काठमाण्डौंः विद्यार्थी अभावको कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाको ग्रामीण क्षेत्रका १० वटा सामुदायिक विद्यालय बन्द भएका छन् । सुविधाको खोजि गर्दे गाउँ छोडेर सहर झर्नेहरु बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिकाको ग्रामीण क्षेत्रका गाउँ रित्तिन थालेपछि विद्यार्थी संख्या घट्दै गएकाले बन्द भएका हुन् ।
कतिपय ग्रामिण क्षेत्रमा निजी विद्यालय खुलेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको अर्को कारण हो । पृथ्वी राजमार्गसँग जोडिएका दुलेगौँडा, खैरेनीटार आसपासका क्षेत्रमा बसाइँसराइ गर्ने बढेकाले गाउँको जनसंख्या घटेसँगै विद्यालय बन्द हुने क्रम बढेको छ ।
कुलुङ मदरसा प्रावि,जलदेवी प्रावि,भैरव प्रावि,सूर्योदय प्रावि,इन्द्रज्योति प्रावि,आधारभूत प्रावि, शान्ति वर्ष प्रावि, सिमाना प्रावि, मदरसा गुल्सन प्रावि र दारुङ कुलुङ मरदसा प्रावि थप्रेक बन्द भएको नगरपालिका शिक्षा शाखाले जानाएको छ ।
विद्यार्थी अभावका कारणले एकपछि अर्को गर्दे ती विद्यालय गाभिएको शिक्षा शाखा प्रमुख नवराज चापागाँइले बताउनुभयो । न्यून विद्यार्थी भएका १० वटा विद्यालय बन्द भएको उँहाले जानकारी दिनुभयो ।
भोतिक सम्पति पायक पर्ने नजिकैको विद्यालयमा उपलब्ध गराउने र विद्यार्थी संख्या धेरै भएका विद्यालयमा शिक्षकहरु पठाउने गरिएको छ । १५० घर भएको गाउँ अहिले दश घरमा सीमित भएकाले थोरै विद्यार्थी हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ, वडा नम्बर १४ का अध्यक्ष मनराज गुरुङले बताउनु भयो ।
नगरपालिकाभित्र तीन प्रतिशत विद्यालय छोड्ने दर रहेको छ । दिवा खाजाको व्यावस्था गरिएपछि बालविकास र कक्षा १-५ मा विद्यार्थी बढ्न थालेको शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार कक्षा १-५ का दुई हजार छ सय ३७ र बालविकासका एक हजार ५५ गरी कुल तीन हजार छ सय ९२ जना विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउँदै आएको जनाएको छ । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया