काठमाण्डौंः राष्ट्रिय राजनीतिको प्रभाव गाउँ स्तरमा पर्न थालेको घटना नौलो भने होइन । हरेक बेला संघीय तथा प्रदेश सरकारमा राजनीतिक दलहरूले गरेको गठबन्धनको प्रभाव गाउँ स्तरमा सोझै झल्किने गर्दछ । केन्द्रमा पार्टीका प्रमुख नेताले विपक्षी पार्टीका विषयमा जे बोल्छ वा जे सहमति गर्छ सोही कुरा गाउँ स्तरका नेताको व्यवहारमा प्रस्ट देखिने गरेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका- २मा रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्थामा यसअघिका साधारण सभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने गरेकोमा यसपालि भने अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन भएको छ । त्यो पनि कांग्रेस र माओवादी गठबन्धन एकातिर छ भने, अर्कोतिर एमाले उम्मेदवार उभिएका छन् ।
अध्यक्षमा एमाले वडा कमिटी अध्यक्षसमेत रहेका खडक बोहरा र माओवादी केन्द्रका वडा उपाध्यक्ष प्रकाश बोहरा भिडेकाछन् । यसैगरी उपाध्यक्षमा एमालेका वडा कमिटी सदस्य वीरबहादुर बोहरा भिडेकाछन् भने, गठबन्धनका तर्फबाट कांग्रेस वडा कार्यसमिति सदस्य वीरबहादुर बोहरा(सोवेदार) मैदानमा छन् ।
अध्यक्ष र उपाध्यक्षमा आज मतदान भएको छ । ७ सय ७५ सेयर सदस्य रहेको सहकारी संस्थामा आज ५ सय ५२ जनाले मतदान गरेको युवा संघका केन्द्रीय सदस्य सूर्य बोहराले बताए ।
आज भएको मतदानको अन्तिम मत परिणाम राति साढे ८ बजे सार्वजनिक भएको छ । अध्यक्षमा २ सय ९८ मत प्राप्त गरी एमालेका खडक बोहरा विजयी भएकाछन् भने, उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश बोहराले २ सय ४१ मत प्राप्त गरेकाछन् । यसैगरी उपाध्यक्षमा पनि एमाले उम्मेदवार नै विजयी भएकाछन् । एमालेका वीरबहादुर बोहराले २ सय ६१ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी वीरबहादुर बोहरा (सोवेदार)ले २ सय ५४ मत पाएकाछन् ।
सहकारी संस्थाका अन्य पदाधिकारी भने, सर्व सम्मतिबाट चयन भएका छन् । जस अनुसार सचिवमा अर्जुनराम लावड, कोषाध्यक्षमा प्रेमसिंह बोहरा र सहसचिवमा पुष्पा बोहरा सर्वसम्मत चयन भएकाछन् । -न्यूज कारखाना
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया