बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

जडीबुटी संकलन गर्न गएका एकै गाउँका १२ जना चार दिनदेखि बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन्। जडीबुटी संकलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिएका छन।

ढिपुगाउँबाट पाटन पुग्न दुईदिन लाग्छ। उनले भने, ‘सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्ने भनेर उनीहरु पाटनतर्फ लागेका थिए। तर, गएदेखि आजसम्म सम्पर्कमा छैनन्। सबैको अवस्था अज्ञात रहेको छ।’

उनका अनुसार बेपत्ता हुनेमा ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा रहेका रहेका छन्।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका खच्चर गोठाला २६ वर्षीय बीनबहादुर बोहोराको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिएका छन। उनका अनुसार तिला गाउँपालिका–६ नेटा भन्ने ठाउँमा चिसोले कठ्याङ्ग्रिएर बोहोराको मृत्यु भएको र चार गोठाला सकुशल फर्केका छन्।

भारी हिमपातका कारण शव पहिचान गर्न अप्ठ्यारो परेको छ। स्थानीयले बेपत्ताको तत्काल उद्धार गर्न स्थानीय प्रशासन तथा सरकारलाई अनुरोध गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बेपत्ता भएकाको उद्धारको लागि गृहमन्त्रालयमा पत्र पठाइएको जानकारी दिएका छन। फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन। हेलिकप्टरको विकल्प नरहेको त्यहाँका स्थानीयले जानकारी गराएका छन्।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हेलिकप्टरका लागि गृहमन्त्रालयसँग आग्रह गरिएको बताएका छन। एकै गाउँका १२ जना बेपत्ता भएपछि ढिपुगाउँ सुनसान भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया