काठमाण्डौः प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । उनी गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । त्यतिखेरै अल्पमतमा रहेकी उनी ७१ दिनमै उनी राजीनामा दिन बाध्य भइन् ।
यससँगै चार वटा प्रदेशबाट एमालेलेले सरकारको नेतृत्व गुमाएको छ । अब प्रदेश १ मा मात्रै एमालेको नेतृत्व बाँकी छ । त्यहाँ पनि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा छन् । २ भदौमा पार्टी विभाजन भएपछि एमालेले गण्डकी र लुम्बिनी प्रदेशको सरकार गुमाएको थियो ।
एमालेले बागमतीमा ४४ महिनापछि सत्ता गुमाएको हो । पहिलो प्रदेश सभा निर्वाचनमा पाँच वर्ष एकल सरकार सञ्चालन गर्न सक्ने गरी बहुमत पाएको एमालेले पार्टी विभाजनका कारण कार्यकाल पूरा हुन १६ महिना बाँकी छँदै सत्ता गुमाएको हो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रियाअन्तर्गत मत विभाजनका लागि बुधबार बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरिन् । एक सय नौ सदस्यीय प्रदेशमा विभाजनअघि एमाले एक्लैका ५८ सांसद थिए ।
तर, पार्टी विभाजनका क्रममा १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उसले बहुमत गुमाएको थियो । पार्टी विभाजनकै दिन २ भदौमा एमाले नेतृत्वले तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाई शाक्यलाई संसदीय दलको नेता बनाएको थियो । शाक्यले सोही दिन मुख्यमन्त्रीको शपथ लिएकी थिइन् । २४ माघ ०७४ मा मुख्यमन्त्रीको शपथ लिएका पौडेलले भने ४२ महिना सरकारको नेतृत्व गरे ।
शाक्य मुख्यमन्त्रीमा नियुक्त भएको २३ दिनपछि २५ भदौमा प्रदेश सभामा एकीकृत समाजवादीले दल विभाजनको आधिकारिकता पाएपछि एमालेले बहुमत गुमाएको थियो । मुख्यमन्त्री शाक्यले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्था रहेकाले २४ असोजमै ‘विश्वासको मत लिने प्रस्ताव’ प्रदेश सभामा दर्ता गरेकी थिइन् । तर, दसैँ बिदाका कारण उनको सत्ता केही दिन लम्बिएको थियो । ४ कात्तिकमा बसेको बैठकले प्रस्तावमाथि छलफल अघि बढाउँदै १० कात्तिकमा मत विभाजन हुने निश्चित गरेको थियो । विश्वासको मत नपाउने स्पष्ट भएपछि शाक्यले संसद्मा सम्बोधनसँगै राजीनामा दिएकी हुन् ।-नयाँ पत्रिकाबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया