काठमाण्डौंः कागेश्वरी मनोहरा – ६ क्रिकेट मैदान नजिकैको हाइटमा रहेको मनकामना मन्दिर संरक्षणको अभावमा परेको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष ७२ वर्षीय बद्रीप्रसाद पोेखरेलका अनुसार २०४८ साल जेठमा राति सपनामा मनकामना जान लागेको र खैरेनीभन्दा माथि चौतारामा पुगेपछि थकाइ मार्न टुसुक्क बस्दा निदाएको र एकैछिन निदाउँदा एक बालिका आएर ‘तपाईं किन मेरो दर्शन गर्न आउनुहुन्छ ? म तपाईंकै छेउमा आउँछु’ भनिछन्। “सपनाबाट झसङ्ग बिउँझिएपछि मनकामना मन्दिर स्थापना गर्ने सोचमा पुगेँ”, पोखरेलले भने।
हाल क्रिकेट मैदान भएको ठाउँ ठाउँमा तत्कालीन गाउँ पञ्चायतले संरचना निर्माणका लागि ढुङ्गा थुपारिदिएको थियो। सोही ठाउँको दुईवटा शिला कृष्णप्रसाद सापकोटा र चन्द्रदत्त दुलालको सहयोगमा ल्याएर घर छेउमा रहेको सार्वजनिक डाँडो (क्रिकेट मैदान हाइट)मा स्थापना गरेको पोखरेलले बताए। सो मन्दिरको शिलान्यास २०४९ सालमा पण्डित ऋषिराम पोखरेलले गरेका थिए र मन्दिर बनिसकेपछि २०५२ सालमा पण्डित नारायण अर्यालले उद्घाटन गरेका थिए। यो मन्दिरमा हालसम्म सातवटा सप्ताह र १० वटा जति विवाह व्रतबन्ध भइसकेको पोखरेलले बताए।
“आफ्नो उमेर हुँदा खट्न सकिन्थ्यो र सेवा सेवा गरिन्थ्यो, पुजारीलाई समेत तीन वर्ष नौसय दिने गरेको थियो, अहिले त्योसमेत दिन सकेको छैन। स्थानीय युवाहरुको पटक्कै सक्रियता छैन, मन्दिरको संरक्षण भएको छैन, तिवारी टोलको शिव मन्दिर र यो मनकामना मन्दिरको लागि भनेर तत्कालीन केदार थापा उपाध्यक्ष हुँदा छ लाख आएको थियो सो रकमसमेत मनकामना मन्दिरलाई उपलब्ध भएन”, दुःखी हुँदै उनले सुनाए।
उनका अनुसार कृष्णहरि थापा नगरप्रमुख हुँदा १० लाख प्राप्त भएको थियो। सो रकम मन्दिर छेवैको सडकको पर्खाल बनाउन खर्च भएको छ। सातवटा फलामे बेन्च मन्दिर छेउमा राखिएको छ। मन्दिरका पुजारी नन्दप्रसाद सापकोटालाई दुई तीन महिना एक हजार पारिश्रमिक समितिले उपलब्ध गराए पनि अहिले दिन सकेको छैन। “म भगवान्को सेवा गर्न त्यसै खुसी छु ,बस्ने बास पाएको छु ,मन्दिरमा चढाएको भेटीले नै गुजारा चलाएको छु”, पुजारी सापकोटाले भने। अब नगरपालिकामा बजेट प्रस्ताव गरी मन्दिरको विकासका लागि काम गर्ने वडाध्यक्ष प्रकाश फुँयालले बताए। रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया