असार २३, २०८२ सोमबार July 7, 2025

नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छुः साहिद अफ्रिदी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल छोटो बसाइ कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?

म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटको कारण अहिले म नेपालमा छु । यससँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्ययमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाइमा नेपालीहरुमा क्रिकेटप्रतिको लगाव निकै पाएको छु । पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पनि पाएको छु । मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस्, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफैँमा महत्वपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

नेपाली क्रिकेटलाई कसरी हेर्नु भएको छ, कसरी विश्लेषण गर्नु हुन्छ ?

नेपाली यू–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब, नेपाली खेलाडीमा प्रतिभा र क्षमता छ । पछिल्लो खेल ईपीएलमा मैले खेलेँ, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दीप लामिछाने लगायत खेलाडीहरुको टोली क्षमतावान छ । उनीहरुले नेपाललाई विश्वमा चिनाउन सक्छन् । नेपाली क्रिकेट विकास गर्न तल्लो तहदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महत्वपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ । खेलाडीहरुलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ ।

नेपालको फ्रेन्चाईज लिगसँग जोडिन तपाईँलाई कुन विषयले प्रेरित गर्‍यो ?

म एक व्यवसायिक खेलाडी भएकाले मैले क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस् भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । पाकिस्तान आफ्ना मित्रराष्ट्र र छिमेकीहरुसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेट धर्मजस्तै भइसकेको छ । क्रिकेटको माध्ययमबाट सम्बन्धहरुलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ, क्रिकेटकै माध्ययमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ । मेरो खुट्टामा समस्या हुँदा पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्ययमबाट नेपालमा रहेका क्रिकेट प्रेमीहरुसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिनसक्ने विषयहरु के के छन्? कसरी जोडिन सक्छन् ?

दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कुटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिकेटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरुसँग भेट भयो, मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

तपाईँले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नु भएको छ । त्यस्तो के विषयले मोहित बनायो ?

यो भ्रमणमा मैले पूरै नेपाल राम्रोसँग घुम्न पाइनँ । छोटो भ्रमण छ । आज (आइतबार) माउन्टेन फ्लाईट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमालहरु हेरेँ । रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किन भने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुने छैन । शहर भन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया