काठमाण्डौंः खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् ।
जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको नगरपालिकाका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख जसीप्रसाद चौलागार्इंले जानकारी दिनुभयो । समितिले कोभिडको जोखिम कम रहेका स्थानीयतहमा विद्यालय सञ्चालनका लागि निर्देशन दिएको थियो । “नगरपालिकाका सबै वडामा विद्यालय सञ्चालन गर्नका लागि परिपत्र गरेका छौँ ।
जनस्वास्थ्यमापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्न पत्र पठाएको छ,” उहाँले भन्नुभयो,“ स्वास्थ्यमापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका छन् ।” यसभन्दा अघि नरहरिनाथ र पचाल झरना गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए ।
जिल्लाका नौ स्थानीय तहमध्ये तीन तहले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको र अन्यले तयारी गरेको जिल्ला शिक्षा विकास समन्वय इकाइका प्रमुख महेश देवकोटाले जानकारीदिनुभयो । “जिल्लाका सबै स्थानीय तहले कोभिड–१९ को महामारी अवस्था हेरेर विद्यालय सञ्चालन गर्नका लागि निर्देशन दिएका छौं,” उहाँले भन्नुभयो,“त्यही आधारमा विद्यालय सञ्चालनमा आउने छन् ।” विद्यालयमा स्यानीटाइजर र मास्क अनिवार्य गरिएको छ । “विद्यार्थी अहिले गोठालो र मेलापातमा जाने क्रम बढेको छ,”उहाँले भन्नुभयो,“विद्यालय सञ्चालनमा आएको भए विद्यार्थी स्कुल गएर केही ज्ञान त सिक्न पाउँथे ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया