श्रावण ८, २०८२ बिहिबार July 24, 2025

महाकालीमा पक्की पुल बनाउन सम्झौतापत्रमा हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः भारत सरकारको अनुदान सहयोगमा महाकाली नदीमा पक्की पुल निर्माण हुने भएको छ । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गरी महाकालीमा गाडी गुड्ने पुल निर्माण हुन लागेको हो । पुल निर्माणसम्बन्धी सम्झौतापत्रमा नेपाल र भारतबीच आज हस्ताक्षर भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उक्त सम्झौतापत्रमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो ।

पुल सञ्चालनमा आएपछि नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार आवागमन सुदृढ हुनाका साथै दुवै देशका सीमा क्षेत्रका समुदायबीचको सम्पर्कलाई थप मजबुत बनाउने विश्वास भारत सरकारले गरेको छ ।

नेपाल र भारतबीचको प्रगाढ मैत्रीको सेतुको रुपमा रहने उक्त पुलले वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन र दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार सम्पर्क सञ्जाल विस्तार गर्ने नीतिअनुरुप रहेको तथा पुल निर्माण चाँडै सुरु गरिने यहाँस्थित भारतीय दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया