काठमाडौंः अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षा गरी उनीहरुलाई सकुसल चाँडोभन्दा चाँडो नेपाल फर्काउने व्यवस्था गर्न संघीय संसदको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले सरकारको नाममा रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद गोकुलप्रसाद बाँस्कोटाले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा बिद्रोही तालिवानले राजधानी काबुल कब्जा गरी नियन्त्रणमा लिएको र त्यहाँ रहेका नेपालीको उद्धारमा सरकारले ध्यान नदिएको भन्दै सरकारको ध्यानार्षण गराएका थिए ।
विपक्षी नेकपा एमालेका सबै सांसदहरुले अफगानिस्तानमा रहेका सबै नेपालीको सकुसल उद्धारको लागि सरकारले प्रयास नगरेको भन्दै आपत्ति जनाउँदे आ-आफ्नो आसनमा उभिएर बिरोध जनाएका थिए ।
विपक्षी सांसदहरुको विरोधपछि सभापति सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै अफगानिस्तानमा भएको विकसित घटनाक्रमको सिंगो सदनको ध्यानाकर्षण भएको भन्दै सरकारलाई त्यहाँ भएका सबै नेपालीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।
सभामुख सापकोटाले अफगानिस्तानमा रहेका सबै नेपालीको जीउधनको सुरक्षा गर्न, उनीहरुलाई सकुसल नेपाल फर्काउन र सुरक्षा दिने र उद्धार गर्ने कार्यको यथासक्य जानकारी सदनलाई गराउन सरकारको नाममा रुलिङ गरेका हुन् ।
सभामुख सापकोटाले रुलिङ गर्नुअघि विपक्षी एमालेका सांसद बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको संख्या र अवस्था यकिन गर्न, उनीहरुलाई सुरक्षीत उद्धार गर्न साकै राष्ट्र अफगानिस्तानको अन्योलपूर्ण अवस्थाको बारेमा सार्कको अध्यक्ष राष्ट्र भएको नाताले भूमिका खेल्न सरकारसँग आग्रह गरे ।
उनले अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था सरकारले यकिन गर्न नसक्दा उनका परिवारका सदस्यहरु यतिवेला छटपटी र पीडामा रहेको भन्दै वाँस्कोटाले विगतमा एमाले नेतृत्वको सरकारले त्यहाँको द्वन्द्वमा परेर मृत्यु भएको शब र संकटमा परेकाको उद्धार २४ घण्टा भित्र गरेको दाबी गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया