मोरङ । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले प्रदेश एक सरकारले सतर्कता अपनाउने भएको छ।
मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विभिन्न निकायका पदाधिकारीसँग छलफलपछि पछि यस्तो निष्कर्ष निकालेको आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन्।
छलफलमा विराटनगरस्थित कोशी अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल, नोबेल मेडिकल कलेज टिचिङ शिक्षण अस्पताल, धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भद्रपुरस्थित मेची अस्पताल र विर्तामोडस्थित वि एण्ड सी अस्पताललाई संक्रमितहरुलाई आइसोलेशन वार्डको व्यवस्थापन मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
त्यसैगरी आन्तरिक मन्त्रालयले प्रदेश एकका जिल्लाहरुमा प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षा, स्वास्थ्यसँग सम्बन्धित सतर्कता अपनाउने जनाएको छ।
प्रदेश एकको उत्तरी क्षेत्रमा चीनसँग जोडिएका नाका बन्द हुँदा सो क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन ताप्लेजुङ र संखुवासभा जिल्लालाई विवरणसहित व्यवस्थापनको कार्य गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
छलफलका क्रममा आन्तरिक, समाजिक विकास मन्त्रालयका पदाधिकारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी लगायतको सहभागिता थियो।
चीनको वुआन प्रान्तमा देखिएको कोरोना भाइरसबाट हालसम्म ३ सय ६२ जनाको मृत्यु भइसकेको छ।
विश्वका २४ राष्ट्रमा फैलिएको यस भाइरसबाट १७ हजार ३ सय ९१ जना संक्रमित भएको जानकारी छलफलका क्रममा दिइएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया