काठमाण्डौंः चुरे उत्खन्नबारे संघीय सरकारको बजेटमा समेटिएको प्रावधान आपत्ति जनाउँदै प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले त्यो निर्णय फिर्ता नलिए प्रदेश सरकारले ‘आवश्यक निर्णय’ लिने चेतावनी दिएका छन् ।
बिहीबार अपरान्ह मुख्यमन्त्री राउतले प्रेस विज्ञप्ति निकाल्दै चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने बजेटमा समेटिएको प्रावधान हटाउनुपर्ने माग गरेका छन् ।
‘आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर १९९ मा उल्लेखित वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भनिएकोप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवच रहेको दाबी गरिएको छ । मुख्यमन्त्री राउतले प्रदेश २ हरेकवर्ष बाढी–पहिरो, डुबानको समस्या र कृषि उपज समेतको समस्याबाट पीडित रहेको उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया