतिशत वृद्धिदर भएको हो, त्यस वेलामा । अहिले भने जे पनि रोकिन्छ । यो धेरै गलत हो । यी कुराहरू बाँध खोलेजस्तो गरी आउनुपर्छ ।

सरकारले वृद्धभत्ता र कर्मचारीलाई तलब थोरै भए पनि बढायो । यसलाई कसरी हेर्नुभएको छ ?

वृद्धभत्ता बढाउनेमा चाहिँ प्रधानमन्त्रीले गल्ती गर्नुभयो । उहाँले पाँच हजार बढाउँछु भनेर नभनेको भए तीनबाट चार हजार बढाएको भए धेरैले प्रशंसा गर्थे होलान् । पहिले पाँच हजार भनेर अपेक्षा बढाइदिनुभयो, अहिले मान्छेहरू खासै उत्साहित भएनन् । कर्मचारीको तलब समग्रमा पाँच प्रतिशत र वृद्धाभत्ता ३३ प्रतिशत बढाउनुपर्ने अवस्था पनि होइन । अर्थात्, धनी मानिसले नपाउने तर गरिबले यसको दोब्बर पाउने गरिदिएको भए हुन्थ्यो । प्रगतिशील बनाउनुपथ्र्यो, तर उहाँले त्यतातिर बल गर्नुभएन । त्यही भएर यो भने राजनीतिक हतियारको रूपमा देखियो । नभए यसलाई साँच्चै अलि प्रगतिशील, गरिबले बढी पाउने र धनीले कम पाउने बनाउने हो भने योचाहिँ साँच्चैको प्रगतिशील कार्यक्रम हुन्थ्यो । तर, सबैले पाउने भन्नेबित्तिकै ‘ओपन सेक्रेट’ भयो कि यो राजनीतिक हतियार बन्यो । यसमा उहाँ जानुहुन्छ भन्ने पनि सबैलाई थाहा थियो । चार हजार भनेको १५ अर्ब अतिरिक्त हो । यो बढ्दै जाँदा वृद्धभत्ता १० हजार पनि पुग्न सक्छ । तर, यसलाई प्रगतिशील बनाउनुपर्छ । यसलाई कसरी प्रगतिशी लबनाउने भन्नेमा सबै पार्टीहरू बसेर सोच्नुपर्छ । वृद्धभत्ता भनेको लोककल्याणकारी राज्य बनाउने हो । हाम्रो विद्युत् मज्जाले बेच्न सक्यौँ, सेयर मार्केट र ट्रान्जेक्सनहरू राम्रो भयो, धेरै बजेट आयो भने त जनताकै लागि खर्च गर्ने त हो । तर, अब सडक बनाएको छैन, पूर्वाधार बनेको छैन, तर राजनीतिक हिसाबले मात्रै अघि बढ्नु कति उचित हो भन्नेमा चाहिँ गम्भीर भएर सोच्नुपर्छ । मेरो विचारमा उहाँले गरेको गल्ती भनेको पहिले आफैँले पाँच हजार भनेर अहिले चार हजार ल्याउनुभयो । त्यसैले उहाँले यसको अपेक्षित रिटर्न पाउने सम्भावना धेरै छैन ।

कर्मचारीको तलबको विषयमा प्रहरीको रासनभत्ता १५ प्रतिशत बढाइएको छ । तर, अस्थायी भत्ता भनेर कोरोनाको समयमा एकमुष्ट प्रहरीलगायत फ्रन्टलाइनमा काम गर्नेहरूको अलिक बढी नै करिब पाँच हजारसम्म बढाएको भए हुन्थ्यो भन्ने लाग्छ । नभए तल्लो तहमा काम गर्नेको कोरोना रहुन्जेलसम्म बढाए पनि हुन्थ्यो । सबैलाई एकमुष्ट २ हजार बढाउँदा कसैको पनि चित्त नबझ्ने हुन सक्छ । तर पनि फ्रन्टलाइनमा काम गर्नेका लागि सेक्युरिटी मेन्टेन गर्नका लागि बढाए पनि हुन्थ्यो । यसको कसैले पनि रिस गर्दैनथे ।

संसद् विकास कोषलाई पनि खारेज गर्नुभएको छ, यसमा के भन्नुहुन्छ ?

यसलाई त सबैभन्दा ठूलो अक्षरमा लेखिनुपर्छ । जसरी वृद्धभत्ता एकपटक ल्याइसकेपछि फेरि कसैले हटाउन सक्दैन, त्यसैगरी यस्ता कार्यक्रम हटाउन गाह्रो हुन्छ । तर, उहाँले यसपटक हटाउनुभयो । यसलाई हामीले  प्रवर्द्धन गर्नुपर्छ, ताकि यसपटकलाई एकपटक कसैले हटाएपछि फेरि कसैले ल्याउनै नसकोस् । राम्रो कामलाई राम्रो भनिएन भने मान्छेले राम्रो कामै गर्दैन । यो धेरै राम्रो र साहसिक निर्णय हो ।

समग्रमा बजेटको दिशा के हो ?

निर्वाचनलाई एउटा आधार बनाएर तयार पारेको छ । यो त पहिलो वर्ष लिएर आउनुपर्ने खालको बजेट देखिन्छ । यो सरकारले पहिलो वर्ष यस्तो बजेट ल्याएर यही योजनामा पाँच वर्ष काम गरेको भए हुन्थ्यो । अब यसलाई चाहिँ कति रियालिस्टिकल्ली जान सक्छ भन्ने प्रश्न त अझै पनि छँदैछ । कोभिडको पार्टमा पनि बजेट छुट्याइएको छ । अब भ्याक्सिन लिएर आउँदाखेरि कसरी खर्च गरिन्छ भन्नेले अर्थ राख्छ । समग्रमा हेर्दा यो  महत्वाकांक्षी बजेट हो भन्न सकिन्छ । यो  महत्वाकांक्षी छ । यो खर्च गर्न सक्ने अहिलेसम्म प्रमाण छैन । आयको मिनिमम थे्रेसहोल्ड बढाउने विषयमा चाहिँ छुटेको छ । बजेट न्यून आय भएको वर्गलाई जति लक्षित हुनुपथ्र्यो, यो कोभिडमा संकटमा परेको वर्गलाई केन्द्रमा राख्नुपर्ने थियो । यसमा भने कमजोरी गरेको जस्तो देखिन्छ । भौतिक पूर्वाधार विकास, स्वास्थ्य पूर्वाधार र शिक्षामा  महत्वाकांक्षी बजेट परेको छ । निर्वाचनको वेलामा आएको बजेट हो, यसको कार्यान्वयनको दायित्व कसले लिने भन्ने पनि छ । उहाँहरूकै सरकार रह्यो भने त ठीकै हो । तर, अर्को सरकार आयो भने उहाँहरूको प्राथमिकता केमा हुन्छ भन्नेले अर्थ राख्छ । र, त्यहीअनुसार फेरबदल हुन सक्छ ।

चालू खर्च संघको ६ खर्ब र तल्ला तहमा ३ खर्ब गएको छ । गत वर्षको अनुसार यो १० खर्ब र ३ खर्ब हुन्छ । यसमा समस्या के हुन्छ भने तल्ला तहमा गएको पैसा पनि खर्च हुँदैन । तल्ला तहको पुँजीगत बजेट खर्च एकदमै कम छ । आठ स्थानीय तहले त जेठसम्म बजेट नै ल्याएका थिएनन् । प्रदेश किन चाहियो भन्ने कसैलाई पनि थाहा छैन । स्थानीय तह पनि अवस्था कस्तो छ भने जोडिएका स्थानीय तहहरूलाई मर्ज गर्नका लागि प्रोत्साहित गर्नुपर्ने अवस्था आएको छ । स्थानीय तहले काम गर्न सकेन भने त्यसको भार पनि हामीलाई नै आउँछ भन्ने अर्थमा बजेट आएको देखिन्छ ।

अब स्थानीय तहलाई कसरी सशक्तीकरण गर्ने भन्नेमा पनि नयाँ सोचाइ चाहियो । त्यसका लागि कमिसन गठन गर्ने भन्नुभएको छ । म बजेटमा धेरै उत्साहित थिइनँ, सरप्राइज पनि छैन । समस्याहरू पनि एकदमै स्पष्ट छन् । प्रदेशले खर्च गर्न सक्दैन, स्थानीय तहले गर्न सक्दैन । डेलिभरी गर्न सकिरहेका छैनन् ।

राजस्वका दरहरू, भत्तासत्ता टाकटुक तुरुन्त चेन्ज गर्न सकिन्छ, तर ठूला सडक बनाउने, ठूलो एयरपोर्ट बनाउने, बुढीगण्डकी हाइड्रो बनाउने जस्ता कामचाँहि एकदमै दक्ष, सीपयुक्त प्रशासकहरूले मात्रै गर्न सक्छन् ।

बजेटमा हरेक वर्ष पर्ने निजगढ र बुढीगण्डकी उल्लेख भएन ?

अँ, बुढीगण्डकी छैन । विमानस्थलहरूको कुरा पनि आयो, तर निजगढचाहिँ आएको छैन । वास्तवमा निजगढ  महत्वपूर्ण पनि थियो । फास्ट ट्र्याक र यो सँगसँगै बनाउनुपथ्र्यो । आइएल एन्ड एफएसले नै बनाउँथ्यो, तर सरकारले उसबाट खोसेर आर्मीलाई दियो । ६ महिनाभित्र उसले १ खर्ब १२ अर्ब लागतको परियोजनालाई एक सय ७५ अर्बको बनाइदियो । त्यस विषयमा कसैले बोल्दैन । यो त अब पूरै बालुवामा पानी खन्याएको जस्तो भएको छ ।

अहिले अर्थमन्त्रीले करको दर धेरै चलाएको देखिन्छ । यो ठीकै हो र ?

निवृत्तिभरणको करमा २५ प्रतिशत छुट भयो । सर्वोच्चमा परेका मुद्दा फिर्ता लियो भने जरिवाना लिने भन्नुभएको छ । साना व्यवसायीहरूलाई २० लाख रुपैयाँसम्मको कारोबारमा ९० प्रतिशतसम्म आयकर छुटको कुरा छ । यस हिसाबले उहाँले प्रगतिशील करका सिद्धान्तमा बजेट ल्याउनुभएको छ ।

तर, यी सबै गर्दा चुनावकेन्द्रित देखिन्छ । मेरो सोचाइमा अहिलेको सरकारले करमा परिवर्तन गर्न नमिल्ने हो । त्यसका लागि जनताका प्रतिनिधिहरू हुनुपर्ने हो । त्यो नभएकाले करमा फेरबदल गर्न नपाइने हो । यो अब अहिलेको प्रजातान्त्रिक पद्धतिसँग कति उपयुक्त हुन्छ ? यस्तो वेलामा पोजिटिभ रिजल्ट लिएर आउनेमा त मान्छेले विरोध गर्दैनन् । तर, कोभिडको वेलामा मलाई यो जरुरत पर्‍यो भनेर जस्टिफाइ गर्ने जिम्मा उहाँहरूकै हुन्छ । मैले पनि बजेट पूरै पढेको छैन । कतिपयमा भने कोभिडका वेलाका लागि मात्रै हो कि स्थायी हो भन्ने अन्योल छ । कोभिडका वेलामा अलिकति समस्या पनि छ । यस्तो वेलामा होटेल, यातायातमा दिएको राहतलाई मान्छेले विरोध गर्दैनन् । त्यस्तै, आन्तरिक विमान, मेडिकल सेक्टर र कोभिडसँग सम्बन्धित सुविधामा विरोध नहोला । कोभिडबाट जस्टिफाई गर्न सकिने अवस्थासम्म विरोध गर्नुपरेन । तर, स्थायी रूपमा असर पुर्‍याउने खालको परिवर्तन गर्नुचाहिँ गलत हो । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार