श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण पनि सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धुप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुईवटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिका बारेमा विशेष खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा अहिले लोप भइसकेको छ । त्यसबेला भक्तजनले पनि आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउँथे । यो परम्परा पनि अहिले लोप भइसकेको छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको थियो ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

सोमबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिन्छ । बिहान १२ बजेसम्म एउटा ढोका भने खोलिन्छ । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।

महादेवडाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउनुहुन्छ । बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ । बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार