काठमाडौं । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण भएको छ।
सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनका अनुसार शुक्रबार राति आएको एक समूहले तिपेनी प्रहरी चौकीमा आक्रमण गरेको हो।
आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। १०/१२ वटा मोटरसाइकलमा आएको समूहले प्रहरी चौकीमा एक्कासि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।
‘उच्छृंखल समूह आएको रहेछ, तिनलाई प्रहरीले सम्झाईबुझाई गर्दा प्रहरीलाई नै आक्रमण गरेछन्,’ अहिले घटनास्थलमै रहेका एसपी महर्जनले भने, ‘चौकी बाहिर राखिएको चिर्पटलगायतले जथाभावी प्रहार गरेका रहेछन्।’
उनले ‘उच्छृंखल समूह’ भने पनि ती मानिस स्थानीय हुन् वा बाहिरका ? कुन उद्देश्यले आएका थिए आदि कुरा अहिले खुलाउन नमिल्ने बताएका छन।
‘अहिले हामी व्यापक रूपमा आक्रमणकारीको खोजीमा लागेका छौं, सबै कुरा खुलिसकेको छैन,’ उनले भने।
अन्धाधुन्ध आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो।
घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जन पनि राति नै घटनास्थल पुगेका हुन्।
प्रहरीले घटनामा संलग्न एक जनासहित आक्रमणकारीहरूले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएको छ।
अहिले घटनास्थलमै रहेका सिन्धुपाल्चोक प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनले घटना गम्भीर रहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताएका छन।
‘हामी घटनाको अनुसन्धानै छौं, घटनामा संलग्न अन्यको व्यापक खोजी गरिरहेका छौं,’ एसपी महर्जनले भने, ‘घटना अनुसन्धान भइरहेकाले अहिले नाम सार्वजनिक गर्नु उचित हुँदैन।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया