श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

टिपरको ठक्करबाट महिलाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गोरखा नगरपालिका १० मा टिपरको ठक्करबाट शुक्रबार बिहान एक महिलाको मृत्यु भएको छ। गोरखा १० स्थित गोरखकाली क्रसर उद्योगको ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिँदा गोरखा १० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिएका छन।

घर नजिकैको विद्यालयमा दूध पुर्‍याउन जाँदै गर्दा बिहान तामाङलाई टिपरले ठक्कर दिएको हो।

ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन्। टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गर्नुका साथै क्रसर उद्योगका अन्य पाँचवटा टिपरमा तोडफोडसमेत गरेका छन्।

‘दोषीमाथि कारबाही र क्षतिपुर्तीको माग गर्दै स्थानीयले अहिले घटनास्थलमा प्रदर्शन गरिरहेका छन्,’ डिएसपी खतिवडाले भने, ‘पीडित पक्षसँग वार्ता गरेर समस्या समाधानको पहल भइरहेको छ। सीडीओसापको उपस्थितिमा पीडित पक्षसँग वार्ता गर्ने तयारी हुँदैछ।’

पीडित परिवारले शव उठाउन नमानेका र उद्योग बन्द गर्न माग गरेका खतिवडाले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया