बैसाख २२, २०८३ मंगलबार May 5, 2026

नेकपाका लागि ओलीजीको विकल्प प्रचण्ड हुन सक्दैनन् । : गिरिधारीलाल न्यौपाने (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाँईं माओवादीमा प्रवेश गर्नुअघि मोहनविक्रम सिंह र चित्रबहादुर केसी नेतृत्वको नेकपा मसालमा कार्यरत हुनुहुन्थ्यो । कसरी मसाल बन्नुभयो ?

म ३० वर्षसम्म प्रवास (भारत) मा बसेँ । शुरुमा साहुको घरमा कपडा धुने, भाँडा माझ्ने काम गर्थें । एक–दुई घण्टा बिदा हुन्थ्यो । त्यहीबेला बाहिर आउँदा नेपाली साथीहरु भेटिए र उनीहरुले नै  नेपाली एकता समाजमा संगठित गरे ।

त्यसपछि म ३० वर्षसम्म नेकपा मसालमा रहेँ । केन्द्रीय समितिमा रहेर धेरै वर्ष काम गरें । प्रवासको जिम्मेवारी सम्हालेँ । र, मसालको २०६१/६२ मा सम्पन्न सातौं महाधिवेशनबाट निर्वाचित पोलिटब्युरो सदस्य बनेँ ।

भारतमा तपाईंजस्तै मजदुरी गरेका त्रिलोचन भट्ट अहिले सुदरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुभएको छ । प्रवासमा रहेर मजदुरी गर्दै नेता बनेका तपाईंजस्तै अरु पनि हुनुहुन्छ कि ?

भारतमा हुँदा त्रिलोचनजीसँग पनि चिनजान थियो । तर, हामी फरक पार्टीमा थियौं । उहाँ माओवादी, म मसाल । त्यसैगरी, डिलाराम आचार्य (अर्घाखाँची) लीलबहादुर थापामगर (बाग्लुङ), केशवबहादुर गुरुङ (प्युठान) डीबी पाठक आदि नेताहरु यसरी नै राजनीतिमा लाग्नुभएको हो । काँग्रेसका बालकृष्ण पाण्डे पनि अहिले आमन्त्रित सदस्य हुनुहुन्छ, उहाँले पनि भारतबाटै राजनीति सुरु गर्नुभएको हो ।

३० वर्ष मसालमा काम गरेको नेता, माओवादीचाहिँ कसरी बन्नुभयो ?

म तीनवटा कुराबाट प्रभावित भएर माओवादी भएँ । मसालमा जुन कुरा सैद्धान्तिकरुपमा पढियो, मसालभित्र त्यो व्यवहारिक थिएन । सैद्धान्तिकरुपमा मसालको पढाइ र व्यवहारिक रुपमा माओवादीको अभ्यास । हामीले भारतमै हुँदा मसालको सिद्धान्त पढौं, नेपाल गएर मेचीदेखि कालीसम्म त्यसलाई प्रयोग गर्ने हो भन्थ्यौं । क्रान्तिका सिद्धान्त त्यहाँ पढेर यहाँ लागु गर्ने भन्थ्यौं । यदि यहाँ पढेका कुरा भोलि उहाँ मिलेन भने, कहाँ मिलेन भनेर खोज्नुपर्छ पनि भन्थें ।

२०५६ सालतिर म मसालको केन्द्रीय कमिटीमा आएँ । त्यसपछि मेरो ६० प्रतिशत भारत र ४० प्रतिशत नेपालमा खटाइ हुन थाल्यो । यहाँ काम गर्दै गर्दा हामीले पढेको र व्यवहारमा कतै पनि २ बराबर २ जोड्दा ४ भएन । कहिले ३, कहिले ५ भयो । पछि दिल्लीमै बाबुराम र प्रचण्डसँग मेरो भेट भयो । उहाँहरुसँगको भेटपछि यदि हामीले पढेको कतै लागु हुन्छ भने त्यो माओवादीमै हुन्छ भनेर त्यहाँ प्रवेश गरेको हो ।

हाम्रो बुझाइ र नेकपा एमालेको बुझाइ के हो भने जेठ २ गतेको जुन समस्या हो, त्यो एमालेको वैचारिक र भित्री गुटका समस्या हुन् । जेठ २ मा फर्किएका छौं, हामी जेठ ३ का हौँ ।

माओवादीमा एक्लै प्रवेश गर्नुभयो कि टिमसहित ?

मसालका सात जना पोलिटब्युरो सदस्यमध्ये हामी दुईजना म र डिलाराम आचार्य यता आयौं । बाँकी ५ जनामध्ये दुईजना मसालमा हुनुहुन्छ, तीनजनाले अहिले मसाल छाडिसक्नुभयो । मोहनविक्रमजी र चित्रबहादुरजी त्यहीं हुनुहुन्छ । रामसिंह श्रीस, विमलजी र कृष्ण पौडेलले पनि मसाल छाडिसक्नुभयो । सातौं महाधिवेशनको निर्वाचित पोलिटब्युरोमध्ये दुईजनामात्रै मसालमा हुनुहुन्छ ।

मेचीदेखि कालीसम्म हाम्रो ठूलो टिम थियो । हामी उतातिर पनि सक्रिय थियौं । यता पनि ०६६ सालतिर नेकपा माओवादीमा पोलिटब्युरो सदस्य बनेर काम गरेको हो । त्यसपछि माओवादी र एमालेबीच एकता भएर नेकपा बन्यो र नेकपाकै निरन्तरतामा म यहाँसम्म आएको छु ।

एमालेभित्र जेठ २ को कुरा उठ्दा तपाईंहरु जस्ता पूर्वमाओवादीलाई कर्नरमा परेजस्तो लागेन ?

हाम्रो बुझाइ र नेकपा एमालेको बुझाइ के हो भने जेठ २ गतेको जुन समस्या हो, त्यो एमालेको वैचारिक र भित्री गुटका समस्या हुन् । जेठ २ मा फर्किएका छौं, हामी जेठ ३ का हौँ । ३ गतेको जुन नेकपा थियो, दुई मिलेर बनेको, त्यसबाट छलफल गरेर आउँदा हामी केन्द्रीय समितिमा थियौं । छलफल गरेर आउँदै गर्दा दुईवटाको एजेन्डामा कोही कतै त कोही कतै मिल्यौँ । हामी ओलीसँग मिलेर अहिले नेकपाको निरन्तरताको नेकपा एमाले हौँ ।

नेकपा बन्नुअघि तपाईंहरु माओवादीमा हुनुहुन्थ्यो । तर, नेकपा दुईतिर विभाजित हुँदा तपाईंहरु माओवादीमा नलागेर किन एमालेमा लाग्नुभएको ? माओवादी किन छाडेको ?

माओवादी त प्रचण्डजी र हामीले एकैपटक छाडेका हौँ । नेकपा हुँदा हामीले एकैपटक छाडेका हौँ । उहाँ मिल्दिनँ भन्दै भन्नुहुन्न । अति लचकता छ । तर, लचकता कस्तो छ भने एकचोटि भित्र्याएपछि चिन्ता हुँदैन ।

हाम्रो प्रश्न के हो भने सर्वोच्च अदालतले पार्टीलाई दुई टुक्रा बनाएपछि तपाईंहरुले आफ्नो पूर्वसमूह किन छाड्नुभएको ?

प्रचण्डजीको जनयुद्धदेखिको इतिहास हेर्दा उहाँको नेतृत्वमा जनयुद्ध भयो, गणतन्त्र आयो र उहाँको एजेन्डाबाट देश यहाँसम्म आयो । जे भए पनि प्रचण्डले हजारौं मानिसलाई सडकमा ल्याएर आन्दोलन गर्नुभएको हो । घाइते, अपाङ्ग र सहिद परिवार जो छन् उनीहरुलाई हामीले सम्मान गर्नुपर्छ । यसको विकल्प छैन । प्रचण्डप्रति मेरो सम्मान छ ।

अर्को कुरा, प्रचण्डजीले जुन प्रकारले पार्टीलाई अघि लैजानुपर्ने थियो, त्यो लग्न सक्नुभएन । विगतमा माओवादीबाट एउटा ठूलो तप्का हिँड्यो । प्रचण्डले पार्टीमा नयाँ मान्छे ल्याउने काम पनि गरिरहनुभयो, हिँड्ने काम पनि भइरह्यो । उहाँसँग बस्ने ग्यारेन्टी हुन सकेन । उहाँलाई धेरै सहयोग गर्नुभएको वैद्यजीले हो । तर, अहिले वैद्यजी त उहाँसँग हुनुहुन्न नि । बाबुरामजी किन बस्नुभएन ? भनेपछि, उहाँ यसमा असफल हुनुभयो, प्रचण्डजीले यसको मुल्याङ्कन गर्नुभयो कि भएन ?

भनेपछि, प्रचण्डमा सहकार्य गर्ने र मिल्ने कुरामा समस्या छ भन्न खोज्नुभएको ?

उहाँ मिल्दिनँ भन्दै भन्नुहुन्न । अति लचकता छ । तर, लचकता कस्तो छ भने एकचोटि भित्र्याएपछि चिन्ता हुँदैन । भित्र्याएपछि मेरा भए भन्ने हुन्छ, अनि अर्कोतिर छलफल सुरु हुन्छ । भित्रिएका मानिसहरुको समस्या छ कि छैन, व्यवस्थापन छ कि छैन भन्नेतिर उहाँले सोच्नुहुन्न । त्यसकारण धेरै मानिस गए । गोपाल किरातीजस्ता मान्छे गए । लोकेन्द्र विष्ट मगरले बरु धान लाउँछु पार्टीमा बस्दिनँ भनेर बैठकमै भनेर गए । प्रचण्डसँग म यहाँ झस्केको हो ।

अनि, केपी ओलीचाहिँ नि ?

ओलीजीका कमजोरी छैनन् भन्दिनँ, मानवीय कमजोरी ओलीका पनि होलान्, प्रचण्डका पनि होलान् । तर, नेकपाका लागि ओलीजीको विकल्प प्रचण्ड हुन सक्दैनन् । उहाँले जसरी हुन्छ, नेकपा फुटाएर यो सबै चिज गरेर माधवजी, झलनाथजी, बामदेवजीसहित सरकार ढाल्न उहाँले नेतृत्व जे गर्नुभयो, आखिर काँग्रेससित जानुभयो । हामी स्थानीय निर्वाचनमा पनि त काँग्रेससित थियौं, तर आम निर्वाचनमा खोलो तर्न सकिँदैन भन्ने त देखियो ।

त्यही भएर प्रचण्डजीसँग जान सकिएन । शेरबहादुर देउवाभन्दा ओली सयौँ गुणा ठीक छन् । उहाँ ओलीभन्दा देउवा सय गुणा ठीक भनेर जानुभयो । तर, जे भने पनि हिजो देउवा गणतन्त्रको पक्षपाती हुँदै हुँदै आउँदाखेरि भए पनि प्रतिक्रियावादी क्याम्प नै हो । प्रचण्डजी प्रतिक्रियावादी क्याम्पमा जानुभयो ।

तपाईं, मणि थापालगायत पूर्वमसालका मानिसहरु वैचारिकरुपमा माओ विचारधारा, माओवाद मान्ने नेताहरु एमालेमा लाग्नुभएको छ । तपाईंहरु चौथो महाधिवेशनको जुन स्कुलिङसँग नजिक हुनुपर्ने, ठीक उल्टो भएन र ? धेरै लेफ्टिस्ट मान्छे, राइटतर्फ जानुभयो नि ?

चौथो महाधिवेशनको ठ्याक्कै झन्डा बोकेको कोही छैन । चौथो महाधिवेशनका महामन्त्री लामाजी, त्यसपछि मोहनविक्रमजी, त्यसपछि मोहन वैद्य, त्यसपछि नारायणकाजी । यतापट्टी पुष्पलालदेखि यो सबै भयो । तर, आज पनि वैचारिकरुपमा हामी बिग्रिएका छैनौं । जहाँ छौं, त्यही छौं । तर, दुई दुना चार हुनुपर्छ, चौथो महाधिवेशन भनेर दुई दुना पाँच भनेर त हुन्न नि । त्यस्तो भयो भने दुई दुना चार हुने ठाउँमै गइन्छ ।

अहिलेको परिस्थितिमा काँग्रेसलाई लगेर बुझाउने जुन कुरा हो, कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सत्तालाई तोडेर, फोडेर, भत्काएर, बिगारेर, इतिहास त सबैप्रति कठोर भएर आउला नि । इतिहासले भन्ला ।

तर, प्रचण्डले त ओलीभन्दा न नेपाली काँग्रेस वामपन्थी हो भनिसक्नुभयो….

त्यही भएर प्रचण्डजीसँग जान सकिएन । शेरबहादुर देउवाभन्दा ओली सयौँ गुणा ठीक छन् । उहाँ ओलीभन्दा देउवा सय गुणा ठीक भनेर जानुभयो । तर, जे भने पनि हिजो देउवा गणतन्त्रको पक्षपाती हुँदै हुँदै आउँदाखेरि भए पनि प्रतिक्रियावादी क्याम्प नै हो । प्रचण्डजी प्रतिक्रियावादी क्याम्पमा जानुभयो । उहाँलाई तानियो वा लगियो, के हो थाहा भएन । तर, उहाँ जानुभयो । ओलीभित्र सबै ठीक छ भन्दिंनँ । मानवीय कमजोरी पनि छन् । हठ पनि होलान् । तर, पनि समग्रमा ओलीको विकल्प हुन सक्दैनन् । नेकपाको विकल्प काँग्रेस हुन सक्दैन । त्यहीकारण समदुरीका नेताहरुमा नेतृत्व चेञ्ज हुन सक्थ्यो । काँग्रेसलाई बुझाउने कुरा आएपछि सहमत हुन सकिएन ।

झगडालाई नर्मलाइज गर्नुपर्छ । सम्भव भएसम्म हिजोका दिनको इतिहास हेर्ने हो, इतिहास माधवजीको पनि छ, झलनाथजीको पनि छ । एमाले बनाउन उहाँहरुले पनि हिजोका दिनमा ठूलो मिहिनेत गर्नुभएको हो ।

प्रचण्डले पूर्वमाओवादी धार एक हुनुपर्छ भन्दैहुनुहुन्छ । यदि त्यस्तो अवस्था भयो भने तपाईंहरुको टिमले एमाले छाडेर आउँछ ?

आजको मितिमा म त्यस्तो देख्दिनँ । न मोहन वैद्य नै आउनुहुन्छ । बाबुराम आफ्नै ठाउँमा पुगिसक्नुभएको छ । विप्लवजी आउनुहुन्न । म यो सम्भावना देख्दिनँ । तर, प्रचण्डले यही नाराले जनतालाई भ्रम पार्ने भएकाले यो नारा अझै व्यापकरुपमा अघि बढ्छ ।

 तर, कुनै न कुनै दिन काँग्रेससँगको सहकार्य छाडेर फेरि वामपन्थीहरुको मोर्चा बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? यसमा तपाईंहरुको भूमिका के हुन्छ ?

यो नकार्न सकिदैंन । हिजोजस्तै बाम गठबन्धन । अब पार्टी एकताको कुरा त भएन, बाम गठबन्धन गरेर कमसे कम दक्षिणपन्थीहरुलाई आउनबाट रोक्नका निम्ति बाम एक ठाउँमा होऔं भन्ने कुराको सूरुवात गर्नुपर्छ । त्यसका लागि म मेरो ठाउँबाट पहल गर्छु ।

हामी सिंगो पार्टीले तत्कालीन पार्टी अध्यक्ष ओलीलाई नेता हो भनेर मानेर हिँडिसकेपछि सानातिना समस्या छलफलबाटै टुंगिएर जाने भए । ठूलो समस्या रहला भन्ने लाग्दैन ।

तपाईंहरु अहिले एमालेमा हुनुहुन्छ । माधवजी र ओलीजी भर्खरै फुटेकाले एकअर्काप्रति खनिनुभएको छ । अब त्यहाँ तपाईंहरुको भूमिका के हुन्छ ? एक अर्कालाई यसैगरी बझाएर दूरी बढाउने र काँग्रेसतिरै धकेल्ने कि दुरी घटाउनेतिर लाग्ने ?

झगडालाई नर्मलाइज गर्नुपर्छ । सम्भव भएसम्म हिजोका दिनको इतिहास हेर्ने हो, इतिहास माधवजीको पनि छ, झलनाथजीको पनि छ । एमाले बनाउन उहाँहरुले पनि हिजोका दिनमा ठूलो मिहिनेत गर्नुभएको हो । जो–जो साथीहरु त्यता हुनुहुन्छ, उहाँहरुको पनि इतिहास छ । त्यो उहाँहरुले एमालेभित्रै खोज्नुपर्छ । अर्को पार्टीमा खोजेर हुँदैन ।

तर, हिजो माधव समूहले जेठ २ मा फर्कनुपर्र्छ भन्दा पूर्वमाओवादी समूहले आपत्ति जनायो भन्ने कुरा छ नि ? तपाईंहरुको आपत्ति के के कुरामा थियो ?

जेठ दुईमा फर्कने भनिएको पूर्वएमालेभित्रको कुरा हो । हामी त त्यतिबेला माओवादी थियौं, हाम्रो आपत्ति रहने कुरै भएन । जेठ ३ मा एमाले र माओवादी दुबै रहेनन् । हामी नेकपा भयौं । त्यही नेकपाको निरन्तरताको आजको एमाले हो । निर्वाचन आयोगले भन्यो, जेठ २ को मिलाउनका निम्ति । त्यो उहाँहरुले मिलाउनुहुन्छ । हामी जेठ ३ बाट नेकपा भएको हुँदा आजको एमाले जेठ ३ को निरन्तरताको एमाले हो ।

एमालेमा जेठ २ को वकालत गर्ने भीम रावल, घनश्याम भुसालहरुले अहिले तपाईंलाई बाइपास गरेर जानुपर्छ भन्दै हुनुहुन्छ कि ?

उहाँहरुको कसैको पनि, पूर्वएमालेमा माधवजीबाट आएको टिम र माधवजीहरुको पनि हामीप्रति नेगेटिभ कहीँ भएन । उहाँहरुको कुरा हामी सबै बसेर सल्लाह गरेर बसौं, अनि नवप्रवेशीहरुलाई (पूर्वमाआवोदी समूह) लाई ल्याउँ भन्ने थियो ।

एमालेभित्र अब गुटहरु रहन्छन् कि रहँदैनन् ?

अब रहलाजस्तो देखिँदैन । हामी सिंगो पार्टीले तत्कालीन पार्टी अध्यक्ष ओलीलाई नेता हो भनेर मानेर हिँडिसकेपछि सानातिना समस्या छलफलबाटै टुंगिएर जाने भए । ठूलो समस्या रहला भन्ने लाग्दैन ।

ओलीलाई नेता मान्दै गर्दा संसद् विघटनलाई ठीक भन्ने कि नभन्ने ? सर्वोच्चको फैसलालाई कसरी लिने ? यी कुरामा घनश्याम भुसाल, भीम रावलहरूले फरक लाइन लिँदै आउनुभएको छ । उहाँहरुले अदालतमा हस्ताक्षर पनि बुझाउनुभयो । पटक–पटक संसद विघटन गरेर केपी ओलीले कमजोरी गर्नुभयो भन्ने तपाईंहरुलाई चाहिँ लाग्छ कि लाग्दैन ?

अब, कतिपय कुराहरु परिस्थितिजन्य छन् । सबैले च्यापचुप पारेर फाल्न खोजेपछि बच्नुपर्ने परिस्थितिका केही कामहरु पनि भएका छन् । त्यसले गर्दा समग्र स्थितिमा कि त आफ्नो हातबाट शक्ति छाड्नुप–यो, कि जनता रोज्नुप–यो भन्दा जनतामा जाने कुरा नरोज्दा सत्ता काँग्रेसलाई बुझाउने कुरा हुन्छ । जनताका माझमा जाने कुरा क्रान्तिकारी हुन्छ भनेर ओलीले यो निर्णय लिनुभएको हो । काँग्रेसलाई सत्ता बुझाउनुभन्दा जनतामा गएर निर्वाचित भएर आउने, जो जित्छ, त्यसैले सत्ता चलाउने भन्ने रुपमा ओलीजीको विश्लेषण हो ।

तर, संविधानमा टेक्नुभएन भनेर अदालतले भनिसकेपछि दोस्रोपटक पनि त्यही काम किन गरियो ? यसमा ओलीबाट कमजोरी भएको होइन ?

हिजो पनि पञ्चायत व्यवस्थाविरुद्ध लड्दा अदालतले राष्ट्रद्रोही भन्ने आरोप लगाउँथ्यो । यी सबै कुरा छँदैछन् । मुख्य कुरा राजनीति हो । राजनीतिमा मानिस ठीकठाक भएर हिँडेपछि, आँटका साथ हिँडेपछि आएका समस्याहरु, बिग्रेका बनाउने कुरा हुन्छ । अझै राम्रो, झनै राम्रो बनाउने कुरा हुन्छ । बेठीक भयो भनेर त्यसैमा घोच्चिनुपर्ने, पर्खिनुपर्ने, वा बिग्रियो भन्नुपर्ने जरुरी देख्दिनँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
२०८३ बैसाख २२, मंगलबार