श्रावण ३, २०८२ शनिबार July 19, 2025

पीपीए अब प्रतिस्पर्धामा मात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले अब प्रतिस्पर्धाका आधारमा मात्रै विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ। कूल नौ हजार मेगावाट क्षमताका आयोजनाले विद्युत् खरिद सम्झौता लागि तयार भई नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएका छन्।

मुलुकको एकमात्र सरकारी स्वामित्वको नेपाल विद्युत् प्रधिकरणमा पीपीएका लागि चाप बढेपछि प्रतिस्पर्धाको व्यवस्था गर्न लागिएको हो। आवेदन दिइएका जति सबै आयोजनाको लगानीकर्तासँग कुनै ठोस नीतिगत निर्णय नभइकन अब सम्झौता गर्न नसक्ने अवस्थामा प्राधिकरण पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले भने यस्तो व्यवस्थाले आफूहरुको लगानी सङ्कटमा पर्ने भन्दै आपत्ति जनाउँदै आएको छ।

दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारी लक्ष्यमा नदी प्रवाही आयोजनाको सीमामात्रै पाँच हजार २०० मेगावाट बराबर थियो तर प्राधिकरणले ६ हजार मेगावाट क्षमताका आयोजनाको लगानीकर्तासँग सम्झौता गरिसकेको छ।

सरकारको ठोस निर्णय नहुँदा अब प्राधिकरण एक्लैले बिजुली खरिदका लागि सम्झौता गर्न नसक्ने अवस्थामा पुगेको हो। सोही कारण अब प्रतिस्पर्धाका आधारमा मात्रै पीपीए गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ। सरकारले राष्ट्रियसभामा पेश गरेको विद्युत् विधेयकमा समेत अब प्रतिस्पर्धाका आधारमा मात्रै पीपीए र जलविद्युत् आयोजनाको अनुमतिपत्र जारी गर्ने विषय समेटिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि अब जो पहिला आउँछ त्यसै आधारमा नभई प्रतिस्पर्धाका आधारमा मात्रै पीपीए गर्नुपर्छ कि भन्ने अवस्थामा पुगेको बताए। ‘अब हामीलाई पुग्यो भन्ने कोणबाट यो विषय आएको होइन, यसलाई व्यवस्थित गर्न भने खोजिएको हो। कुनै न कुनै रुपमा हामी अगाडि बढ्छौँ’, उनले भने, ‘देशभित्रैको क्षेत्रीय सन्तुलन मिलाउने हिसाबले पनि यसमा काम गर्न खोजिएको हो।’

प्राधिकरणका अनुसार मध्य पश्चिम र सुदूर पश्चिममा बिजुलीको माग क्रमशः बढदै गएको छ तर ती क्षेत्रमा जलविद्युत् आयोजना निर्माण हुने क्रम असाध्यै न्यून छ। सो क्षेत्रमा निर्माण हुने आयोजनाको हकमा प्राधिकरणले सहजीकरण गर्न सक्ने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो।

हाल दुई हजार मेगावाट क्षमता बराबरको बिजुली मुलुकको प्रणालीमा जोडिएको छ। तीन हजार ५०० मेगावाट बराबरका आयोजना निर्माणका विभिन्न चरणमा छन्। यस्तै आठ हजार मेगावाट क्षमताका आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् भने १७ हजार मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा छन्।

कुनै आयोजना प्रतिमेगावाट रु १५ करोडमा निर्माण हुन्छ भने कुनै आयोजनाको लागत प्रतिमेगावाट रु ३५ करोडसम्म पर्ने गरेको छ। प्रतिफलका हिसाबले ती आयोजनालाई एउटै हिसाबले बुझ्न नहुने बुझाइको विकास भएको छ। माग बढाउने विषयमा पछिल्ला दिनमा छलफल भएको भए पनि त्यसलाई गलत कोणबाट नबुझ्नसमेत उनले आग्रह गरे। गत असोजको पहिलो साता मुख्यसचिवको संयोजकत्वमा बसेको बैठकले ऊर्जा क्षेत्रमा केही दीर्घकालीन निर्णय गरेको भन्दै ऊर्जा उद्यमीले आपत्ति जनाएका थिए।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ऊर्जा क्षेत्रलाई थप समृद्ध बनाउनका लागि प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव सबै तहमा छलफल भइरहेको समेत जानकारी दिए। हुन त नेपालमा यसअघि नै प्रतिस्पर्धाका आधारमा जलविद्युत् आयोजनाको अनुमति दिने क्रम सुरु भएको थियो। सुपर सिक्स नाम दिइएका आयोजना त्यसरी नै लगानीकर्तालाई दिइएको थियो। प्रसारणलाइन निर्माणको अभावमा ती आयोजनाले समयमा निर्माण सम्पन्न गर्न सकेका छैनन्। समयमा काम नहुँदा प्राधिकरणले हर्जना तिर्नुपर्ने अवस्था आएको छ।

प्राधिकरणले पछिल्लो दुई वर्षदेखि पीपीए गरेको छैन। पन्ध्र हजार मेगावाटमध्ये पाँच हजार मेगावाट निर्यात गर्ने सरकारको लक्ष्य छ। त्यसमा अर्ध-जलाशय र जलाशययुक्त आयोजनाको हिस्सासमेत रहेको छ। नदी प्रवाही आयोजनाको मात्रै हिस्सा बढ्दै जाँदा मनसुनको समयमा पूर्ण क्षमतामा बिजुली उत्पादन हुने तर हिउँदको समयमा एकतिहाइमात्रै उत्पादन हुने अवस्था छ। त्यसलाई सन्तुलनमा राख्न पनि अर्ध-जलाशय र जलाशयुक्त आयोजना निर्माणमा जोड दिनुपर्ने अवस्था छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले पनि समयले प्रतिस्पर्धा माग गरेको छ भनेका छन्। नदी प्रवाही आयोजना धमाधम अगाडि बढे पनि ऊर्जा सुरक्षाका हिसाबले जलाशय र अर्ध-जलाशयुक्त आयोजना अगाडि नबढ्दा हाम्रो लक्ष्य पूरा भए पनि हिउँदमा समस्या पर्न सक्ने अवस्था कायमै रहेकाले सरकारले केही पहलकदमी लिन खोजेको उनको भनाइ थियो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आइतबार आयोजना गरेको कार्यक्रममा समेत सहसचिव भेटवालले सोचे जसरी जलाशययुक्त र अर्ध-जलाशयुक्त आयोजना अगाडि बढाउन नसकिएको बताए।

प्राधिकरणको सहायक कम्पनीले १४० मेगावाट क्षमताको अर्ध-जलाशयुक्त आयोजना तनहुँ सेती अगाडि बढाएको छ। यस्तै ६३५ मेगावाट क्षमताका दूधकोशी, माथिल्लो अरुण र अरुण चारजस्ता आयोजना अगाडि बढाउने तयारी गरिएको उनले जानकारी दिए।

लगानी पनि नदी प्रवाही आयोजनाको तुलनामा बढी हुने भएकाले जलाशयुक्त आयोजनामा निजी क्षेत्रले लगानी गर्न आँट गरिहालेको अवस्था छैन।सरकारले प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि पीपीए र अन्य अनुमतिका लागि पनि प्रतिस्पर्धात्मक व्यवस्था गर्न लागेको जनाएको छ। यसमा प्रत्यक्ष रुपमा जोडिएका निजी क्षेत्रले भने आपत्ति जनाएका छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार