काठमाण्डौंः बैतडीको सुर्नया गाउँपालिका–४ स्थित शनसेरी माण्डौँका व्यापारी मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
सुर्नया–४ लेकडाँडा निवासी ५६ वर्षका कमल सिंह महरा आज बिहान मृत अवस्थामा भेटिएपछि अनुसन्धानका लागि त्यहाँ पुगेको प्रहरीको टोलीले हत्या आशंकामा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूको परिचय प्रहरीले खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
मृतक महराको शरीरभरि चोटपटक र नीलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशङ्का गरिएको छ ।
मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको आफ्नो पसल बन्द रहेको पाइएको छ भने, उनको शव दुई सय मिटर टाढाराम महरा र हिक्मत महराको पसल अगाडी भेटिएको थियो ।
शव भेटिएको ठाउँका पसलेले आफूलाई घटनाबारे जानकारी नभएको बताए पनि पसलभित्रै रगत भेटिएको स्थानीय प्रताप महराले बताउनुभयो ।
उहाँले भन्नुभयो “पुर्णरुपमा हत्या भएको जस्तो छ । शरीरभरि नीलडाम र घाउहरू छन् । टाउको फुटेको छ भने, छातीमा गम्भीर प्रकारको चोट छ ।”
मृतक महरालाई राती १० बजे घरबाट बुहारीले फोन गर्दा घर आउन ढिलो हुने र आफ्ना लागि खाना छोपेर राखिदिन भनेका थिए । मृतकको खल्तीमा केही नगद पैसा र १ पाउ जति पकाएको मासु समेत भेटिएको छ ।
मृतक महराको घरमा श्रीमती, दुई छोरा, एक जना बुहारी र दुई जना नातिनी छन् ।
मृतकका जेठा छोरा मानसिक सन्तुलन गुमाएका छन् भने, कान्छा छोरा वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा रहेको स्थानीय गणेश भाटले बताउनुभयो ।
मृतकको शव पोष्टमार्टका लागि जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया