काठमाडौंः राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैङ्क सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैङ्कका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बिच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।
अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैङ्किङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै सो सेवाले ग्राहक वर्गको आर्थिक कारोबारमा सहजता हुने बैङ्कले विश्वास लिएको बताउनुभयो । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैङ्किङतर्फ बैङ्क अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार नेपाल, भारत र भुटानमा प्रवाह हुँदै आएको सो सेवा अब बैङ्कका सबै शाखा कार्यालयबाट माग गर्न सकिनेछ ।
बैङ्कका उप कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैङ्कले रु २० हजारदेखि पाँच लाखसम्मको क्रेडिट लिमिट ग्राहकलाई दिन सकिने जानकारी दिनुभयो । उहाँका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन् । बैङ्कले हाल ७७ जिल्लामा २४७ शाखा कार्यालय, २०९ एटिएम र ९८ शाखारहित बैङ्किङ सेवामार्फत सेवा प्रवाह गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया