असोज ८, २०८३ बिहिबार September 24, 2026

एमसिसीमा निहुँ खोज्नु आत्मघात- डा. मिनेन्द्र रिजाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिलेका घटनाक्रमले शक्तिराष्ट्रहरूसँग नेपालको सम्बन्ध असन्तुलित बन्दै गएको संकेत गर्छन् । दुई छिमेकी भारत र चीनका साथै महाशक्ति अमेरिकासँगको सम्बन्धलाई असन्तुलित बनाउन जानी–नजानी राजनीतिक नेतृत्व नै उद्यत देखिन्छ । नेताका बोली, व्यवहार सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धका लागि अनुकूल देखिन्नन् । कुनै अमूक देशको प्रभावमा अर्कोलाई चिढ्याउने, नेपाली समाजमा रहेको राष्ट्रियताप्रति संवेदनशीलतालाई ताली पाउने अवसरका रूपमा उपयोग गर्ने गैरजिम्मेवार व्यवहार उच्चस्तरकै नेताहरूबाट हुनु दुर्भाग्यपूर्ण छ । क्षणिक रूपमा तालीका लागि समाजलाई उत्तेजित बनाउँदाको दूरगामी प्रभाव देश र जनताले दीर्घकालसम्म भोग्नुपर्ने हुन सक्छ । 

नेपालका लागि भारत धेरै समानतासहितको छिमेकी हो, तर उसको अतिक्रमणबाट सीमा जोगाउन हामीले सकिराखेका छैनौँ । बोल्नसमेत नसक्ने निरीह अवस्थामा हाम्रो सरकार छ । चीन–भारतबीच लिपुलेकको बाटो व्यापार गर्ने सम्झौता भएको ब्रिफिङ सुनिसकेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीस“गै रहेका हामीले राजदूतलाई बोलाएर भारतीय प्रधानमन्त्रीसित कुरा गर्ने विषयको जानकारी दिऊँ र टेलिफोन वार्ताका लागि समय तय गर्न लगाऊँ भन्यौँ । तर कोइरालाले फोन गरेर ठाड्ठाडै कुरा गरे । अहिलेको नेतृत्वबाट त्यो आस गर्न सकिँदैन ।

अहिले अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)’ लाई जबर्जस्ती विवादमा पार्ने क्रियाकलाप भइराखेका छन् । आफैँमा एकदम बलियो र स्थिर सरकार छ, तर एमसिसीलाई संसद्ले अनुमोदन गर्नुअघि निर्णयार्थ पार्टीको केन्द्रीय समिति र सचिवालयमा लैजानु नै गलत हो । नेकपाका अध्यक्ष प्रचण्डले ‘इन्डो प्यासिफिक स्ट्राटेजी (आइपिएस)’ को हिस्सा होइन भनेर अमेरिकाले स्पष्ट पारे एमसिसीमार्फत पाइने ५५ अर्बबराबरको अनुदान स्विकारिने अभिव्यक्ति दिएपछि अमेरिकी दूतावासले एमसिसी ‘आइपिएस’कै हिस्सा भएको विज्ञप्ति निकाल्यो ।

दूतावासले ‘आइपिएसकै हिस्सा हो, मन लागे लेऊ, नलिने भए कर छैन’ भन्ने भाव झल्किने गरी स्पष्ट पारिसक्यो । के अब विद्युत् प्रसारण लाइन निर्माण गर्न पाइने ५५ अर्ब रुपैया“ अनुदान अस्वीकार गर्ने त ? अनि अमेरिकाको अनुदान अस्वीकार गर्दा यसको विकल्प के हुने हो ? अनि भविष्यमा अमेरिकाले नेपाली नागरिकलाई दिने डिभी कार्यक्रम वा अमेरिकी विश्वविद्यालयले दिने छात्रवृत्ति पनि आइपिएसकै हिस्सा हो भन्दिए के गर्ने ? नेपाली नागरिकलाई डिभी आवेदन गर्न, छात्रवृत्ति आवेदन गर्न प्रचण्डले रोक्न सक्नुहुन्छ ? हामी ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)’ वा ‘आइपिएस’ अन्तर्गत पाइने अनुदान वा ऋणलाई प्राथमिकताअनुसार लिन हिच्किचाउनुपर्ने कारण छैन । शक्ति राष्ट्रका आ–आफ्नै स्वार्थ र रणनीति हुन्छन् । उनीहरूले स्वार्थरहित सहयोग गर्छन् भन्ने भ्रममा कोही रहनुपर्दैन । यसैले बिआरआईअन्तर्गतको सहयोग लिन्छौँ, आइपिएसअन्तर्गतको लिँदैनौँ भन्दा हाम्रो कूटनीति असन्तुलित हुन जान्छ ।

सामाजिक परिचालन र सशक्तीकरणमा अनुदान थापिरहने, पूर्वाधारमा आएको अनुदानमा चाहिँ बखेडा झिक्ने ?

वैदेशिक सहयोगमा ‘हार्डवेयर’ र ‘सफ्टवेयर’को बहस बितेका केही वर्षदेखि छ । अनुदानका रूपमा वैदेशिक सहयोग खासगरी सामाजिक परिचालन, सशक्तीकरण आदि शीर्षकमा सहयोग आयो, तर पूर्वाधार निर्माणमा आएन भन्ने चिन्ता उत्पन्न भएको थियो । ०४८ सालमै योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. रामशरण महतले दाताहरूलाई नेपालको प्राथमिकता सडक हो भन्दा विश्व बैंकजस्ता संस्था पनि सहमत भएनन् ।

अहिले आएर बल्ल विश्व बैंक पनि नेपालजस्ता अविकसित देशमा पूर्वाधार नै प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेको छ । यस्तो अवस्थामा अमेरिकाले पूर्वाधार त्यो पनि हाम्रो प्राथमिकताको विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गर्छु भन्दा हुन्न भन्नु मूर्खता हो । के सामाजिक परिचालन, सशक्तीकरण आदि इत्यादिमा अनुदान थापिरहने, ठोस पूर्वाधारमा आएको अनुदानमा चाहिँ अनेक बखेडा झिक्ने ? अरुण तेस्रो निर्माणमा अवरोध गर्दा ऊर्जा उत्पादनमा हामी २० वर्ष पछि धकेलियौँ । २५ वर्षअघिको पञ्चवर्षीय योजनामा २० वर्षमा २५ हजार मेगावाट बनाउने लक्ष्य राखियो, अहिले पनि त्यही लक्ष्य छ । प्रसारण लाइन निर्माणमा प्राप्त हुने अनुदानलाई विवादमा पारि“दा अरुण तेस्रोकै सम्झनाले झस्काइदिएको छ ।

अमेरिकी दूतावासले आइपिएसकै हिस्सा हो भने पनि केही उत्पात भएको छैन । आइपिएसकै हिस्सा भए पनि हामी अमेरिकासँग कुनै सैन्य गठबन्धन गरिरहेका छैनौँ । यस्तो सोचेर टाउको दुखाइरहनुपर्ने आवश्यकता छैन । हामीले पाएसम्म बिआरआई र आइपिएस दुवैअन्तर्गतको सहयोग लिने हो । देशलाई समृद्ध बनाउन जेजति गर्न सकिन्छ, गर्ने हो । अमेरिकी सहयोग लिएकोमा कुनै देशको आपत्ति छ भने हामीले उनीहरूलाई, ‘बरु तिमीहरू पनि यस्तै सहयोग देऊ’ भन्न सक्नुपर्छ । सामरिक गठबन्धनबाट चाहिँ नेपाल अलग हुनुपर्छ । सबैका आआफ्ना विदेश नीति हुन्छन्, आआफ्नै स्वार्थ हुन्छन् । भारत, चीन, अमेरिकालगायत अरू मुलुकका नेपाल नीति हुन्छन् । तिनीहरूका नेपाल रणनीति पनि हुन्छन् । अब यो र यस्तै कुनै नीति वा रणनीतिअन्तर्गत भन्ने आधारमा विदेशी सहायता स्वीकार वा अस्वीकार गर्ने भन्ने हुँदैन ।

भारतीय सहयोगबारे पनि वेलावेलामा विवाद आउने गर्छ । त्यसको प्रमुख कारण भारतप्रति नेपाली समाजमा रहेका प्रशस्त गुनासा हुन् । हामी जोडिएका छौँ, धर्म÷संस्कृति आदि विषयमा कतिपय समानता छन् । पहिचानका आधारमा पनि हामीबीच समानता छ । हामीले भारतबाट सहयोग नपाएको होइन, तर भारतको जहिले पनि देखिने गरी हेपाहा प्रवृत्ति भयो । फेरि हामी नेपाली राष्ट्रियताको सवालमा एकदमै संवेदनशील छौँ । राष्ट्रियतामा खतरा देखिहाल्ने र जुर्मुराइहाल्ने प्रवृत्ति छ । हामी स्वतन्त्र थियौँ र छौँ, पराधीन भएनौँ । तर, भारततिर अति निर्भर भयौँ । भारतको अनुदार व्यवहारका कारण हामी नेपाली भारतसँग सदैव होसियार हुन्छौँ । चीनसँग हाम्रो त्यस्तो अनुभव छैन । तैपनि, भोलि चीनविरोधी भावना चाहि“ समाजमा आउँदैन भन्ने छैन । अहिले एमसिसीमा अमेरिकालाई गाली गर्न थालिएको छ ।

सारा विश्वका लागि नेपाल महत्वपूर्ण छ, सारा संसारले हामीलाई नियालिरहेका छन् भन्ने भ्रमबाट हामी मुक्त हुनुपर्छ । फेरि पनि हामी कसैका लागि केही पनि होइनौँ, त्यस्तो पनि हैन । अहिले चीन–अमेरिकाको होडबाजी, व्यापार युद्ध पनि हाम्रा लागि अवसर हुन सक्छ । त्यो होडबाट हामीले फाइदा उठाउन सक्नुपर्छ । हाम्रो भूराजनीतिले गर्दा दिएको अवसर हो यो ।

अमेरिका–चीनको अहिलेको होड बुझ्न अलिकति पृष्ठभूमिमा जानुपर्ने हुन्छ । औद्योगिक क्रान्तिअघि विश्वको ठूलो अर्थतन्त्र चीन थियो । विश्वभरि नै श्रमको उत्पादकत्व उस्तैउस्तै थियो, भूमि र जनसंख्याको कारण चीन ठूलो अर्थतन्त्र थियो । सिल्क रोडमार्फत व्यापार गथ्र्यो । विश्व अर्थतन्त्रको आधा हिस्सा चीन–भारतको थियो । औद्योगिक क्रान्तिले गर्दा उत्पादकत्व बढी हुनेको उत्पादन बढी हुने अवस्था आयो । समुद्रमा कहिले बेलायत, स्पेन पछि बेलायतको झन्डै एकाधिकार जस्तो कायम रह्यो । चीन खस्कियो, पहिला बेलायत र पछि अमेरिका शीर्ष स्थानमा पुगे । पश्चिमाले औद्योगिक क्रान्तिमार्फत आएको समृद्धिस“ग लोकतान्त्रिक संरचना बनाउ“दै गए, तसर्थ उनीहरू झन् अघि बढ्दै गए ।

पछिल्ला दशकमा चीन आक्रामक रूपमा अघि बढिरहेको छ, अमेरिकालाई उछिनेर महाशक्ति बन्ने लक्ष्य लिएर । यसका लागि चीनलाई अन्तर्राष्ट्रिय बजारमा सक्दो पहु“च चाहिएको छ । यसैले यी दुई भीमकाय अर्थतन्त्रको प्रतिस्पर्धाबाट हामीले फाइदा लिन सक्नुपर्छ । हामीलाई भारतसँग जोड्ने गरी प्रसारण लाइन चाहिएको छ । विनासर्त प्रसारण लाइन निर्माणार्थ आएको सहयोगलाई दुत्कार्नु दुर्भाग्य मात्र हैन, राष्ट्रघात नै हो भन्दा अत्युक्ति हुँदैन ।

समाज उग्र (रेडिकलाइज) हुँदै गइरहेको छ, निराशा सर्वत्र छ । हामी लामो समय द्वन्द्वबाट गुज्रियौँ । शान्ति–प्रक्रिया सुरु भयो, लामो प्रसव वेदनापछि संविधान बन्यो । स्थिर सरकार पनि पाइयो । तर, जनताले चाहेअनुसारको ‘डेलिभरी’ भएन । यसैले समाजमा निराशा र कुण्ठा व्याप्त छ । संविधान बनेर स्थानीय र आमचुनाव हुँदा जनता आशावादी थिए । केपी ओलीले आस जगाएका थिए, जिताए पनि । तर, दुई वर्ष नबित्दै त्यो आशा चरम निराशामा परिणत भएको छ । तीन वर्षको समय त छ सरकारसँग, तर प्रधानमन्त्री अस्वस्थ हुनुहुन्छ । पार्टीभित्र कलह छ । यसैले जनताले आशाको किरण देखेका छैनन् ।

हामीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ वा ‘आइपिएस’अन्तर्गत पाइने अनुदान वा ऋणलाई प्राथमिकताअनुसार लिन हिच्किचाउनुपर्ने कारण छैन

म १९९६ सम्म अमेरिका छँदा ‘न्युयोर्क विश्वविद्यालय’मा एकपटक मात्र भारतका प्राध्यापक आएर प्रवचन दिएको मलाई थाहा छ । अहिले भारतीय मूलका प्राध्यापक डिनसम्म भएका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको हैसियत बलियो हुँदै गएको छ । चीन त अझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र नै भइसकेको छ । बेकारमा भेनेजुएलाको मुद्दामा चासो पोजिसन बनाइन्छ । भेनेजुएलाका नेताप्रति मोह देखिन्छ । भेनेजुएलाको कम्युनिस्ट पार्टीसँग भ्रातृपार्टीको सम्बन्ध भनिएको छ । कतै काम नलागेर पत्रु भइसकेका अवशेषलाई टाउकामा बोकेर हिँड्ने मोह छ । भेनेजुएलाको कम्युनिस्ट पार्टीको चस्माले हेरेर अमेरिकाबाट हाम्रै पूर्वाधार निर्माणमा आएको सहयोगलाई बिटुलो ठानिएको छ । तत्कालीन एमाले त यस्तो ‘ह्याङओभर’बाट मुक्त भइसकेजस्तो देखिन्थ्यो, तर त्यस्तो ‘ह्याङओभर’को अवशेष यो वा त्यो रूपमा अझै देखिन्छ ।

अमेरिका अझै पनि सबैभन्दा ठूलो अर्थतन्त्र हो र धेरै अर्थमा उसलाई मानकका रूपमा लिइन्छ । अहिलेको विश्वमा अमेरिका गएको ठाउँ भनेपछि अरूले पनि बाटो खुलेको ठान्छन् । अमेरिकी पर्यटक पुगेको ठाउँ बाँकी विश्वका लागि उपयुक्त ठानिन्छ । अमेरिकी लगानी पुगेको ठाउँ बाँकी विश्वका लागि उपयुक्त ठहर्छ । मानौँ, नमानौँ वास्तविकता यही हो । अमेरिकाले जान उपयुक्त नठानेको ठाउँको यसै पनि नकारात्मक चित्र बन्छ । लगानी गर्ने ठाउँ हो कि होइन भन्ने छुट्याउन अमेरिकाको उपस्थिति छ–छैन भन्ने तथ्यले अर्थ राख्छ ।

एमसिसीलाई अस्वीकार ग-यौँ भने अहिले सित्तैँमा पाएको ५५ अर्ब रुपैयाँ गुमाउने मात्र हुँदैन, दीर्घकालका लागि नेपालको नकारात्मक छवि बन्छ, नेपाल स्वतन्त्र रह्यो, पराधीन भएन । तर, अन्तर्राष्ट्रिय जगत्ले सम्मानित स्वतन्त्र राष्ट्रका रूपमा हेर्ने बनाउन सकिएको छैन ।  हाम्रो भूगोल सानो नभए पनि अर्थतन्त्रको आकार सानो भयो । अर्थतन्त्र बलियो बनाए मात्र हाम्रो अन्तर्राष्ट्रिय पहिचान बन्न सक्छ ।

एमसिसीलाई संसद्ले अनुमोदन गर्नु गलत छैन । हामीकहाँ पहिले स्थिर सरकारहरू स्थिर हुँदैनथे । अहिले स्थिर छ तर नीतिमा स्थिरता छैन । सरकारले हुन्छ भनेर लामो समयअघि नै गरेको सम्झौता आज पार्टीको आन्तरिक राजनीतिक खिचातानीको सिकार बन्न पुगेको छ । यिनै दृष्टान्तले गर्दा विदेशीहरूले हामीसित संसद्को अनुमोदन खोज्ने हो । सरकारको विश्वसनीतियता बढाउन सके कसैले पनि अनुमोदन खोज्दैन । बरु कुनै पनि सम्झौतामा हस्ताक्षर गर्नुपहिले आफ्नो अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउने काम गरौँ । नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार