काठमाण्डौंः मुलुक कोरोनाविरुद्ध लडिरहँदा (पिएन) क्याम्पस पोखरामा भने आंशिक प्राध्यापकको आन्दोलन चलिरहेको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरले प्रभाव पारेसँगै क्याम्पसले यस वर्ष पनि विभिन्न तहमा अनलाइन कक्षा सञ्चालन सुरु गर्नुपर्यो । तर आंशिक प्राध्यापकहरु भने माग पूरा नभइञ्जेल अनलाइन कक्षामा सहभागी नहुने भन्दै पठनपाठन रोकेका छन् ।
करिब १ महिनादेखि उनीहरुको आन्दोलनका कारण १४ हजार विद्यार्थीको नियमित पठनपाठन प्रभावित बन्न पुगेको छ । ‘फुलटाइम’ पढाउने प्राध्यापकले अनलाइनबाटै नियमित कक्षा लिए पनि आंशिक प्राध्यापकले कक्षा बहिस्कार गरेका हुन् । साथै आगामी असार ७ सम्म माग सम्बोधन नभए क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने उनीहरुले अडान राखेका छन् ।
यसको निकासका लागि शुक्रबार भर्चुअल माध्यमबाट सरोकारवालाबीच वार्ता सम्पन्न भएको छ । वार्तामा आंशिक प्राध्यापक संघ इकाइ अध्यक्ष सुनिल गौतमले आफूहरुको माग सम्बोधन गर्न नसके क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
क्याम्पस प्रमुख प्राडा कोइरालाले आंशिकको समस्या ठूलो भएकोले सम्बोधनका लागि पटक–पटक केन्द्रमा लगे पनि केन्द्रले नसुनेको भन्दै आफूले ‘मार्गप्रशस्त’ गर्ने बताएको वार्तामा सहभागी संघ अध्यक्ष गौतमले जनाए । मार्गप्रशस्तलाई आन्दोलनरत आंशिक प्राध्यापकले राजीनामा बुझेका छन् ।
वार्ता टोली संयोजक सहायक क्याम्पस प्रमुख यादवराज उपाध्यायले आंशिक प्राध्यापकको माग जायज भएकाले तोकिएको समयसीमाभित्र माग सम्बोधन हुने र यसले अब लामो समय नलिने आश्वासन दिएको आंशिक प्राध्यापक विष्णु गौतमले बताए ।
डेढ वर्षअघि पनि यसैगरी आन्दोलन चर्किएपछि त्रिविद्वारा प्राडा ओमप्रसाद बरालको संयोजकतवमा वार्ता समिति गठन गरिएको थियोे ।
२०७६ माघ २० मा समिति र आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइबीचको सम्झौता अनुसार २०६३ देखि आंशिक रुपमा कार्यरत शिक्षकलाई आंशिक शिक्षकबाट महिनाबारी वेतनमा त्रिवि नियम, सेवा शर्त सहित (शिक्षण सहायक) परिणत गर्न निजहरुको अनुभव र निरन्तरता, कक्षाभार, आवश्यकता र औचित्यता पुष्टी हुने गरी पारदर्शिता, निष्पक्षता र सर्वमान्य सिद्धान्त अनुशरण गरी ३० दिनभित्र कार्यान्वयन गरी मासिक वेतनको सोही प्राध्यापकको सिनेटको बस्ने पहिलो बैठकबाट करारमा लैजाने भनी सम्झौता भएको थियो ।
सहमति कार्यान्वयन नगरी कोभिडको महामारीबीच अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकामार्फत सिफ्ट मर्ज गरी विद्यार्थीले पढ्न पाउनुपर्ने अधिकार वञ्चित गर्दै आतंक फैलाउने कार्य गरेको पनि आंशिक प्राध्यापकको आरोप छ ।
एक पिरियडको लागि क्याम्पस छिर्न मरिहत्ते गर्ने तर पछि करार र स्थायी माग गर्दै आन्दोलन गर्ने प्रवृत्ति देशैभरका आंशिक प्राध्यापकहरुको समस्या सधैं उठ्ने गरेको कतिपयको टिप्पणी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया