असार २३, २०८२ सोमबार July 7, 2025

पाख्रिन हत्याको अभियोगमा पक्राउ परेका ३ जना सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वीरगन्जको राम टोलमा काठमाण्डौका ज्ञानु पाख्रिनलाई गत साउन १४ गते लुटपाट गरी हत्या गर्ने ३ जनालाई पर्सा प्रहरीले पक्राउ आज सार्वजनिक गरेको छ ।

सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार लुटपाट गरी पाख्रिनको हत्या गरिएको अभियोगमा बीरगंज ७ रामटोल निवासी २५ वर्षीय राहुल महर्जन, २७ वर्षीय विक्की भनिने दीप लामा तामाङ र बारा फेटा गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय धनञ्जय रजक पक्राउ परेका हुन् ।

अभियुक्तहरूले सर्लाही लालबन्दी घर भई काठमाण्डौँको गोङ्गबु बस्ने २७ वर्षीय सुजन भनिने ज्ञानु पाख्रिनलाई वीरगन्ज बोलाएको र मादक पदार्थ सेवन गरी थप बियर किन्ने बहानामा पाख्रिनलाई पसल पठाएर एकान्त स्थानको खाली जग्गामा लगी घाँटी अठ्याएर हत्या गरेको घटना खुलासा भएको छ ।

हत्या पछि अभियुक्तहरूले मृतकले लगाएको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार लुटपाट गरेको अनुसन्धानमा खुलेको छ । अनुसन्धानको क्रममा दीप लामा तामाङले घटनास्थल नजिकै नालामा लुकाएको सुनको सिक्रीको टुक्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले बताउनुभयो ।

घटनामा संलग्न भारत बिहारको पूर्वी चम्पारण जिल्ला मोतीहारी घर भई हाल वीरगञ्ज– १६ नगवा बस्ने रवि सर्राफ भने फरार रहेका छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ गरिएका तिनै जना माथि कर्तव्य ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता एवं डिएसपी खनालले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया