कार्तिक २८, २०८३ शनिबार November 14, 2026

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो रु ९० पर्छ। उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य रु सात हजार, मोटो चामल रु पाँच हजार र सोना रु पाँच हजार ६०० मा कम्पनीले उपलव्ध गराउदै आएको छ ।

सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा रु ६५, धारगाउँको रु ५६ र सालदाङसम्मको रु ९० पर्छ। सालदाङमा चामल पुर्याउन रु नौ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल रु सात हजार छ। ढुवानी भाडा चामलको मूल्यभन्दा रु दुई हजार बढी छ। निजी क्षेत्रबाट बिक्री गरिँदै आएको ३० किलो चामललाई ‘धो’ मा रु ६ हजार पर्छ भने तिन्जेमा रु सात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताइन्। रु सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ ।

हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ। चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए। पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म १८० क्विन्टल चामल ढुवानी गरिएको छ ।

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकामा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए। हिमपातका कारण ढुवानी गर्न नकिएको उनको भनाइ छ। त्यस्तै, छार्काताङसोङ गाउँपालिकाको ‘धारगाउँ’मा चामल ढुवानी गर्ने जिम्मेवारी लिएको नमूना ढुवानी सेवाका चेतकुमार शाहीले अहिलेसम्म ढुवानी गरेका छैनन्। सो ठाउँमा पनि ५०० क्विन्टल चामल ढुवानी गर्ने सहमति छ। यी सबै कम्पनीका बिक्री केन्द्र हुन् ।

कम्पनीले तल्लो डोल्पा, जगदुल्ला गाउँपलिकाको काइगाउँमा ५०० क्विन्टल, जुफालमा ३६० क्विन्टल र दुनैमा ५१० क्विन्टल चामल मात्र ढुवानी गरेको छ। सजिलै ढुवानी हुने ठाउँमा मात्र चामल पुर्याइएको छ। उपल्लो डोल्पामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन। ढुवानीको जिम्मेवारी लिएका ठेकेदारका लापरबाहीका कारण उपल्लो डोल्पामा चामल पुग्न नसकेको हो। सदरमुकाम दुनैमा चामल पर्याप्त उपलब्ध छ भने उपल्लो डोल्पामा ढुवानी नहुँदा समस्या भएको पेमा गुरुङले बताइन् ।

उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि अब हवाईमार्ग बाहेक अन्यमा सम्भावना नरहेको सर्वसधारण बताउँछन्। ठेक्का लिने र समयमा काम नगर्ने ठेकेदारका कारण उपल्लो डोल्पाका सर्वसाधारण मर्कामा परेको गुरुङले बताइन्। उपल्लो डोल्पाका तीन पालिकामा अधिकांश बस्तीमा उवा वर्षमा एक पटक मात्र फल्ने गर्दछ भने केही ठाउँमा गहुँ पनि फल्ने गर्दछ। अत्यधिक चिसो मौसम भएका कारण वर्षमा एक बाली मात्र पाक्ने गरेको हो। उक्त अन्नले तीन महिना पनि खाना नपुग्ने यहाँका स्थानीयवासी बताउछन् ।

जडीबुटीको भण्डारको रुपमा रहेका उपल्लो डोल्पामा अधिकांश भू–भाग शे फोक्सुण्डो राष्ट्रिय निकुन्जले घेरिएको छ। पशुपालन र जडीबुटी उपल्लो डोल्पाको आम्दानीको स्रोत हुन्। सोही आम्दानीबाट नै खाद्यान्नदेखि अन्य समस्या समाधान गर्नुपर्ने उपल्लो डोल्पाका सर्वसाधारणको बाध्यता रहेको छ। चीनको नाकाहुँदै खाद्यान्न ढुवानी हुँदै आएकामा दुई वर्षदेखि सो मार्ग कोरोनाका कारण बन्द छ। हाललाई दुनैबाट चामल ढुवानी गर्नुपर्ने बाध्यता छ ।

वर्षमा १५ दिनको लागि हाटबजार खुल्ने गरेको चीन र नेपाल तर्फको सिमाना कोभिडका कारण दुई वर्षदेखि बन्द छ। सुर्खेतबाट उपल्लो डोल्पा प्रतिकिलो रु ९० मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यान्न पुर्याउने गर्छ भने निजी क्षेत्रका व्यापारीले दुनैबाट उपल्लो डोल्पासम्म रु ८८ देखि रु १०० मा ढुवानी गर्छन। निजी क्षेत्रले उपल्लो डोल्पामा रु २४० सम्ममा प्रतिकिलो चामल खरिद गरेर खानुपर्ने बाध्यता छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
२०८३ कार्तिक २८, शनिबार
आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २८, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकता अस्पष्ट
२०८३ कार्तिक २८, शनिबार
सवारी दुर्घटना: पाँच वर्षमा तेह्र हजारको गयो ज्यान
२०८३ कार्तिक २८, शनिबार
हिमाली मुद्दामा नेपालको कूटनीतिक असफलता
२०८३ कार्तिक २८, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २८, शनिबार
मलेसियामा कार्यरत नेपालीहरूको श्रममन्त्रीसँग ७ बुँदे माग
२०८३ कार्तिक २८, शनिबार