काठमाडौंः पाठ्यक्रम विकास केन्द्रले पुरानै नक्सा प्रयोग गरिएका किताब पठनपाठन गराइरहेका विद्यालय र त्यस्ता पाठ्यपुस्तक छपाइ गर्ने प्रकाशकलाई स्पष्टीकरण सोधेको छ ।
केन्द्रले प्रारम्भिक चरणमा सेन्ट जेभियर्स स्कूललगायत २० वटा विद्यालयका प्रिन्सपल र ६ प्रकाशकलाई २४ घण्टे जवाफ मागेको छ । अन्यलाई पनि स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ ।
कक्षा २, ३ र ६ का विद्यार्थीलाई पुरानै नक्साअंकित पाठ्यपुस्तक पठनपाठन गराउने र तोकिएको विषयबाहेकका सन्दर्भ सामाग्री भनी अनावश्यक संख्यामा पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू खरिद गर्न अभिभावकहरूलाई बाध्य पारेको देखिएकोले प्रधानाध्यापकहरूलाई स्पष्टीकरण मागिएको हो ।
केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईका अनुसार नेपाली कला संस्कृति र मौलिक पहिचानमूलक विषयको पठनपाठनका लागि माध्यम भाषा नेपाली हुनुपर्ने व्यवस्थाअनुसार यस वर्ष कक्षा १, २, ३, ६, ११ र १२ मा उक्त विषयहरू नेपाली माध्यमबाट पठनपाठन गर्नुपर्ने पनि जानकारी गराइएको छ ।
नेपालको नयाँ नक्सा समावेश भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू तथा पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू भए/नभएको राम्रोसँग हेरी अध्ययन गरी पाठ्यपुस्तक खरिद तथा उपयोग गर्ने व्यवस्थाका लागि विद्यालय, विद्यार्थी तथा अभिभावकहरूलाई सचेत समेत गराइएको छ ।
त्यस्तै पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको मिति २०७८ जेष्ठ २८ गतेको बैठकको निर्णयानुसार यस शैक्षिक सत्रका लागि स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरूमा अनिवार्यरूपमा कालापानी, लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सा प्रयोग गर्न गरिएको निर्देशन अटेर गरी बिक्रीवितरण गर्ने प्रकाशक र वितरकहरूलाई कारवाहीको प्रक्रिया शुरू गरिएको केन्द्रले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया