बैसाख २२, २०८३ मंगलबार May 5, 2026

एमसीसी पारित गर्न सकेनौँ भने अन्तर्राष्ट्रिय जगत्मा समेत हाम्रो विश्वसनीयता कम हुनेछ ।- मन्त्री ज्ञानेन्द्रबहादुर कार्की (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सरकारले एक सय दिन पूरा गरेको छ, यस अवधिभित्रको राजनीतिक तथा अन्य उपलब्धिलाई के कसरी हेर्नुभएको छ ?

सरकारको सय दिनको उपलब्धिका सन्दर्भमा चर्चा गर्नुअघि हामी सरकारमा आउनुभन्दा अगाडिको पृष्ठभूमिको कुुरा गर्न चाहन्छौँ । हामीले निर्वाचन गरायौँ । त्यतिबेला वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । ठूला वामपन्थी दलहरू मिलेका थिए र जनतामा अब बन्ने सरकार वामपन्थीको हो भन्ने सन्देश प्रवाहित भएको थियो । यद्यपि मतपरिणाममा नेपाली काँग्रेसको लोकप्रिय मत हाराहारी नै छ । तथापि सङ्ख्यामा हाम्रो प्रदेश, स्थानीय र सङ्घमा कम आयो । दुुई तिहाइ बहुमत प्राप्त वामपन्थी सरकारलाई मुलुकको विकास, स्थिरता र समृद्धिको बाटोमा अग्रसर गराउने पर्याप्त समय थियो तर त्यो समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विकास गर्नमा ध्यान दिनुुभन्दा शक्ति केन्द्रित गर्ने र मुलुकलाई संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत अधिनायकवादतर्फ धकेल्ने प्रयास भयो । दुुई/दुुई पटक प्रतिनिधि सभा विघटन गर्नुुभयो । हामीले संविधानलाई अध्ययन ग¥यौँ । संविधान बन्दा म त्यतिबेला राजनीतिक संवाद समितिमा थिएँ । विगतका अनुुभवलाई हेरेर नेपालमा संसद् पूरा अवधिभरि सञ्चालन होस् भन्ने भावनाअनुसार संविधान निर्माण गर्‍यौँ तर त्यो मर्मविपरीत गएर ओलीले प्रतिनिधि सभा विघटन गर्नुुभयो र करिब साढे तीन वर्षको अवधिमा नेपाली काँग्रेस एक जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्यो । हाम्र्रै भूमिकाका बारेमा पनि समाजमा विभिन्न खालको टीकाटिप्पणी भए तर काँग्रेसले प्रतिपक्षको भूमिकामा जिम्मेवारी र धर्म निर्वाह गरेको थियो । हामी तत्कालै सरकारमा जानुुपर्छ भन्ने सोचेका थिएनौँ ।

अहिले प्रमुख प्रतिपक्षमा रहनुभएका नेताहरूले भन्ने गर्नुभएको सुनिन्छ– यो परमादेशको सरकार हो । त्यो उहाँहरूको कुुण्ठा बोलेको हो । ओलीले म बहुुमतमा छैन भनेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुुभयो र १४७ जना प्रतिनिधि सभा सांसदले शेरबहादुुर देउवाको नेतृत्व स्वीकार गरी बहुुमत पुुर्‍याएर राष्ट्रपतिकहाँ पुुगेको यथार्थ हो । वैकल्पिक सरकार बनाउने दाबीका साथ निवेदन हामीले दियौँ तर त्यसको सुुनुवाइ हुनुुको साटो सरकारले मध्यरातमा संसद् विघटन गर्‍यो । त्यसविरुद्ध स्वाभाविक रूपमा हामी सर्वोच्च अदालत पुुग्यौँ । सर्वोच्चले कुुनै नयाँ कुुरा गरेको छैन । सर्वोच्चले १४७ जना प्रतिनिधि सभा सांसदको भावनाअनुुसार सरकार निर्माणको बाटो खुुलाएको हो । त्यसैले यो परमादेशको सरकार नभएर संसद्को बहुुमत सदस्यको भावनाअनुुसारको जनमतको सरकार हो । प्रधानमन्त्रीले विश्वासको मत लिँदा १६५ जना सदस्यको मत पाएको सरकार हो । एमालेबाहेक अन्य सबै दल करिब करिब एक ठाउँमा उभिएर समर्थन जनाएको सरकार हो । त्यसैले यो सरकारले लोकतन्त्रको रक्षा, मुुलुुकमा राजनीतिक स्थायित्व, कानुनी शासन र सुशासनलाई प्रत्याभूतसहितको यात्रामा अग्रसर भएको हो । सरकारको एक सय दिनमा मूल रूपमा जनतामा स्थिरताको भावना पैदा गरेको छ । अर्को सुुशासनको प्रत्याभूति गरेको छ र उपलब्धिकै आधारमा भन्ने हो भने हरेक मन्त्रालयले आ आफ्नो काम गरेका छन् । मुख्य उपलब्धि त संविधान, लोकतन्त्र र पद्धतिको रक्षा भएको छ । यो उपलब्धिका निमित्त नेपाली जनताले धेरै ठूलो त्याग, तपस्या र बलिदान दिएका छन् । त्यस भावनाअनुुसार सरकार अगाडि बढ्छ । एक सय दिनमा सरकारले यो भावनालाई केन्द्रमा राखेर काम गरेको छ । प्राविधिक कारणले केही समय लागे पनि सरकारले पूर्णता पाइसकेको छ । मन्त्रिपरिषद्ले पूर्णता पाएको पहिलो क्याबिनेट बैठकमै जनताको अपेक्षाअनुुसार सामथ्र्य, इमानदारिता र उत्साह लिएर काम गर्न निर्देशन दिनुुभएको छ । त्यो पूरा गर्न हामी मन, वचन र कर्मले अगाडि बढेका छौँ ।

कोभिड–१९ को महामारी टरेको छैन, हालसम्म ३४ प्रतिशत नेपालीले खोप पाएका छन् । खोपको उपलब्धताअनुसार आगामी दिनमा सरकार कसरी अगाडि बढ्छ ?

जनताको जीवन रक्षा हरेक सरकारको पहिलो प्राथमिकता हो । प्रधानमन्त्रीले संसद्मा सरकारको प्राथमिकता खोप, खोप र खोप हो भन्नुुभएको छ र यो प्रतिबद्धतामा मात्रै सीमित छैन । सरकारले व्यवहारमा समेत यस वर्षभित्र सबै नेपालीलाई खोप लगाइसक्नेछ । त्यसमा अहिले अन्तर्राष्ट्रियस्तरबाट पाएको सहयोग र सद्भाव प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय व्यक्तित्वका कारणले समेत सम्भव भएको छ । यो काममा सरकार सफलताका साथ अगाडि बढेको छ । यो मन्त्रीको हैसियतले मैले भनेको छैन । सर्वसाधारण नागरिकले अहिले गरेको अनुुभवका आधारमा भनेको हुुँ । हामी छिट्टै सुुखदु:खलाई बिर्सिन्छौँ । त्यत्रो ठूलो भूकम्प गयो । नेपाली जनताले यति ठूलो पीडा पायो तर दुुई वर्षको अवधिमा बिर्सेर अगाडि फड्को मारेको छ । त्यस्तै अहिले बजारमा हामी हिँड्दा खोपकै कारण जनजीवन सामान्य जस्तो अवस्थामा फर्केको छ ।

संसदमा करिब ६० वटा विधेयक हाल विचाराधीन छन् । अघिल्लो सरकारले अध्यादेशका आधारमा शासन गर्न खोज्यो, नेपाली काँगेसलगायतका दलले विरोध गरे, अहिले एमालेको अवरोध जारी नै छ । विधेयकलाई पारित गर्न सरकारले के कस्तो पहलकदमी लिएको छ ?

तपाईंहरूले देख्नुुभएको छ, जनताको आकाङ्क्षा र अभिलाषालाई पूरा गर्ने संसद् एउटा महìवपूर्ण थलो हो । यसलाई सुुचारु राख्ने दायित्व सरकार मात्रैको होइन, प्रतिपक्षको पनि हो । लामो समयसम्म संसदीय अभ्यास गरेको एमाले जस्तो पार्टीले जनतासँग सरोकार राख्ने महìवपूर्ण विधेयकलाई स्वीकृत हुन नदिने किसिमले अवरोध खडा गरेको छ । मलाई आशा छ, अहिलेका महìवपूर्ण कामलाई अगाडि बढाउन र यत्रो ठूलो त्याग, तपस्या र सङ्घर्ष गरेर ल्याइएको संसदीय पद्धतिलाई यस प्रकारको कदमले निष्प्रभावी बनाउने महसुस गरेर उहाँहरूले निरन्तरता दिनुुहुने छैन । अब संसद् सञ्चालन होला र संसद्बाट यी विधेयक पास होला भने मैले विश्वास लिएको छु । अध्यादेशमार्फत सरकार चल्नुुहुन्न भने मान्यता नेपाली काँग्रेसको छ तर संसद् चल्दै चलेन भने अध्यादेशमार्फत कानुन ल्याउन सरकार बाध्य हुुनेछ ।

‘मिडिया काउन्सिल, पब्लिक सर्भिस ब्रोडकास्ट एक्ट’ पनि संसद्मा विचाराधीन छन् । अघिल्लो सरकारले सञ्चार क्षेत्रलाई त्रसित नै बनाएको चर्चा थियो, सञ्चार क्षेत्रलाई हेर्ने वर्तमान सरकारको दृष्टिकोण के हो ?

हामी प्रेस स्वतन्त्रताको पक्षमा जहिले पनि छौँ । प्रेस समाजको दर्पण हो । प्रेस र अभिव्यक्ति स्वतन्त्रता संविधानप्रदत्त छ । त्यसलाई अक्षुण्ण राख्ने तर जुुन किसिमका विकृतिहरू छन्, त्यो अन्त्य गरेर एउटा मर्यादित, स्वतन्त्र र निष्पक्ष प्रेसको पक्षमा हामी सबैले जनमत बनाउन जरुरी छ । सूचनाको हक नागरिकको अधिकार हो र त्यो प्राप्त गर्दै ‘डिसइन्फर्म, मिसइन्फर्म’ गर्ने र पीत पत्रकारितालाई निरुत्साहित गर्नुुपर्छ । लोकतन्त्र भनेको अनुशासित र मर्यादित पद्धति हो । यसलाई कानुनले भन्दा पनि नैतिकताले डोहोर्‍याएर अगाडि बढ्नुुपर्छ । त्यस दिशामा समाजलाई निर्देशित गर्नका निमित्त यो सरकार प्रयत्नशील छ र अगाडि बढाउने छ ।

तपाईंकै पहलमा एमसीसी परियोजना सम्झौता भएको थियो । अहिले फेरि यो सरकार आइसकेपछि एमसीसी कार्यान्वयनका निमित्त सरकारले के तयारी गर्दैछ ?

एमसीसी विकास परियोजना हो । यसलाई जुुन प्रकारले राजनीतीकरण गरिएको छ, यो गलत हो । मुुलुकको व्यापार घाटा कम गर्ने हामीसँग के कस्ता स्रोतसाधन छन् । त्यसलाई पहिल्याउँदा सबैभन्दा ठूलो विकल्प ऊर्जाको विकास हो । अरुण तेस्रो गुम्दा नेपालले भोग्नुपरेको सङ्कट सबैलाई थाहा छ । यसले मुुलुुकलाई कति वर्ष पछाडि धकेल्यो, हामी सबैले मूल्याङ्कन गर्नुु जरुरी छ । एमसीसीको हकमा पनि हामीले ऊर्जाको सङ्कट क्षेत्रमा लागू गर्न जरुरी छ । कार्यान्वयन गर्दा यो ऊर्जाको क्षेत्रमा कोसेढुुङ्गा साबित हुुन्छ । यसले हाम्रो समृद्धिको सपना साकार गर्नका निमित्त महìवपूर्ण योगदान गर्नेछ । एमसीसी पारित गर्न सकेनौँ भने अन्तर्राष्ट्रिय जगत्मा समेत हाम्रो विश्वसनीयता कम हुनेछ । यसलाई ध्यान दिनु जरुरी छ । एमसीसीमा धेरै बहस, छलफल भएका छन् । त्यसमध्येमा एमसीसी आर्थिक परियोजना हो र एमसीसीका बारेमा जुन भ्रम सिर्जना गरिएको छ, त्यसलाई चिर्न जरुरी छ । यो संसद्को सम्पत्ति भएको छ र संसद्बाट पारित गरेर लग्नुुपर्ने नेपाली जनताको आवश्यकता हुन गएको हो । संसारका ५० मुलुकमा एमसीसी कार्यान्वयनमा छ । मङ्गोलियाले त दुई पटक नै यो परियोजना स्वीकारेको छ । विशुद्ध अनुदान भएकाले यसले नेपाली जनजीवनलाई सहज र बल पु¥याउने हाम्रो बुझाइ हो ।

तपाईंले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग पटकपटक भेट्नुु्भएको छ, एमसीसी पारित गर्ने र संसद्को अवरोध खुलाउने सम्बन्धमा के कस्ता कुुराकानी भएका छन् ?

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग मैले संसद् सुचारु गरी प्रभावकारी बनाउन र व्यवस्थालाई सुुदृढ बनाउँदै अगाडि बढ्नुुपर्ने विषयमा छलफल गरेको हुँ । एमसीसीको सम्बन्धमा केन्द्रित भएर उहाँसँग छलफल भएको छैन । प्रसङ्गवश कुराकानी हुुनु बेग्लै हो तर ओली आफैँ सरकारमा भएको बेला संसद्मा एमसीसीका बारेमा व्यक्त गर्नुुभएको धारणा सार्वजनिक नै छ । उहाँले एमसीसी छिट्टै लागू हुुन्छ भन्ने जवाफ दिनुुभएको थियो । एमसीसीबारे सरकारमा हुुँदा एउटा कुुरा र सरकारभन्दा बाहिर हुुँदा अर्को कुरा गर्नुु सर्वथा अन्यायपूर्ण हुनेछ । त्यसैले एमसीसीका बारेमा उहाँहरूको समेत सकारात्मक धारणा हुने अपेक्षा राखेको छु ।

आर्थिक गतिविधिलाई अझै प्रभावकारी रूपमा सुचारु गर्न सरकारले के कस्ता तयारी गरेको छ र कस्ता योजना लिएको छ ?

कोभिड–१९ को महामारीले नेपालको मात्रै नभई विश्वकै अर्थतन्त्रलाई नराम्ररी असर पार्दै ठूलै चुुनौती दिएको थियो । हामीजस्तो कमजोर अर्थतन्त्र भएको मुुलुकमा कोभिडको गहिरो प्रभाव पर्नुु स्वाभाविक नै थियो । तथापि कोभिडबाट थिलोथिलो भएको अर्थतन्त्रलाई लयमा ल्याउँदै मुलुकलाई आत्मनिर्भरको बाटोमा अग्रसर गराउन यो सरकार काम गर्दैछ ।

उत्पादनको वृद्धि र ‘इक्वेलिटी’ र ‘लिबर्टी’का साथ त्यसको वितरणलाई हामीले प्राथमिकता दिनुुपर्छ । हामीसँग प्रकृतिले दिएको धेरै स्रोत र साधन छन् । त्यसलाई सही रूपमा जनताका निमित्त अनुवाद गर्न सक्यौँ भने मुलुक १० वर्षभित्रमा आत्मनिर्भर बन्न सक्छौँ । त्यसका निमित्त जलविद्युत्, व्यावसायिक कृषि, पर्यटनलगायतको क्षेत्रका सम्भावनालाई केवल भाषणको मुद्दा मात्रै नबनाएर व्यवहारमा रूपान्तरण गर्ने दिशामा यो सरकार अगाडि बढ्दै छ ।

वर्तमान युुग सूचना र सञ्चारको युुग हो । हामी ‘इन्फरमेसन इज पावर’ भन्छौँ । यसलाई नयाँ दिशातिर लग्न सरकारसँग केही दृष्टिकोण वा कार्यक्रम छ कि ?

म काममा विश्वास गर्छु । पहिला पहिला भूूगोलमाथि आक्रमण गरेर अर्का देशमाथि जित हात पारिन्थ्यो तर अहिले सूचना र सञ्चारलाई आक्रमण गरेर देशलाई धराशयी बनाउन सक्ने अवस्था आउन सक्छ । तसर्थ मुलुकवासीलाई सही सूचना सम्प्रेषण गर्दै हाम्रो सूचना प्रणालीलाई सुदृढ, व्यवस्थित गर्न प्रयत्नशील रहनेछु ।

पछिल्लो सरकार दलभित्रको आन्तरिक किचलोका कारण अल्पमतमा परेर बाहिर गयो । काँग्रेस हाल महाधिवेशनको तयारी गर्दैछ । दलभित्रको आन्तरिक समस्याको प्रभाव सरकारमा पर्न सक्ने जनताको बुुझाइबारे के भन्न चाहनुहुन्छ ?

नेपाली काँग्रेसको महाधिवेशन हुुँदैछ । यसलाई हामीले महायज्ञकै रूपमा लिएका छौँ । महाधिवेशनबाट काँग्रेसलाई नयाँ गति दिने र काँग्रेसमा नयाँ ऊर्जा आउने हामी सबैले अपेक्षा गरेका छौँ । हाम्रो पार्टी सभापतिको स्पष्ट बहुमत अहिले केन्द्रीय कार्यसमितिमा छ । तथापि उहाँले सबै निर्णय सहमतिकै आधारमा गर्नुभएको छ । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार