श्रावण ३, २०८२ शनिबार July 19, 2025

बिदामा सौराहाका होटल भरिभराउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: दसैँ बिदाका समयमा जिल्लाको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । कोभिडका कारण लामो समय घुमफिरमा निस्कन नसकेका आन्तरिक पर्यटक आएसँगै होटल भरिभराउ भएका हुन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् ।

दसैँको फूलपातीको दिनयता अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीहरूले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार नवमी, दशमी र एकादशीका दिन सौराहाका होटल सतप्रतिशत भरिएका थिए । ती दिनमा कतिपय पर्यटकले राम्रा होटल नपाएपछि फर्किनु परेको थियो । फूलपाती र अष्टमीका दिनमा पनि ६५ प्रतिशतभन्दा बढी होटलका कोठा भरिएको उहाँले बताउनुभयो ।

कतिपय होटल फूलपाती यता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । भट्टराईले भन्नुभयो, “१० प्रतिशत हाराहारी भारतीय पर्यटक छन् भने केही तेस्रो मुलुकका छन् । बाँकी सबै नेपाली हुन् ।” होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी निर्देशक सन्तोष गिरीका अनुसार उहाँको होटल फूलपाती यता पूर्णिमासम्म सबै कोठा बुकिङ भएका छन् । होटलमा ४० कोठा छन् । उहाँले भन्नुभयो “अहिले १०० कोठा भएको भए पनि खाली हुने अवस्था थिएन ।” नेपालीसँगै भारतीय, युरोपेली र इजरायली पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ, पोखरा र पूर्वी नेपालका धेरै पर्यटक आफ्नो होटलमा आएको उहाँको भनाइ छ । होटलमा कोठा खाली नभएपछि धेरै पाहुनालाई अन्य होटलमा पठाउनु परेको उहाँले बताउनुभयो । अहिले पनि सामाजिक सञ्जालमार्फत थुप्रै पाहुनाले पठाएका सन्देशको उत्तर आफूले दिन नभ्याएको गिरीले बताउनुभयो ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे लकडाउनको समयमा समेत विभिन्न प्याकेज सार्वजनिक गरेर होटल बुकिङ गराउनेमध्येका एक हुनुहुन्छ । यो समयमा उहाँलाई पाहुनाका लागि कोठा पु¥याउन मुस्किल प¥यो । उहाँले भन्नुभयो “विगतका वर्षको तुलनामा यसवर्ष दसैँमा सौराहाको पर्यटन व्यवसाय निकै राम्रो रह्यो ।”

अप्रत्यासित रुपमा पर्यटक सौराहा आएको भन्दै उहाँले व्यवस्थापन नै कठिन भएको बताउनुभयो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनु भएका घिमिरेको भनाइमा अबका दिनमा पनि पर्यटकको सङ्ख्या आशातित रुपमा वृद्धि हुने छ । आउँदा केही दिनसम्मका लागि धेरै होटलमा पर्यटकको बुकिङ छ । सौराहाका ११० पर्यटकीय होटलमा पाँच हजार ५०० बेड रहेका छन् ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले आन्तरिक र बाह्य पर्यटकले यो वर्षको दसैँमा सौराहा भरिएको बताउनुभयो । युनिक वाइल्ड रिसोर्टका सञ्चालकसमेत रहनु भएका थपलिया विगत वर्षको भन्दा यसवर्षको दसैँमा आफ्नो होटलमा पाहुनाको चाप बढेको बताउनुहुन्छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिका लागि देशका विभिन्न क्षेत्रबाट पर्यटक यहाँ आएको उहाँको भनाइ छ । कतिपय घुम्नका लागि आएको र कतिपयले टीका लगाउनका लागि चितवन र छिमेकी जिल्ला आउँदा सौराहा आएको थपलिया बताउनुहुन्छ । उहाँले भन्नुभयो “अबका दिन विगत जस्तो हुँदैन भन्नेमा हामी आशावादी छौँ ।”

होटलहरुमा पर्यटक भरिएसँगै रेष्टुरेन्टहरू पनि पर्यटकले भरिभराउ हुने गरेका छन् । सौराहाको राप्ती किनारमा धेरै रेष्टुरेन्टहरू छन् । यससँगै अन्य विभिन्न क्षेत्रमा पनि पर्यटकलाई लक्षित गरी रेष्टुरेन्ट बनाइएका छन् । रेन्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडा दसैँको टीकाको दिन राप्ती किनारमा एक हजारभन्दा बढी पर्यटक आएको अनुमान गरेको बताउनुहुन्छ । तस्बिर लिनेदेखि त्यहाँका रेष्टुरेन्टमा खाएर रमाउनेहरू नदी किनारमा आएका थिए ।

टीका लगाउन आएकाको चहलपहलले होटलसँगै रेष्टुरेन्ट भरिएको उहाँको भनाइ छ । सनसेट भ्यू रेष्टुरेन्टका सञ्चालक खतिवडा दसैँसँगै सौराहामा सकारात्मक सन्देश प्रवाह भएको बताउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्जमा रमाउनका लागि आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन् । विगत दुई वर्षयता कोभिडका कारण थला परेको यहाँको व्यवसाय दसैँसँगै चलायमान भएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार