असार २४, २०८२ मंगलबार July 8, 2025

दलीय कार्यकर्ता: राष्ट्रिय लज्जा- विष्णु सापकोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विषयको सुरुआत गर्दा नै उदेक लाग्ने स्थिति छ । यसो सोचौं न- अहिले कम्युनिस्ट पार्टीका नाममा ‘दलाल पुँजीवादी’ सत्ता चलाउने एमाले र माओवादी इतिहासमा कत्रो ठूलो आदर्श बोकेर स्थापित भएका राजनीतिक आन्दोलन थिए !

नेपाली कांग्रेस पार्टीको जन्म त नेपालमा पहिलो पटक प्रजातन्त्र स्थापना गर्न मात्र होइन, नेपाली समाजलाई नै आधुनिकतातर्फ डोर्‍याउने हदसम्मको उद्देश्यद्वारा निःसृत थियो । र अहिले आएर हेरौं, यी दुवै (वा तीनै, जसरी गने पनि) दलको नेतृत्व के भएको छ, कस्ताको भएको छ र त्यस्तो किन भएको छ ?

तर यस लेखले अहिलेका ‘प्रमुख’, ‘उपप्रमुख’ वा ‘सहायक’ राजनीतिक दलको नेतृत्वबारे चर्चा गर्न खोजेको होइन । तिनका बारे यति धेरै लेखिएको र बोलिएको छ, यस्ता प्रयासबाट उनीहरूको नसुन्ने क्षमता बढ्नेबाहेक अरू केही हुन सके जस्तो लाग्दैन । केही समययता पंक्तिकारको मनमा २०४० को दशकदेखिका तमाम राजनीतिक कार्यकर्ता घुमिरहेका छन् । कांग्रेस, माले, एमाले, माओवादी र पछि आएर ‘मधेसवादी’ पार्टीका आदर्शमा विश्वास गरेर, तिनमा आबद्ध भएकामा गर्व गर्ने लाखौं जागरुक नेपाली राजनीतिक समाजका सदस्यहरू अहिले के सोच्दै बसिरहेका होलान् ? तिनीहरू अझै पनि आफ्नो दलीय आबद्धताप्रति गर्व गरिरहेका छन् कि पश्चात्ताप ? यस लेखको प्रस्तावना चाहिं के छ भने, आजका दिनमा आम रूपमा कुनै पनि नेपालीलाई दलको कार्यकर्ता हुँ भन्दा लाज लाग्ने स्थिति छ । जब देशका लाखौं राजनीतिक सदस्य लज्जाको स्थितिमा हुन्छन् र बाँकी लाखौं तिनै राजनीतिकर्मीलाई सराप्दै बस्छन्, यस स्थितिले हामीलाई अन्ततः कता पुर्‍याउला ? ‘नयाँ नेपाल’ को सपनाले डेलिभरी गर्ने नेपाल यही थियो त ?

सबैले सहजै बुझ्ने विषय के हो भने, राजनीतिक दलको स्थापना नै देशका समस्यालाई समाधान गर्न र जनताका मुद्दालाई सम्बोधन गर्न भएको हुन्छ । तर धेरै वर्षदेखि सुरु भएर अहिले उत्कर्षमा पुगेको यथार्थ के हो भने, हाम्रा लागि दलहरू स्वयं नै समस्याका स्रोत भएका छन् । उदाहरणका लागि, देशमा भ्रष्टाचार बढ्नु समस्या हो, जसलाई सम्बोधन गर्ने अभियान चलाउनु र त्यही अनुसारका विधि तय गर्नु राजनीतिक दलको कर्तव्य हुनुपर्ने हो । तर हाम्रो परिस्थितिमा भ्रष्टाचार कसले बढाएको छ ? उत्तर सहज छ । देशमा सुशासन नभएको मुद्दालाई सम्बोधन गर्न राजनीतिक दल तम्सिनुपर्ने थियो । हाम्रो वास्तविकता के छ भने, सुशासनका प्रमुख दुस्मन नै राजनीतिक दल छन् ।

देशका राष्ट्रिय संस्था, विश्वविद्यालय आदि सबै आफ्नो मानक र कर्तव्यबाट हरेक महिना च्युत हुॅदै गइरहेका छन् । हाम्रा राजनीतिक दलहरू यस्ता समस्याको समाधानका लागि अहिले राजनीति गरिरहेका छन् कि यी समस्याका स्रोत तिनै हुन् ? उपर्युक्त तमाम बेथितिको स्रोत को हो, सर्वविदितै छ । नेपाल ट्रस्टसम्बन्धी काण्डदेखि खराब ठेकेदारको अभिभावकत्व आदिसम्मका उदाहरणबाट औसत कार्यकर्तालाई पनि प्रस्ट भएको हुनुपर्छ, उनीहरूको नेतृत्वले कसका लागि र कस्तो राजनीति गरिरहेको छ । यस्तो देख्दादेख्दै तमाम कार्यकर्ता किन तिनै दलमा त्यही नेतृत्व स्विकारेर बसेका छन् त ?

अब समाजमा कसैले आफूलाई राजनीतिक कार्यकर्ता भन्छ भने उसलाई प्रश्न गर्नुपर्ने भएको छ- तिमी केका लागि राजनीतिमा छाै ?

यसको ‘एम्पिरिकल’ जवाफका लागि बृहत् अनुसन्धान नै हुनुपर्ला, तर केही उत्तर सजिलै अनुमान गर्न सकिन्छ । पहिलो र सबैभन्दा महत्त्वपूर्ण जवाफ के होला भने, जसरी तिनका नेताहरू राजनीतिक आन्दोलनमा होमिँदा असल उद्देश्यबाट प्रेरित थिए र पछि शासक भएपछि ‘डिजनरेट’ भए, त्यसरी नै प्रायः कार्यकर्ता आफ्ना आदर्शबाट च्युत भइसकेका छन् । तिनीहरू आफै यसरी नैतिक रूपमा पतन भइसकेका छन्, अब तिनले असल र खराबको भेद छुट्याउनै सक्दैनन् । तिनका नेताको राजनीतिमा लाग्नुको उद्देश्यमा परिवर्तन आएजसरी नै ती पनि बदलिइसके । त्यसैले ती कार्यकर्ता निमुखा र निरीह होइनन् । (यहाँ सजिलोका लागि ‘कार्यकर्ता’ भनिएको हो । यसभित्र पार्टीका विभिन्न तहका सदस्य र स्थानीय संरचनाका पदाधिकारी पनि पर्छन् ।)

कुनै पनि ‘बिग्रेको’ व्यक्ति वा संस्थालाई बिनाकुनै हस्तक्षेप सुधार्न गाह्रो हुन्छ । त्यो हस्तक्षेप बाह्य वा आन्तरिक जे पनि हुन सक्छ । तर नेपालमा कुनै पनि हस्तक्षेपको तत्काल सम्भावना देखिँदैन । कार्यकर्ता आम रूपमा आफै उही ‘सिस्टम’ को अंग भइसके । एउटा बाह्य हस्तक्षेप भनेको चुनाव हो, जसले खराबलाई पाखा लगाउन सक्थ्यो । नेपालमा त्यो पनि हुनेवाला छैन । त्यसैले सबैजसो बेथितिको निकासका लागि मूल चिन्ता यो दुश्चक्रबाट कसरी निस्कने भन्ने नै हो । र, त्यस्ता दलहरू प्रभावशाली हुने वातावरण बनाउने, जो समस्याका स्रोत होइनन् । नत्र भने, तपाईं शिक्षामा सुधार कसरी अपेक्षा गर्नुहुन्छ, जब निजी विद्यालयको विसंगतिले फाइदा दलीय कार्यकर्तालाई गरिरहेको छ ? स्वास्थ्य क्षेत्रको बेथितिको स्रोत पनि सबैसामु छर्लंग छ नै ।

चाहे नेकपा होस् कि कांग्रेस, हरेक पार्टी कमिटीका बैठकका अजेन्डा कहिल्यै देशका, समाजका भएको सुन्नुभएको छ ? ती सबैको मूल ध्याउन्न आफ्नो गुट, आफ्नो पार्टीमा प्रभाव कसरी बढाउने भन्ने नै छ । पार्टीमा प्रभाव किन भने त्यसपछि राज्यको स्रोतमा आफ्नो पहुँच पुग्छ । यस्तो देख्दादेख्दै, आफू पनि त्यसैको अंग बनेर देशभरि छिरलिइरहेका दलीय कार्यकर्ता जति छन्, ती सबैले लज्जाबोध गर्नुपर्ने हो, आफू किन राजनीतिमा लागें भनेर । ती कार्यकर्ता वा पार्टी सदस्यलाई आफू यो भ्रष्ट प्रणालीको अंग भएको छैन भन्ने लाग्छ भने, तिनले अब आफैलाई प्रश्न गरून्- उनीहरू व्यक्तिगत रूपमा अर्थोक केही गर्न सक्ने क्षमता नभएर राजनीतिमा लागेका त होइनन् ? आफ्नो जीविकोपार्जन नै राजनीति भएका कारण त राजनीतिमै टाँसिइरहेका होइनन् ? नेपालको अहिलेको दुर्भाग्य नै यिनै लाखौं राजनीतिक कार्यकर्ता त होइनन्, जसले राजनीतिलाई शुद्धीकरण गर्नमा भन्दा भ्रष्टीकरण गर्नमा बढी योगदान दिएका छन् ?

नेकपा कार्यकर्ताका लागि त संघदेखि स्थानीय तहसम्म सत्ता हातमा छ, स्रोतमाथि पहुँच र पकड छ, जब राजनीति गर्ने उद्देश्य नै आजीविकामा (त्यो पनि अनैतिक ढंगबाट) परिणत हुन्छ, उनीहरूले अर्को चुनावसम्म आफ्नो नेतृत्वमाथि प्रश्न त्यसै पनि कम गर्ने होलान्; तर त्यो प्रतिपक्षी नामको कांग्रेस छ नि, त्यसका सभापति शेरबहादुर देउवाले चौबीस वर्षअघि पहिलो पटक प्रधानमन्त्री हुँदा नै यो जुनीका लागि ‘प्रतिपक्षी’ नेता हुने सबै नैतिक क्षमता गुमाएका हुन् । उनको बाँकी जीवन सत्ताका लागि भन्ने प्रस्ट भएकै वर्षौं भइसक्यो । नेपालको संसदीय राजनीतिको इतिहासमा प्रतिपक्षी दलका लागि राजनीति गर्न र अर्को चुनाव जित्न अहिलेजति अनुकूल परिस्थिति कहिल्यै थिएन ।

काण्डैकाण्डले भरिएका दुई वर्षमा देउवा स्वयंको विगत यसरी मिसिएर आयो, कांग्रेसले आफ्नो प्रतिपक्षी ‘स्पेस’ मा नैतिक दाबी गर्नै पाएन । तैपनि कांग्रेसमा देउवा नै अरूभन्दा बलिया किन देखिन्छन् भन्ने पनि प्रस्ट छ । उक्त दलका प्रायः कार्यकर्ता देउवाले प्रतिनिधित्व गर्ने ‘सिस्टम’ को हिस्सा बनिसके । उनीहरू राजनीतिमा रहनुको कारण नै अब बदलिइसक्यो । जब राजनीतिमा लाग्नुको कारण नै जीविकोपार्जन- त्यो पनि अनैतिक आयस्रोत मार्फत- हुन जान्छ, तब किन नभन्ने यो देशको दुर्भाग्य राजनीतिक दलका कार्यकर्ता हुन् भनेर ?

लेखकीय न्याय गर्न मात्रै भए पनि मधेसवादी दलबारे दुई पंक्ति लेखिहालूँ । सुशासन र आर्थिक मामिलामा उनीहरू कहिल्यै अरूभन्दा गतिला त्यसै पनि थिएनन् । त्यसमाथि, आफ्नो बाँकी रहेको संविधान संशोधनको एक मात्र राजनीतिक मुद्दामा उक्त मुद्दाकै प्रमुख विरोधी केपी ओलीसँग काँध मिलाउन गइसकेपछि उनीहरूले राजनीति किन गरिरहेका रहेछन् भन्ने प्रश्नै रहेन । मधेसका जनतासँग मुद्दा अझै होलान्, तर त्यसको प्रतिनिधित्व अब उपेन्द्र यादवदेखि राजेन्द्र महतो सम्मले गर्दैनन् । ठीकै भो, संविधान संशोधनलाई मागिखाने भाँडो बनाएर उनीहरूले पालैपालो पुनः सत्तास्वाद लिन पाउने भए । संशोधन सुन्नै नचाहनेलाई पनि खोजे जस्तो भयो -एकदुई मन्त्री पद दिएर त्यो सम्पूर्ण मुद्दा नै ‘डाइल्युट’ गर्न सक्नु अति सजिलो उपाय जो ठहर्‍यो ।

सभ्यताको विकासक्रममा – र आधुनिक राष्ट्र राज्य बनेपछिको केही शताब्दीको अनुभवमा -सधैं प्रमाणित विषय के हो भने, मान्छेको जात बिग्रेपछि आफै सुध्रिँदैन । किनकि उसलाई आफू बिग्रे जस्तै लाग्दैन । आफू बिग्रेको छु भनेर आत्ममूल्याङ्कन गर्न नसक्नु मान्छेको नैसर्गिक चरित्रमै पर्छ । त्यसैले नेतृत्व बिग्रियो भने त्यसलाई कार्यकर्ताले फेर्ने हो ।

जब कार्यकर्ता र नेताको नैतिक पतनको रफ्तार एउटै हुन्छ, तब उक्त देशको हालत अहिलेको नेपालको जस्तो हुन्छ । व्यक्तिगत कुराकानीमा प्रायः कार्यकर्ताले वर्षौंदेखि भन्दै आएका छन्, ‘के गर्ने, हाम्रा नेताहरू बिग्रे ! हाम्रो कोसिस तिनलाई सुधार्नेतर्फ छ ।’ तर सायद यथार्थ अर्कै छ । कार्यकर्ता पनि नेताजत्तिकै बिग्रिसकेका छन् । तसर्थ अब समाजमा कसैले आफूलाई राजनीतिक कार्यकर्ता भन्छ भने उसलाई प्रश्न गर्नुपर्ने भएको छ- तिमी केका लागि राजनीतिमा छौ? कान्तिपुर दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार