असार २४, २०८२ मंगलबार July 8, 2025

एमालेका सांसदहरु अनुपस्थितपछि प्रदेश १ प्रदेशसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि प्रदेश १ प्रदेशसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

विपक्षी सांसदको अनुपस्थिति रहेपछि सभामुख प्रदीपकुमार भण्डारीले भोलि बुधबार साढें ११ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो ।

सभामुख भण्डारीले बुधबारको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने भन्दै प्रमुख प्रतिपक्ष दललाई बैठकमा उपस्थित हुन रुलिङ गर्नुभएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक २८ गते संसद सचिवालयमा प्रस्ताव दर्ता गरी आज विश्वासको मत लिने तयारी गर्नुभएको थियो । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले केही दिन बैठक रोक्न माग गरेको थियो । तर त्यस विषयमा अन्य सदस्यहरु सहमत नभएपछि सभामुखले बैठक सुरु गर्नासाथ एक दिनका लागि स्थगित भएको घोषणा गर्नुभएको हो ।

प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष सांसदको उपस्थिति अनिवार्य हुने कुनै व्यवस्था प्रदेशसभा नियमावलीमा नभएपनि संसदीय परम्परा र अभ्यासका आधारमा सभामुखले बैठक स्थगित गर्नुभएको हो ।

एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेश सभा सदस्य आइनपुगेकाले आजको बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र दिएको तर सत्तापक्षले बैठक रोक्न नमानेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया