भाद्र २, २०८३ मंगलबार August 18, 2026

निजगढ विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन संसदिय समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको छ ।समितिको आज सिंहदरबारमा बसेको बैठकले कानून परिवर्तन गरेर भए पनि सबै हिसाबले उपयुक्त उक्त विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिको निष्कर्ष छ ।

“राष्ट्रिय हित, सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निणर्माणधीन उक्त विमानस्थल निर्माणको कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी प्रशासनिक र व्यवहारिक कार्य गर्न नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरिएको छ”, समितिको निर्णयमा भनिएको छ ।

समिति सभापति पवित्रा निरौला खरेलले नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका उक्त विमानस्थलको निर्माण कार्य तत्काल अघि बढाउन निर्देशन दिने निर्णय भएको सुनाउनुभयो । बाह्य र आन्तरिक ऋणभारको बोझ बोकेर कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रका बाबजुद निजगढ विमानस्थल बनाउने आकाङ्क्षासहित अघि बढेका सन्दर्भमा निर्माण प्रक्रिया रोक्दा झनै राज्यलाई नै नोक्सानी हुने समितिको ठहर छ ।

सर्वोच्च अदालतले गत बिहीबार उक्त विमानस्थल निर्माण नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै विमानस्थल निर्माण अन्योलमा परेको छ । यता सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ । बजेटमा विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत आयोजनाको विकास कार्य अगाडि बढाइने भनिएको छ ।

यसैबीच समितिका सदस्यले राष्ट्रहित र देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको उक्त विमानस्थल निर्माण तत्काल अगाडि बढाउन माग गर्नुभएको छ । राज्यको ढुकुटीबाट ठूलो धनराशि खर्च भइसकेको र देशको भविष्यसँग जोडिएको यस परियोजनालाई कानुन परिवर्तन गरेर भए पनि अघि बढाइनुपर्ने उहाँहरुको सुझाव थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लामो अध्ययन र अनुसन्धानपछि सबै हिसाबले उपयुक्त ठानिएको निजगढ विमानस्थल निर्माण प्रक्रिया अवरोध गर्न नहुने धारणा व्यक्त गर्नुभयोे ।

विमानस्थल निर्माण क्षेत्रमा वनजङ्गलका विषयलाई अनावश्यकरुपमा चर्काएर स्वार्थ समूहले नीहित लाभ लिन खोजेको सङ्केत गर्दै उहाँले विमानस्थल निर्माण गर्दा जङ्गल विमान नहुने जिकिर गर्नुभयो ।

सदस्य भीमबहादुर रावल, प्रकाशमान सिंह, दिब्यमणिराज भण्डारी, पुष्पा भुसाल, सरलाकुमारी यादव, सुरेन्द्रकुमार कार्की, सुदन किराँती, रेणुका गुरुङ, नारदमणि राना, चाँदताराकुमारी, दीपकप्रकाश भट्ट, प्रेमप्रसाद तुलाचन, सुजिता शाक्यलगायतले एकै आवाजमा निर्विकल्प निजगढ विमानस्थल आयोजना कानुनी अड्चन सुल्झाएर शीघ्र निर्माण अघि बढाउन आग्रह गर्नुभयो ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सर्वोच्च अदालतको आदेशले अफ्टेरो पारेको बताउनुभयो । उहाँले उक्त विमानस्थलमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले रु तीन अर्ब खर्च गरिसकेको र त्यस क्षेत्रमा आठ हजार ५० हेक्टर भन्दाबढी जग्गा विमानस्थलका नाममा आइसकेको जानकारी दिँदै आयोजनालाई अगाडि बढाउनुको विकल्प नभएकामा जोड दिनुभयो ।

उक्त विमानस्थलको गुरुयोजना तयार भई, वातावरणीय प्रभाव मूल्याङ्कन पनि बनिसकेको अवस्थामा एक्कासि सर्वोच्चको आदेशले सरोकारवालालाई निरास तुल्याएको मन्त्री आलेले भनाइ थियोे ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले झण्डै २८ वर्षदेखि चर्चामा रहेको उक्त विमानस्थल सबै हिसाबले उपयुक्त रहेकाले निर्माण प्रक्रिया अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले उक्त विमानस्थलको निर्माण प्रक्रिया अघि नबढे दीर्घकालीनरुपमा देशको समग्र अर्थतन्त्रमा घाटा हुन्छ भन्नुभयो ।

हाल विश्वव्यापीरुपमा वार्षिक सरदर १० प्रतिशत हवाई यात्रु बढिरहेको र नेपालमा पनि हरेक वर्ष १० लाख हवाई यात्रु बढिरहेकाले कूल ९२ लाख क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले नधान्ने हुँदा उक्त विमानस्थल निर्माणको विकल्प नरहेको उहाँको भनाइ थियो ।

शोक प्रस्ताव पारित

यसैगरी समितिले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त ट्वीनअटर विमान दुर्घटनामा परी असामहिक निधनभएकाप्रति श्रद्धाञ्जलि व्यक्त र शोक प्रस्ताव पारित गर्नाका साथै एक मिनेट मौन धारण गरेको छ । बैठकले मृतकका परिवारजनप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ ।

उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालकदलकासदस्यसहित २२ जनाको निधन भएको छ । पोखराबाट आइतबार बिहान ९:५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको केही समयपछि सम्पर्कविहीन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार