काठमाण्डौंः स्याङ्जाको मोहमी माध्यमिक विद्यालयको कक्षा ९ का दुई छात्रामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
चापाकोट नगरपालिका–६ स्थित साँखर मोहमी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रामा ज्वरो, रुघाखोकीलगायत लक्षण देखिएपछि विद्यालय समयमै नजिकै रहेको स्वास्थ्य चौकीमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।
विद्यार्थीमा कोरोना सङ्क्रमण देखिए पछि लामो समय बन्द भएको विद्यालय खुलेको १५ दिनमै तीन दिनका लागि बन्द गरिएको हो ।दुई छात्रामा कोरोना पुष्टि भएपछि अन्य विद्यार्थीमा सङ्क्रमण फैलिन नदिनका लागि विद्यालय व्यवस्थापन समिति र चापाकोट नगर शिक्षा समितिको निर्णयबमोजिम आजदेखि तीन दिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक बस्ताकोटीले बताए ।
आगामी शुक्रबारदेखि विद्यालय सञ्चालन गर्ने र गेटमै ज्वरो परीक्षण गरी लक्षण देखिएका विद्यार्थीको एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेको चापाकोट नगर शिक्षा शाखा प्रमुख दुर्गा न्यौपानेको भनाइ छ । चापाकोटमा भदौ २७ गतेदेखि विद्यालय सञ्चालनमा आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया