काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउने विषयमा दलहरू विभाजित बनेका छन् । प्रधानन्यायाधीश जबराले आफू संवैधानिक प्रक्रिया पूरा गरेर सर्वोच्चको नेतृत्वमा आएको भन्दै आफ्नाविरुद्ध उत्रिएका न्यायाधीशहरूलाई जवाफ दिएपछि केही दलहरू उनकै जवाफको पछि दौडिएका छन् ।
प्रधानन्यायाधीश राणाले गत बुधबार न्यायाधीशसँगको भेटमा आफू संवैधानिक प्रक्रियाबाट सर्वोच्चको नेतृत्वमा आएको भन्दै न्यायाधीशहरूलाई संवैधानिक प्रक्रियाबाटै आफू हट्न सक्ने, नभए बाहिरका हल्लाका भरमा राजीनामा नदिने जवाफ दिएका थिए ।
उनको सो जवाफपछि यतिबेला राजनीतिक दलहरू दुई धारमा विभाजित बनेका हुन् । दलहरू खुलमखुला यो विषयमा नदेखिए पनि आन्तरिक रूपमा भने चलखेल गर्दै आइरहेका छन् ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने पक्षमा छैन । बिहीबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानन्यायाधीशमाथि महाअभियोगको कुनै सम्भावना नभएको आफू निकटका नेताहरूलाई जवाफ दिएका हुन् । उनले बेलायत भ्रमणको पूर्वसन्ध्यामा आफूनिकटलाई बिहीबार बालुवाटारमा भेट गरेका थिए ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने पक्षमा छैन । उसले महाअभियोग लगाउने भए प्रधानन्यायाधीशमाथि मात्रै किन ? भन्ने प्रश्न उठाउँदै आइरहेको छ ।
एमालेले प्रधानन्यायाधीशमाथि महाअधियोग लगाइए संसद विघटनको विपक्षमा निर्णय गर्ने सबै न्यायाधीशमाथिसमेत महाअभियोग लगाउनेसम्मको धम्की दिएको छ ।
एमालेले बिहीबार विज्ञप्ति निकालेरै सडकबाट प्रधानन्यायाधीश जबराको राजीनामा माग्नु गलत भएको बताएको हो ।
तर, सत्तारूढ घटकमध्येका दल माओवादी केन्द्र भने आन्तरिक रूपमा प्रधानन्यायाधीशमाथि महाअभियोको संकेत गरिरहेको उच्च स्रोतले जनाएको छ । त्यसपछि राजनीतिक दलभित्र यो विषय प्रवेश गरेको हो ।
स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयभित्र प्रधानन्यायाधीशविरुद्धको शक्ति बलियो भएको भन्दै कमजोर अवस्थामा रहेका प्रधानन्यायाधीश पदमा रहनु ठीक नहुने संकेत गरेको बताएको हो ।
‘कांग्रेस प्रधानन्यायाधीशको बचाउ र माओवादी केन्द्र महअभियोगको पक्षमा देखिँदा सो मुद्दामा सत्ता गठबन्धन नै विभाजित बन्ने अवस्था देखिँदै छ,’ स्रोत भन्छ ।
गत बुधबार तरुण दलले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले न्यायालयको विषयमा धेरै बोल्नु आवश्यक नभएको तर्क गरेका थिए । उनले अदालतको विषय अदालतले नै मिलाउने भन्दै राजनीतिक दलहरू त्यतातर्फ लाग्न नहुने आशय दिएका थिए । यसको अर्थ कांग्रेस हाल सर्वोच्चमा देखिएको विवादमा मुछिन चाहेको छैन ।
सत्ता गठबन्धनकै एक घटक राष्ट्रिय जनमोर्चालेसमेत प्रधानन्यायाधीशलाई हटाउने विषयमा असहमति जनाएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ओलीकै कारण अदालतको यस्तो अवस्था आएको आरोप लगाएका छन् । उनले धनगढीमा बिहीबार आयोजित एक कार्यक्रममा संसद् पुनस्र्थापना गर्ने सबै न्यायाधीशलाई हटाउने अभिव्यक्ति दिएको प्रतिसमेत आक्रोश पोखेका थिए ।
पछिल्लो समय संसद् विघटनअघि संवैधानिक निकायमा भएका नियुक्तिमा भाग खोज्दादेखि नै प्रधानन्यायाधीशविरुद्ध आवाज उठ्दै आइरहेको छ । हाल भने उनले मन्त्रीमा भाग खोजी गरेपछि विवादमा तानिएका हुन् । यो विषय नै उनका लागि पछिल्लो समय घातक बनेको छ ।
प्रधानन्यायाधीशविरुद्ध हाल सर्वोच्चकै न्यायाधीशहरू सर्वोच्चको मान, प्रतिष्ठा र सम्मानमाथि दाग लगाउन उद्यत रहेको भन्दै आक्रामक ढंगबाट उभिँदै आइरहेका छन् ।राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया