असार २५, २०८२ बुधबार July 9, 2025

बैतडीमा चार पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् ।

पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी गाउँपालिकाले पाठ्यक्रम तयार गरेका हुन् । कक्षा १ देखि ३ सम्मको आधारभूत तहका लागि पाठ्यक्रम निर्माण गरिएको हो । ती पालिकाले चालू शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गर्ने डिलाशैनीका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।

विद्यार्थीलाई स्थानीय परिवेशका विषयमा जानकारी दिने उद्देश्यसहित ‘हाम्रो डिलाशैनी’ र ‘पाटन परिचय’ पाठ्यक्रम निर्माण गरिएको  हो ।  पाटनका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टका अनुसार पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, धार्मिक सम्पदालगायतका कुरा समेटिएका छन् ।

यस्तै मेलौलीले पनि ‘हाम्रो मेलौली’ नाम दिएर कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टका अनुसार विद्यार्थीमा स्थानीय परिवेशको सिकाइ उपलब्धि हासिल गर्नका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिएको हो । जिल्लाको शिवनाथले पनि आफ्नै पाठ्यक्रम निर्माण गरेको छ ।

स्थानीय पाठ्यक्रम निर्माण गर्ने शिवनाथ जिल्लामै पहिलो स्थानीय तह समेत हो । स्थानीय परिवेशका बारेमा जानकारी दिनका लागि पाठ्यक्रम निर्माण गर्नु राम्रो कार्य भएको अभिभावकको भनाइ छ ।   दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि पाठ्यक्रम निर्माण जारी रहेको जनाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया