भाद्र २, २०८३ मंगलबार August 18, 2026

श्रीलङ्कामा न्यायिक सुधार विवादमा

हाल सरकारसँग आवश्यक बहुमत रहेको बताइएको छ र विधायी प्रक्रिया पूरा गर्न करिब दुई महिना लाग्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलम्बो। श्रीलङ्का सरकारले अदालतमा थुप्रिएका मुद्दा घटाउने र न्यायिक प्रक्रिया छिटो बनाउने उद्देश्यले व्यापक न्यायिक सुधार प्रस्ताव गरे पनि यसको मुख्य प्रावधानले न्यायिक स्वतन्त्रतामाथि असर पार्न सक्ने भन्दै कानून व्यवसायी र विपक्षी दलले विरोध गरेका छन् ।

सरकारले मङ्गलबार संसदमा पेस गरेका दुई विधेयकमा अदालतको सङ्ख्या बढाउने, राजधानी कोलम्बोबाहिर नयाँ अपिल अदालत स्थापना गर्ने, न्यायाधीशको अवकास उमेर दुई वर्ष बढाउने तथा थप न्यायाधीश र अदालतका कर्मचारी नियुक्त गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रपति अनुरा कुमार दिसानायकेले सुधारले आपराधिक न्याय प्रणालीलाई व्यवस्थित बनाउनुका साथै प्रहरी तथा अदालतमा रहेको जनशक्ति अभाव सम्बोधन गर्ने बताउनुभएको छ । उहाँका अनुसार अनुसन्धानदेखि अदालतको अन्तिम प्रक्रियासम्म न्याय प्रणालीलाई समग्र रूपमा सुधार गर्ने उद्देश्यले प्याकेज ल्याइएको हो ।

श्रीलङ्काका अदालतमा करिब ११ लाख मुद्दा विचाराधीन रहेको सरकारी तथ्याङ्क छ । आपराधिक मुद्दाको टुङ्गो लाग्न औसतमा करिब १७ वर्ष लाग्ने गरेको छ भने कतिपय नागरिक मुद्दा दशकौँसम्म लम्बिने गरेका छन् । सरकारले यस्तो ढिलाइ अन्त्य गर्न न्यायिक संरचना र जनशक्ति दुवै विस्तार गर्नुपर्ने जनाएको छ ।

प्रस्तावित संवैधानिक संशोधनअनुसार अपिल अदालतका न्यायाधीशको सङ्ख्या २० बाट बढाएर २५ पुर्याउने र थप १० उच्च अदालत स्थापना गर्ने योजना छ । कोलम्बोमा मुद्दा चलिरहेका पक्षलाई लामो दूरीको यात्रा गर्न नपरोस् भनेर विभिन्न प्रदेशमा अपिल अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ । सरकारले सर्वोच्च अदालतका न्यायाधीशको अवकास उमेर ६५ बाट बढाएर ६७ वर्ष पुर्याउने तथा १० हजार प्रहरी जवान र सयौँ अदालतका कर्मचारी नियुक्त गर्ने योजना अघि सारेको छ ।

राष्ट्रपति दिसानायकेले गत साता बार एसोसिएसन अफ श्रीलङ्का (बीएएसएल)का प्रतिनिधिसँगको बैठकमा प्रस्तावित सुधार व्यापक प्रक्रियाको हिस्सा भएको बताउनुभएको थियो । अनुसन्धानबाट सुरु हुने न्यायिक प्रक्रियालाई अदालतको अन्तिम चरणसम्म प्रभावकारी बनाउने दृष्टिकोण अनुसार सुधार अघि बढाइएको उहाँको भनाइ थियो ।

तर बीएएसएलले न्यायाधीशको अवकास उमेर बढाउने प्रावधानप्रति विशेष आपत्ति जनाएको छ । आगामी नोभेम्बरमा ६५ वर्ष पुगेर अवकास लिने प्रधानन्यायाधीश प्रीति पद्मन सुरसेनाको कार्यकाल लम्ब्याउने उद्देश्यले यस्तो व्यवस्था ल्याइएको हुन सक्ने कानून व्यवसायीको आशङ्का छ । सुरसेना गत वर्ष दिसानायके नेतृत्वको सरकारले प्रधानन्यायाधीशमा नियुक्त गरेको थियो ।

उहाँले सरकारका नीतिगत लक्ष्यलाई समर्थन गर्ने गरी न्यायिक निर्णयमा पक्षपात गरेको आरोप विपक्षी दलले लगाउँदै आएका छन् । सरकार र प्रधानन्यायाधीश दुवैले त्यस्तो आरोप अस्वीकार गरेका छन् । सरकारले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप पनि अस्वीकार गर्दै सुधारको उद्देश्य न्यायिक कामकारबाही प्रभावकारी बनाउनु र मुद्दा फछ्र्योटमा भइरहेको ढिलाइ घटाउनु रहेको स्पष्ट पारेको छ ।

प्रस्तावित सुधारप्रति अन्तर्राष्ट्रिय चासोसमेत बढेको छ । संयुक्त राष्ट्रसङ्घकी न्यायाधीश तथा वकिलको स्वतन्त्रता सम्बन्धी विशेष प्रतिवेदक मार्गरेट स्याटरथवेटले गत साता श्रीलङ्का सरकारसँग प्रस्तावित परिवर्तनले न्यायाधीशको स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नेबारे स्पष्टीकरण माग्नुभएको थियो । सुधार विधेयक पारित गर्न संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्ने छ ।

हाल सरकारसँग आवश्यक बहुमत रहेको बताइएको छ र विधायी प्रक्रिया पूरा गर्न करिब दुई महिना लाग्ने अनुमान गरिएको छ । श्रीलङ्काका अधिकारीले पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष र उहाँका परिवारका सदस्यसँग सम्बन्धित भ्रष्टाचार विरोधी अनुसन्धान तीव्र बनाइरहेका बेला न्यायिक सुधार प्रस्ताव गरिएको हो ।

राजापाक्ष परिवारमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र राज्यकोष दुरुपयोगलगायतका आरोपमा अनुसन्धान भइरहेको छ । उहाँहरू र परिवारका सदस्यहरुले भने कुनै पनि गलत काम गरेको आरोप अस्वीकार गर्दै आएका छन् । न्यायिक प्रणालीमा थुप्रिएका ठूलो सङ्ख्याका मुद्दा फछ्र्योट गर्ने सरकारी उद्देश्य र न्यायपालिकाको स्वतन्त्रता संरक्षण गर्नुपर्ने मागबीच सुधार प्रक्रिया अघि बढ्ने भएकाले आगामी दिनमा संसद र कानूनी क्षेत्रमा यसबारे थप बहस हुने देखिएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार