श्रावण ७, २०८२ बुधबार July 23, 2025

कपास विकास समितिको जग्गा वर्षौँदेखि अतिक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो ।

उक्त जग्गामध्ये १३८ बिघा १५ कठ्ठा सरकारले मुक्त कमैयालाई वितरण गरेको छ । बाँकी जग्गा राजनीतिक पहुँचका आधारमा स्थानीय बासिन्दाले अतिक्रमण गरी भोगचलन गर्दै आएका छन् । जग्गा अतिक्रमण गरी बसेका स्थानीयले २०६० सालसम्म जग्गा प्रयोग गरेवापत सरकारलाई राजस्व बुझाए पनि बुझाउने गरेको पाइएको छैन । आठ सय २५ बिघामध्ये सरकारले पाँच–पाँच कठ्ठाका दरले ५५५ मुक्त कमैया परिवारलाई जग्गा वितरण गरेको कपास विकास समितिका कार्यकारी निर्देशक बुद्ध थापा घर्तीले जानकारी दिनुभयो ।

कपास विकास समितिको टोली कुम्भर पुगी जग्गा उपभोग गर्दै आएका शेयर किसानसँग कपास खेतीको सम्भावना र जग्गाका बारेमा छलफल गरेको छ । व्यावसायिकरूपमा कपासको उत्पादन गर्ने योजना बढेकाले स्थानीयसँग सहमति गरी उक्त जग्गा फिर्ता लिने प्रक्रिया अघि बढाइने घर्तीले बताउनुभयो । समितिले किसानको सहयोगमा कपास उत्पादन, अनुसन्धान, कपास खरिद तथा प्रशोधन, प्रशोधित कपास कपडा उद्योगलाई बिक्री गर्ने उद्देश्य लिएको छ ।

कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा सरकारले उक्त समिति गठन गरेको थियो । तत्कालीन समयमा एक हजार २०० हेक्टर बन क्षेत्र फँडानी गरी सरकारले कुम्भर फार्मको नाममा ५५० हेक्टर जग्गा उपलब्ध गराएको थियो । उक्त जग्गा कपास विकास समितिलाई उपलब्ध गराइए पनि हालसम्म सरकारले जग्गाको लालपुर्जा भने समितिलाई उपलब्ध गराएको छैन । कपास खेती गर्ने जग्गामा स्थानीयले धान, गहुँ, मकै, मुसुरो र तोरीबाली लगाउँदै आएका छन् ।

आफूले उपभोग गर्दै आएको जग्गा आफ्नो नाममा सरकारले उपलब्ध गराउनुपर्ने कपास विकास शेयर किसान समितिका अध्यक्ष बुद्धि थारूले बताउनुभयो । समितिसँग अहिले बाँकेको खजुरा गाउँपालिकामा १० बिघा जग्गा, कार्यालय भवन कपास प्रशोधनशाला तथा ६ गोदाम घर, पाँच कर्मचारी आवास गृह र आवास गृह छ । यसैगरी बर्दियाको मधुवन नगरपालिमामा तीन बिघामा पक्की आवास गृह, गोदाम घर, कार्यालय भवन, बर्दियाकै बढैयाताल गाउँपालिकाको जमुनीमा पाँच बिघा १२ कठ्ठामा पक्की आवास गृह, गोदाम र कार्यालय भवन छ । दाङको तुलसीपुर उपमहानगरपालिकाको टरीगाउँमा तीन बिघा तारबार गरी राखिएको छ । मधुवन र जमुनीमा रहेको जग्गा तथा संरचनामा अहिले सशस्त्र प्रहरी बल बस्दै आएको कार्यकारी निर्देशक थापा घर्तीले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र विश्व खाद्य तथा कृषि सङ्गठनको सहयोगमा २०३८ सालमा बर्दियाको कुम्भरमा स्थापना भएको यो समितिसँग मेसिनरी उपकरण पर्याप्त भए पनि कपासको अभावमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छैन । बाँकेकोे, खजुरास्थित प्रधान कार्यालयमा तत्कालिन बिद्रोही नेकपा माओवादीले बम विस्फोट र आगजनी गर्दा करिब रु पाँच करोड ९३ लाख बराबरको क्षति भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार