असार २८, २०८२ शनिबार July 12, 2025

हिमपातले वार्षिक परीक्षा नहुँदै विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जाडो मौसमको सुरुवात भएसँगै मङ्सिर तेस्रो हप्ताबाट हिमाली जिल्ला मनाङमा यसवर्ष हिमपात हुन थाल्यो। माथिल्लो मनाङ र नार्पाभूमिमा बाक्लो हिमपात भएको छ।

चिसाले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ। गएको वर्षमा यो समयमा मनाङमा अन्तिम परीक्षाको नतिजा निकालिए पनि यसवर्ष परीक्षा नै लिन सकिएको छैन। आगामी फागुन–चैतबाट नयाँ शैक्षिक सत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो।

तर यसवर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षामात्रै सकिएको छ। वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन। मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपातअगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे। यस पटक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ।

ङिस्याङ गाउँपालिका–६, माथिल्लो मनाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज घिमिरेले मङ्सिर २२ मा परीक्षा सकाएर विद्यालय बन्द गरिएको बताए। ‘हिउँले चिसो बढेपछि गाउँपालिकामा बैठक बसेर यसवर्ष जाडोअघिको पढाइलाई टुङ्ग्याउन बाध्य भयौं’, उनले भने।

हिउँ नपरे फागुन १५ र परे चैत १ बाट विद्यालय खुला गर्ने निर्णय भएको छ। ‘कोरोना सङ्क्रमणले यस वर्ष साउनबाट शैक्षिक सत्र सुरु गर्नुपर्‍यो। गत वर्ष चैतबाट सुरु हुन्थ्यो’, उनले भने, ‘कोरोनाले शैक्षिक सत्र नै फेर्नुपर्‍यो।’

आधारभूत तहका विद्यालय मङ्सिर २० गतेबाटै बन्द गरिएको छ। यसवर्ष शैक्षिक सत्रको ४ महिना पछाडि धकेलिएको छ। कोरोनाले २०७७ मङ्सिरमा लिनुपर्ने वार्षिक परीक्षा २०७८ असारमा लिनुपरेको घिमिरेले बताए।

ङिस्याङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखा अधिकृत बाबुराम गैह्रेले माथिल्लो मनाङका सबै विद्यालय बन्द गरिसकिएको बताए। पुस १ गतेबाट लागू हुने गरी ४५ दिनको हिउँदे बिदा दिइएको छ। ‘मङ्सिर १७/१८ बाट नै हिउँ पर्न थाल्यो। प्रायः गोरखालीका बालबच्चा छन् यहाँ। हिउँ पर्न थालेपछि गाह्रो भयो, बच्चा लानुपर्‍यो भन्दै अभिभावक आउने र बालबालिका लिएर जान थाल्नुभयो। विद्यार्थीलाई रोक्न सकेनौं र हामीले परीक्षा रोक्न बाध्य भयौं’, उनले भने।

उनका अनुसार ङिस्याङ गाउँपालिकामा एउटा माध्यमिक विद्यालय, तीन वटा कक्षा १–७ सम्मको आधारभूत, एउटा कक्षा १–३ सम्मको आधारभूत र चार वटा कक्षा १–५ सम्मको आधारभूत विद्यालय छन्। उनले भने, ‘हिउँदे बिदा माघ १५ गतेसम्मको लागि गरिएको छ। त्यसपछि विद्यालय खुल्छ।’

स्थानीय तहले माघ १५ गतेसम्मको लागि विद्यालय बन्द गरे पनि चिसोका कारण पठनपाठन हुन नसक्ने र विद्यार्थी नआउने भएकाले बिदाबाहेक विकल्प नभएको उनले बताए। विद्यालय बिदा भएसँगै मनाङका शिक्षकले अन्य समय विद्यालय प्रशासन खोलेर बस्ने गरेको बताउँछन्।

नार्पाभूमि गाउँपालिकाको फू गाउँस्थित फू आधारभूत विद्यालय मङ्सिर १५ गतेदेखि नै बन्द भएको शिक्षक कृष्णप्रसाद अधिकारीले बताए। उनले भने, ‘गाउँमा बस्न सक्ने अवस्था छैन। चिसोले सबै तल झरिसक्नुभएको छ, विद्यालय बन्द गरेका छौं।’ उनका अनुसार नारमा रहेको आधारभूत विद्यालय पनि बन्द छ।

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले चामे गाउँपालिकाले हिउँदे बिदा पुस १५ गतेदेखि माघ १५ गतेसम्मलाई मात्रै तोकेको बताए। गाउँपालिकाले अघिल्ला वर्षमा ५० दिन तोकेको थियो। ‘कोभिडले विद्यालय चलाउन सकेनौं। गत जेठ ३१ पछिको बाढीपहिराेले विद्यालय भवन बगाउँदा अझ लामो समय विद्यालय खुलाउन सकेनौं। बाढीपहिराेले जलविद्युत् बगाउँदा अनलाइन कक्षा पनि चलाउन सकेनौं’, प्रधानाध्यापक कोइराला भन्छन्, ‘बल्ल–बल्ल तीन महिना जति पढायौं। फेरि यहाँको चिसोले बन्द गर्नुपर्‍यो।’

उनका अनुसार कक्षा ८, ९ र १० को परीक्षा शनिबारदेखि सकिँदैछ। आधारभूत तहको परीक्षा यसअघि नै सकिएको छ। ‘तीन महिना जति पढाए पनि परीक्षा भने अर्धवार्षिक तरिकाले ४० पूर्णाङ्कको लिएका छौं। नतिजा सार्वजनिक गरेर विद्यालय बन्द गर्ने तयारी गरेका छौं’, उनले भने।

उनका अनुसार पिउने पानी र सडकमा पानी जमेर बरफ बनेको छ। मनाङमा जनजीवन कष्टकर बनेको छ। ‘केही हुन्छ कि भनेर अलि अलि ढिला गर्‍यौं। तर साना बच्चाको प्रस्तुतिले कतै हामीले बालबालिकालाई सजाय त दिएनौं भन्ने सोचेर आवासमा बस्ने बालबालिकालाई पनि समस्या हुनसक्ने भएकाले छिटोछिटो परीक्षा गर्‍यौं’, उनले भने।

चामे गाउँपालिका शिक्षा तथा खेलकुद शाखा संयोजक इन्द्रजङ्ग गुरुङका अनुसार पुस १५ देखि माघ १५ गतेसम्म हिउँदे बिदा गरिएको छ। पुस १५ मा विद्यालयले अर्धवार्षिक परीक्षा सक्ने उनले बताए। ‘हिमपातले असर गरेन भने माघ १६ गतेबाटै खुला गर्छौै। हिमपातले असर गर्न थाल्यो भने फागुन १ गतेबाट जसरी पनि विद्यालय खुलाउनु पर्ने हुन्छ’, उनले भने।

नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक पदमराज पन्थीले जाडो बिदा पुस १५ गतेबाट हुने बताए। उनले भने, ‘जाडो बिदा खासगरी ११ गतेबाट हुन्छ। स्थानीय बिदा ५ दिन जोडेर १६ गतेबाट लागू हुने गरी जाडो बिदा तोकेका छौं।’ उनका अनुसार फागुन १ गतेबाट पठनपाठन सुरु हुनेछ। अहिले पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको उनले बताए।

शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख मोतीप्रसाद चापागाईंले चिसो बढ्दै गएपछि मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका सबै विद्यालय बन्द गरिएको बताए। चामे र नासोंमा परीक्षा अन्तिम अन्तिममा पुगेको र विद्यालय बन्द हुने क्रममा रहेको उनले बताए। उनले भने, ‘हिमपातसँगै चिसो बढ्न थालेको छ। चिसोले बस्न नसक्ने अवस्था भएपछि परीक्षा सकाएर स्थानीय तहले जाडो बिदा दिएको छ।’

शिक्षा नियमावलीमा ४५ दिन विद्यालय बन्द गर्न मिल्छ। यसमा ५ दिन स्थानीय बिदा लिने व्यवस्थाअनुसार बिदा बढाइएको छ। तर, विद्यालय खुल्ने, खुलाउने र बन्द गर्ने निर्णय पछिल्लो समय स्थानीय तह र यस मातहतमा रहेकाले शिक्षा शाखाले प्रधानाध्यापकको बैठकमार्फत निर्णय गर्ने गरेका छन्।

मनाङमा चार माध्यमिक, नौ आधारभूत र १३ प्राथमिक (आधारभूत) गरी कूल २६ वटा सामुदायिक विद्यालय छन्। शिक्षक टाढाटाढाबाट आउने/जाने गर्नुपर्ने भएकाले बिदाको समयबाहेक अन्य समयसमेत थप गरी मनाङको पढाइ प्रभावित हुँदै आएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया