अहिले जे भइरहेको छ मुलुकमा त्यसले उथलपुथल नै ल्यायो मनमा। यो मनले अनायास सम्झ्यो ’दि क्य्रान्बेरिज’ भन्ने ब्यान्डले १९९४ मा प्रस्तुत गरेको एउटा गीत– जाम्बी। यो शब्द हाइटी भन्ने देशको लोक साहित्यबाट निस्केको हो। ब्रिटिस कवि रबर्ट साउदीले प्रयोग गरेपछि प्रचलनमा आयो।
यसको अर्थ हो–आफ्नो शक्ति नभएको, आफ्नो बोली नभएको व्यक्ति। अन्तको आशीर्वादबाट बाँचेको। अन्तको लाचार छायाँ या दास। यो शब्दको पूरापुर प्रयोग गरेर लेखिएको गीतको अनुदित केही लाइन यस्ता छन्–
तिम्रो टाउकोमाथि यी लडिरहेका छन्
बन्दूक र गोला बारुद लिएर
आमाको हृदय रोएको छ
द्वन्द्व , मारामार, काटाकाटबाट
फेरि शान्ति हुन्छ
को झुक्किएको छ?
अर्को लम्पसार बन्छ
अनि अर्को शिशु बिस्तारै लगिन्छ
तिम्रो टाउकोमाथि लडिरहेका यी
अन्तका दास हुन्, दास हुन्, दास हुन्।
राजनीतिशास्त्रीहरूले यो जाम्बी शब्दलाई ग्रिसबाट निस्केको प्रजातन्त्रसँग जोडेर एउटा संयुक्त शब्द बनाएका छन्– जाम्बी प्रजातन्त्र। जाम्बी जोडिनेबित्तिकै प्रजातन्त्रको अर्थ बेग्लै भएको छ। यसले एउटा विभत्स राज्य सञ्चालनको स्वरूप वर्णन गर्छ।
शक्तिको स्रोत जनता र जनताको हितका लागि जनतासँग गरिएको कबुलियतनामाअनुसार गरिने शासन पद्धति जुन प्रजातन्त्र हो त्यो जिउँदो लास भनेजस्तै निर्जीव प्रजातन्त्र बन्छ। दासहरूले हाँकेको तर मुलुकभित्र अन्तको लागि तानाशाह बनेर जनताको दमन गरेर सञ्चालन गरेको प्रजातन्त्र। यस्तो प्रजातन्त्रमा वैधानिकताका लागि धाँधली गरिएको कर्मकाण्डी चुनावबाहेक अरू केही बाँचेको हुँदैन।
यो प्रजातन्त्रको अत्यन्त विभत्स स्वरूप हो। यो स्वरूप कस्तो होला ? निश्चितरूपमा यो एउटा कहालीलाग्दो विभत्सता हो। यसका अनेक प्रकार छन्। अर्थात् अनेक राजनीतिक प्रणालीका जाम्बी प्रजातन्त्रहरू छन्। मुलुकपिच्छे फरक छन् तर ‘कन्टेन्ट’ या सार एउटै हो। भाइरस भनेको त भाइरस नै हो। यसको अनेक प्रजाति निस्किएको जस्तो अनेक स्वरूपका छन् यी प्रजातन्त्रहरू पनि।
नेपालमा यस्तो जाम्बी प्रजातन्त्र कसरी आयो ? त्यसलाई हेरौँ। ऐतिहासिक क्रमबद्धतामा जब व्यक्तिगत शासन चल्न नसक्ने भयो जसरी हाम्रो राणा शासन फालियो तब ‘निर्देशित प्रजातन्त्र’ मा आइपुग्यो शासन पद्धति। अर्थात् हुकुमतः एक व्यक्तिको हातमा नै रह्यो प्रजातन्त्रको आवरणमा। तर त्यहाँ राष्ट्रिय स्वार्थको सम्झौता गरिँदैनथ्यो। सर्वोपरि मुलुक नै हुन्थ्यो।
मर्यादित सीमा पनि हुन्थ्यो। एउटा ’बटम लाइन’ थियो जसभन्दा तल कुनै हालतमा जाँदैनथे। अहिले एउटा व्यक्तिले आफैँ वा अरू दुई या तीनसँग मिलेर शासन चलाउने प्रजातन्त्रको अनावरण गरेका छन्। सब हाकाहाकी नै छ। बटम लाइन नै छैन। अनि प्रश्न उठ्छ– राष्ट्र रहने कि नरहने? यो समग्रतामा जाम्बी प्रजातन्त्रलाई अलिकति हेरेर विकृत स्वरूपको विभत्सतातर्फ लागौँ। यसका लागि पहिले सर्सर्ती वैधानिकता भनेको के हो र यो कसरी प्राप्त हुन्छ भन्ने कुरा हेर्नुपर्ने हुन्छ।
एकदम सरल र छोटकरीमा भन्नुपर्दा वैधानिकता भनेको शासक र शासितबीचको विश्वास हो। शासकको यो विश्वास हो कि राज्य गर्ने उसको हक छ। आमशासितको त्यस्तै विश्वास हो कि उसले हामीमाथि शासन गर्न पाउँछ। यो विश्वासमा बलियो हुन्जेल सन्तुलन ठीक कायम हुन्छ। जब यसमा ह्रास आउँछ असन्तोष सुरु हुन्छ। त्यो असन्तोषले एउटा विन्दु पार गरेपछि भद्रगोलको सुरुवात हुन्छ।
शासक झन् दमनकारी हुँदै जान्छ। यस प्रयोजनका लागि उसको रूपान्तरण हुन्छ एउटा ‘रइस दास’ मा, मुलुकको रूपान्तरणको नाम लिएर। झनझन रइस बन्दै जान्छ राज्यका अङ्गहरूलाई व्यक्तिगत प्रयोजनका लागि रूपान्तरण गरेर। अनि मुलुकको स्वार्थ र राज्यको सम्पत्ति कानुनी आवरणमा बेच्दै जाने सिलसिलाले तीव्रता लिन्छ। यो आवेगले हाँकेको मान्छेको विवेक हुँदैन। चाहे देवभूमि भोलि रणभूमि नै किन नबनोस्?
यस प्रयोजनका लागि आमशासितको जति विश्वास गुम्दै जान्छ त्यही अनुपातमा सत्तामा पुग्न र टिक्न अन्तको दास बन्नुपर्ने अनिवार्य हुन्छ। दास बनेरमात्र पनि नपुग्ने। मालिकहरूसँग पनि सन्तुलन कायम राख्न सक्नुपर्ने। आमशासित न्युटनको तेस्रो नियम लागु भएसरह त्यही अनुपातमा प्रतिकार गर्न थाल्छ। हो, यस्तो प्रतिकार कति व्यक्त भएका होलान्, कति अव्यक्त। चन्द्र शमशेरको ‘हा राम चन्द्र शमशेर वडा प्रतापी’ शैलीबाट जनमत बनाउने पालित बुद्धिजीवीको अहिलेको शासकले त्यसरी नै परिष्कृत स्वरूपमा उपयोग गरेका छन्। यसरी सडकमा द्वन्द्व पोखिन्छ।
अहिलेको युगमा यस क्रमको अन्तिम अवस्था हो ज्याम्बी प्रजातन्त्र जहाँ रइस बनेका शासकहरूले राज्य गर्ने वैधानिकताका लागि चुनावलाई केवल दूषित र कर्मकाण्डी आवरणमा परिणत गर्दे जान्छन्। र, आमजनता असहाय र विकल्परहित अवस्थामा पुग्छन्। अन्ततः ‘जो आए पनि कानै चिरेका’ भन्ने उखानलाई चरितार्थ गरेको अवस्था बन्छ। अर्थात्, दुइटै लुटेरा र दास भएको अवस्थामा जसलाई छाने पनि त लुटेरा र दासलाई छान्ने त हो नि? यो पनि यदि त्यतिसम्मको अवस्था बाँचेको छ भने।
वैधानिकताको विभिन्न स्वरूप छन्, विभिन्न मार्ग या विधिबाट प्राप्त भएका छन्। पहिलो स्वरूप हो राजतन्त्र। राजतन्त्रलाई राज्य गर्ने वैधानिकताको सुरुवातका रूपमा लिन सकिन्छ, वैदिक वाङ्मयबाट कुरा गरे पनि या इतिहासपारिबाट हेरे पनि।
राजतन्त्र धर्मसँग गाँसिएको छ वैधानिकताका लागि। युरोपमा चर्च र राजतन्त्र जस्तै हामीकहाँ पनि धर्माधिकारले राजधर्म भनेर राजतन्त्रलाई टेवा दिने गरेका हुन्। १९औँ शताब्दीको उपनिवेशवादी युगमा युद्ध जितेर जमिन लिने क्रममा फैलिँदै गएको राजतन्त्र समुद्रपारि पर–परसम्म कोलोनी बनाएर शोषण गर्ने आर्थिक मान्यताको फैलावट बन्यो।
यसमा लामो ऐतिहासिक व्याख्या नगरेर सिधा नेपालको कुरा गर्दा पृथ्वीनारायण शाहले जमिनका लागि गरेको विस्तारले नेपालको एकीकरण भयो १७६९ मा भक्तपुरको विजयपश्चात। राष्ट्र बन्यो जब उनले ठूलो दूरदर्शिता देखाए त्यसपछिका ६ वर्षहरूमा।
तिब्बतको सङ्कटपछि भारतले नेपालको प्रजातान्त्रिक संघर्षलाई मुकाममा पुग्न नदिएर १९५० को सन्धि हात पारी नेपालको पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री मोहनशमशेरलाई बनाएर २००७ सालमा सुरुवात भएको नेपालको प्रजातन्त्रमा यो प्रष्ट भइसकेको कुरा थियो कि राज्य गर्ने भनेको जनताको प्रतिनिधिहरूले हो, राजाले होइन।
राज्य शक्तिको प्रयोगको कुराले नै पहिलो चुनाव हुन सात वर्ष लाग्यो। तर अपहरण गरे राजा महेन्द्रले १८ महिनापछि नै। यसमा भारतको अव्यक्त टेवा रहेको अहिले प्रष्ट छ। यसपछिको राजाको सक्रिय नेतृत्वमा निर्देशित प्रजातन्त्रको अभ्यासको अवधिमा नेपालको पूर्वाधारको विकास भएको हो।
२००७ सालको प्रजातान्त्रिक मन्त्रिपरिषद्मा भारतीय आधिकारीको उपस्थितिबाट सुरु भएको राज्य सञ्चालनको निरन्तरता र उपनिवेशवादी शोषणको मान्यतालाई परिष्कृत स्वरूपमा कायम राख्ने भारतीय चाहनाले नेपालको अर्थ राजनीतिमा विभिन्न भंगालाहरू अनवरत निस्कन थाले।
यता राजतन्त्रले समयको पदचाप बुझ्न सकेन जसले गर्दा समयसँग लयबद्ध भएर पावर सेयरिङ अर्थात शक्ति बाँडचुँड गरेर जान ढिलो भयो। यसले गर्दा राजनीतिले प्राकृतिक प्रक्रियामा कहिले पनि जान पाएन। अनि थेग्रिन सकेन। परिणति बन्यो सधैँको असन्तुलन।
बिपी कोइरालाले २०३७ सालको सुरुमा मलाई दिएको एक लामो अन्तर्वार्तामा आफ्नो राष्ट्रिय मेलमिलाप नीतिको व्याख्या गर्ने क्रममा मूलतः दुइटा कुरा भनेका थिए। पहिलो, शक्तिको बाँडचुँड। दोस्रो, अधिनायकवाद। उनले भने– ‘राजाले पावर सेयरिङ त गर्नैपर्छ।
आज होइन, कालान्तरमा राजाको त्यही अति उच्च स्थान हो वेलायताको रानीको जस्तो।’ अधिनायकवादबारे उनी प्रष्ट थिए र भने– ‘आधुनिक इतिहासको अनुभव के भएको छ भनेदेखि जहाँ अधिनायकवादी सम्राट भन्दा जनताबाट उठेर अधिनायकवादी भएका साधारण व्यक्तिहरूको संख्या धेरै छ।
जब समाजवादमा, समाजवादी सरकार भएको ठाउँमा त राजतन्त्र सहयोगात्मक सम्बन्धमा सहयोगी भएर रहन सक्छ भने हाम्रो प्रजातन्त्रमा राजा र जनता किन मिलेर जान किन नसक्ने?’ उनको ठहर थियो– ‘राजाबाट राजतन्त्रको स्थायित्वका लागि जनपक्षसँग मिल्नुपर्छ। न राजाले जन पक्षसँग मिल्न चाहे, न बहिरी शक्तिले मिल्न दिए। नाकाबन्दी र २०४६ सालको जनआन्दोलनको जरिया भारतले ‘डटेड लाइन’ मा सही गराउन चाह्यो। राजा वीरेन्द्रले राष्ट्रिय स्वार्थसँग सम्झौता गरेर सक्रिय राज हुन चाहेनन्। बरु संवैधानिक राजा बने।
यहाँनिर अब फेरि वैधानिकताको कुरो प्रासङ्गिक हुन आउँछ हाम्रो छलफलमा। सक्रिय राजतन्त्र सकिएपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने। मलाई लाग्छ– नेपालको इतिहासमा त्यो बेलामा कृष्णप्रसाद भट्टराईको जुन राज्य गर्ने वैधानिकता थियो त्यस्तो वैधानिकता नेपालको इतिहासमा कसैले पनि आजसम्म प्राप्त गर्न सकेको छैन।
सुरुमै भनेजस्तै अभूतपूर्व विश्वास रह्यो शासितको नयाँ शासनको अभिभारा लिएका भट्टराईमा। उनी चुनावबाट आएका पनि थिएनन्। आमजनतामा कहिलेकहीँ यस्तो विश्वास सागरमा आउने छालसरह माथि उठ्छ। भट्टराईले त्यो विश्वासको दुरूपयोग गरेनन्। संविधान जारी गराएर त्योअनुसार चुनाव गराएर गिरिजाप्रसाद कोइरालालाई सत्ता सुम्पे।
नेपाललाई जाम्बी प्रजातन्त्रको बाटोमा लैजाने कामको सुरुवात गिरिजाबाबुले गरे। प्रजातन्त्र बलियो हुने भनेको प्रजातान्त्रिक संस्थाहरूलाई बलियो पारेर हो भन्ने कुरा जुन उनको दाजु बिपी कोइरालाले सधैँ आत्मसात् गरे त्यसको ठीक विपरीत गए गिरिजाबाबु। न सोच, न धारणा, न दृष्टिकोण रह्यो उनको। रह्यो एउटै– कति चाँडो कसरी भ्रष्टाचार गरेर पैसा कमाउने। एकलव्यसरह लागे उनी यसमा जनता र विकासको नाम लिएर राज्य शक्तिको दुरूपयोग गरेर समाजको हितमा चोट हानेर कसरी व्यक्तिको हितका लागि मुलुकको स्रोत र साधनको सट्टापट्टा या विनिमय गर्ने।
यसका लागि राज्यका संस्थाहरू भत्काए, बिगारे र सोका लागि ऐन नियम बनाए। अन्तर्घातदेखि राष्ट्र घात, एयरपोर्ट सुन तस्करीलाई बढाबढ गरेर दिनेदेखि सरकारी पदमा ‘प्राइस ट्याग’ लगाउनेसम्मको काम गरे। सिस्टमले धान्न नसक्ने हुँदै गयो। शासन अस्तव्यस्त हुँदै गयो। यस प्रवाहको अर्को किनारा बन्यो विदेशीको गुलामी गर्नु सत्ता राजनीतिका लागि। यसरी उनले दास बन्ने र भ्रष्टाचार गर्ने राजनीतिलाई नै मूल प्रवाह राजनीति बनाए मुलुकको।
मध्यावधि चुनावबाट सत्तामा आएका कम्युनिस्टहरूले गिरिजाबाबुलाई पनि उछिने। यो मूल प्रवाहमा अरू विकृतिका डुङ्गुर थपे। राजनीति अझ प्रगाढ संयोजन बन्यो– दास नीति र द्रव्य नीतिको। यस क्रममा राजा वीरेन्द्रको वंश नाश, राजा ज्ञानेन्द्रको महेन्द्रपथको यात्रा र भारतले गराइदिएको सात राजनीतिक दल र माओवादीबीचको समझदारीअनुसार ‘सुरुङ युद्ध’ बाट निकालिएका माओवादीरूपी हतियारको प्रयोगबाट राजतन्त्र फालियो। ब्रिटिस उपनिवेशवादी परराष्ट्र नीतिको निरन्तरतालाई अवलम्बन गर्दै आएको भारतले नेपालको आर्थिक र राजनीतिक निर्णयमा आफ्नो एकाधिकार प्रभाव ठानेकामा राजतन्त्र फाल्ने बेलामा अमेरिका र युरोपियन युनियनको पनि निर्णायक सहयोग आवश्यक रह्यो।
राजतन्त्र सधैँ रहने संस्था होइन। इतिहासको प्राकृतिक प्रक्रियाबाट विस्थापित हुँदै जान्छ। भारतमा मात्र कुनैबेला ५६५ राजा थिए। अहिले विश्वमा नै ४३ मात्र छन्। तर नेपालमा राजतन्त्र ऐतिहासिक परिवर्तनको क्रमबाट विस्थापित भएको होइन। जबर्जस्ती बलमिच्याइँ गरिएको हो। यहाँनेर फेरि वैधानिकताको कुरो पनि आउँछ। त्यसको अहिले कुनै अर्थ नहोला। क्युबामा क्यास्ट्रो आएजस्तो गरेर माओवादी आएका होइनन्। क्यास्ट्रोले कहिले चुनाव गराएनन्। यसबारे प्रश्न गर्दा उनको जवाफ थियो– क्रान्तिकारीहरूलाई लागि चुनावमा जाने फुर्सद हुँदैन। तर पनि क्यास्ट्रोको राज्य गर्ने वैधानिकतामा कहिल्यै प्रश्न उठेन। कारण हो– शासक र शासितको विश्वासमा ह्रास आएन।
राजतन्त्र फालिएपछि क्रिस्चियन धर्मको प्रचार र होली वाइनको सेवन बढ्यो। यसमा लागेका पालित नेपाली बुद्धिजीवीहरू पनि अपार धनी भए। भारतको पकड नेपालमा पहिले भन्दा बढ्यो, यी दुर्बल नेताहरू जो नयाँ शासक बनेर आए तिनीहरूलाई आफ्नो गीतको बोलमा नचाउन सक्दा। मुलुक एक किसिमको ‘प्रोक्सी रुल’ तिर गयो। यसले विभत्स स्वरूप बनेको जाम्बी प्रजातन्त्रले असन्तुलनको ज्वारभाटा झन् बढायो।
हिमालयपारिबाट तल नझरेका चिनियाँहरू भारतीय बोर्डरमा आइपुगेका छन् अहिले काम गर्न। यो सन् १९६० दशकको अवस्था भन्दा फरक रह्यो जुनबेला अमेरिकाले तिब्बतमा गोप्यरूपमा नेपालको भूमि प्रयोग गरेर खम्पाहरूलाई हातहतियारले सुसज्जित गरेको थियो। अमेरिकी राष्ट्रपति निक्सनको सन् १९७२ चीन भ्रमणपश्चात् भएको परिवर्तनले भियतनाम युद्ध अन्त्य ग¥यो भने यता खम्पा सशस्त्रीकरण पनि।
गणतान्त्रिक नेपालको परराष्ट्र नीति भन्ने नै रहेन। शासकको व्यक्तिगत प्रयोजनका लागि केन्द्रित भयो। कूटनीति भनेको झुटनीति बन्यो। जसको सरकार होस् एउटै बोलीमा अडिग रहनुपर्ने परराष्ट्र नीति आन्तरिक राजनीतिक पाखण्डताको विस्तारित स्वरूपमा रूपान्तरित भयो। गिरिजाबाबुले सुरु गरेको जाम्बो प्रजातन्त्रको बाटोमा एमालेलाई पनि जिते माओवादीले।
प्रचण्ड गोप्यरूपमा भारतीय दूतावास पुग्छन्, अनेकौँ पटक। विभिन्न बहानमा भारतीय खुफिया अधिकारी भेट्न विदेश पुग्छन्। यता भारतको विरोधमा सिंहदरबार घेर्न जान्छन् र काठमाडौँ जाम गर्छन् छ दिनसम्म। सांसद् खरिद गरेर सत्ता टिकाउन ५० करोड माग्न लगाउँछन् चीनसँग। चीन पुगेर भारतलाई ठीक गर्न सहयोग माग्छन्।
यही हालत देउवा र ओलीको हो। कहिले चीनसँग पारवाहनको नाटक त कहिले चुच्चे नक्सा र राम जन्मभूमि, कहिले भारतीय खुफिया प्रमुखसँगको लकडाउनको बेला बालुवाटारमा गोप्य मन्त्रणा र त्यसपछिको अध्यादेशीय शासन। नेताहरू विदेशी दूतावासमा गएर मुलुकको संवेदनशील कुरामा निर्णय गर्छन्। परराष्ट्र मन्त्री राजदूतलाई गोप्यरूपमा भेट्न समय माग्छन्।
गृहमन्त्री कसलाई आइजिपी बनाउँ भनेर विदेशी राजदूतलाई सोध्न पुग्छन्। झल्याकझुलुक बाहिर आएका यी कुराले मात्र पनि कस्तो विभत्स सरूपको दृश्य शृंखला बन्छ? यही मेसोमा अहिले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनको ५५ अर्ब रुपियाँ सहयोगको कुराले मुलुक आक्रान्त छ। लिने भए सहयोग लिउ नत्र… भनेर दादागिरीमा विश्वको सबभन्दा शक्तिशाली मुलुक अमेरिका उत्रिएको छ, एउटा सानो कमजोर मुलुकसँग। यो त कुनै कूटनीति नै भएन।
निर्णय गर्ने त नेपालले हो। हो, निर्णय गर्न बिलम्ब भयो हाम्रा शासकहरूको आन्तरिक राजनीतिको पाखण्डतासँग मिलान गर्ने कसरतले गर्दा। तर यो नेपालको आर्थिक विकासमा सन् १९५१ देखि निरन्तर सहयोग गरिरहेको अमेरिकाका लागि सुहाउने कुरोचाहिँ पटक्कै भएन।
अमेरिकाको इन्डो पेसेफिक र चीनको बिआरआइ चेपुवामा परेको नेपालको संस्थागत कूटनीतिक तागत नयाँ शासकहरूले शून्य बराबरमा ल्याइपु¥याइदिएका छन्, जाम्बी प्रजातन्त्रको उत्कृष्ट प्रयोग र उपयोगबाट। यसैबीच अमेरिकाले इन्डो पेसेफिक रणनीतिबारे आफ्नो रिपोर्ट गत हप्ता प्रकाशित गरेको छ।
जसअनुसार एकध्रुवीय विश्वको बहुध्रुवीय क्षेत्रमा जहाँ हामी छौँ त्यसको नेतृत्वमा चयन गरेको भारतलाई अझ मजबुत पारेर चीनलाई रोक्नुपर्ने अमेरिकाको ठहर छ। उता रुससँगको लामो समयदेखिको आडभरोसालाई भारतले अमेरिकाले क्षेत्रीय नेतृत्वमा राख्यो भनेर छाडेको छैन।
अब सोचौँ, यो जाम्बी प्रजातन्त्रले मुलुकको आन्तरिक तागत सोसेर कमजोर पारिएका हामी, यसको विभत्स स्वरूपले नदेखिने हुँदै गएको हामी, यतिखेर कुन स्थितिमा छौँ? यिनको खेल भने बन्द कोठाभित्र गठबन्धन कसरी भत्काउने र कसरी जोगाउनेमा सीमित छ, यो एमसिसीलाई लिएर।
मसायाको परिधान लपेटेर आएका यी जाम्बीहरूबाट र यिनले बुनेको जाम्बी प्रजातन्त्रबाट मुलुक कसरी जोगाउने? मुलुकलाई माया गर्ने प्रत्येक नेपालीको आजको दिनको व्यथा यही हो। यतिखेर एउटा अङ्ग्रेजी कहावत झलक्क सम्झेँ, भन्छ– ‘एकातिर दानव अर्कोतिर गहिरो निलो समुद्रमा बीचमा ।’ भन्नुहोस्, कसलाई छान्ने? लगत्तै सम्झेँ पृथ्वीनारायण शाहले भनेको– ‘दुई ढुङ्गाबीचको तरुल’ ले । नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया