असार २८, २०८२ शनिबार July 12, 2025

‘हाम्रो समृद्ध बागलुङ’ स्थानीय पाठ्यक्रम लागु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्लाको बागलुङ नगरपलिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरका कक्षा १ देखि ८ सम्म लागू गर्नेगरी ‘हाम्रो समृद्ध बागलुङ’ नामक पाठ्यक्र तयार गरेको हो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम २०७८ लागू गर्ने तयारीमा रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले पाठ्यक्रम नगरका सबै विद्यालयमा पठाउने तयारी गरेको बागलुङ नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्थानुसार आफ्नै पाठ्यक्रम तयार पारेको हो, अब त्यसै आधारमा पाठ्यपुस्तक निर्माण गरिनेछ”, उहाँले भन्नुभयो, “बागलुङ नगरपालिकाका सम्पूर्ण विद्यालयमा लागू गर्ने अभिप्रायले पाठ्क्रम विकास गरिएको हो, जसकारण नगरपालिकाको पेशा, व्यवसाय, मूल्य, मान्यता, कला र संस्कृतिको पहिचान र तिनको संरक्षण र संवद्र्धन गर्ने कार्यलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

नगरपालिकाले पाठ्यक्रम निर्माणका लागि आर्थिक वर्ष २०७८÷७९ मा रु तीन लाख विनियोजन गरेको र त्यही बजेटबाट पाठ्यक्रम तयार गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । “नगरभित्रका विद्यार्थीलाई बागलुङ नगरपालिकाको भूगोल, पर्यटन, संस्कृति र वातावरणलगायतको विषयमा जानकारी हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “आफ्नो मतृभूमिका बारेमा जानकारी लिई यसको विकास गर्ने भावना जगाउन पाठ्यक्रमले सहयोग गर्नेछ, यसैका आधारमा शिक्षण क्रियाकलाप तथा पाठ्यपुस्तक बनाएर अध्यापन गराउन जरुरी छ । ”

नगरपालिकाको कला, संस्कृति, भूगोल, खानी, जडीबुटी, कृषि, वन पैदावार र प्राकृतिक स्रोतको विषय पाठ्यक्रमले निर्दिष्ट गरेको छ । पाठ्यक्रम नगर शिक्षा अधिकारीका संयोजकत्वमा चार जना लेखनविज्ञ समूह, पाँच सल्लाहकार समूह र सात स्थानीय पाठ्यक्रम निर्माण समितिले पाठ्क्रम तयार गरेको हो ।

स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका सम्भावनालाई विषयवस्तु बनाएर पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न सक्ने संवैधानिक व्यवस्थाअनुसार नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा स्थानीयवासीदेखि राष्ट्रिय विज्ञको रायसुझाव लिइएको थियो । यसअघि जिल्लाको तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम हाम्रो तमानखोला र हाम्रो बरेङ नामक पाठ्क्रम तयार पारिसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया