बैसाख २२, २०८३ मंगलबार May 5, 2026

अहिलेको एमाले पनि जनविरोधी र प्रतिक्रियावादी छ । – मुख्यमन्त्री, राजेन्द्र राई (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विद्यार्थी राजनीतिमा ‘सडकको बाघ’ भनेर चिनिने मान्छेलाई सत्ताको बागडोर सम्हाल्न कति सजिलो रहेछ ?

सडकमा तत्काल उत्पन्न परिस्थितिअनुसार चले पुग्छ । तर सरकारमा हुँदा कानून हेर्नुपर्ने र सर्वदलीय सरकार भएकाले मन्त्रीहरुबीच छलफल गर्नुपर्ने हुँदा अनौपचारिक काम गरे जस्तो सजिलो त हुँदैन । तर धेरै अप्ठ्यारो महसुस गरेको पनि छैन ।

प्रश्न गर्नु जस्तो सजिलो काम गर्नु रहेनछ ?

त्यहाँसम्म त नभनौं, नियम हेर्नुपर्ने र सहमति गर्नुपर्ने हुन्छ । त्यसले समय लाग्न सक्छ ।

तर एकपटक मुख्यमन्त्री भएपछि फेरि हुन रहर चाहिँ लाग्ने रहेछ ?

चाहना मुख्यमन्त्री होइन । पटकपटक मुख्यमन्त्री फेरिने प्रसंगमा मुख्यमन्त्रीको दावेदार म होइन भनेर सार्वजनिक रुपमै भन्दै आएको थिएँ । तर परिस्थितिले मुख्यमन्त्री बनें ।

त्योभन्दा अगाडि प्रदेशकै सांसद बन्ने दावी र चाहना पनि थिएन । तर पार्टीले निर्णय गरिसकेपछि स्वीकारेको हो । अहिले पनि साधारणतया संघमा उठ्ने चाहना हो । मेरा सबै साथी संघकै सांसद छन् । तर परिस्थितिले फेरि प्रदेशसभाको उम्मेदवार बन्दैछु । किनभने जहाँ पहिले जुन पार्टीले जितेको हो, उसैले उम्मेदवार खडा गर्ने गठबन्धनमा सहमति छ । गठबन्धनभित्रै संघको सांसद जितेको व्यक्ति (सुदन किराँती) भएकाले उहाँकै सम्भावना बढी देखिन्छ । हाम्रो पार्टीले प्रदेशसभा पाएकाले मैले उठ्नुपर्ने परिस्थिति हो ।

परिस्थितिले मात्रै हो कि मुख्यमन्त्रीको दाबी फेरि रहन्छ ?

कुरा छिन्दा भोलि मुख्यमन्त्री बन्ने सम्भावना छ । संघ र प्रदेशहरुको छलफल गर्दा कुन ठाउँमा को मुख्यमन्त्री बन्ने, प्रधानमन्त्री को बन्ने कुरा रोज्दा त्यो सम्भावना छ ।

मुख्यमन्त्री वा मन्त्री बन्ने परिस्थिति बाहेक चाहिं प्रदेशसभा सदस्य बन्ने रुचि अरु नेताहरुमै जस्तै तपाईंमा पनि छैन, होइन ?

कामको हिसाबले प्रदेशबाट धेरै गर्न सकिन्छ । खासगरी संघबाट धेरै योजना जिल्लाहरुमा जान सकेको छैन । जबकी संघीय संरचनामा जानुको उद्देश्य विकासको कामलाई सन्तुलित ढंगले पुर्याउने भन्ने थियो । अहिले पनि संघ सरकारबाट त्यो सोंचका साथ बजेट बाँडफाँट हुन सकेको छैन ।

तर म सांसद मात्रै होइन, नेता पनि हुँ । त्यसैले केन्द्रमा बसेर जुन केन्द्रीय भूमिका खेल्न सकिन्थ्यो, पार्टीको आन्तरिक जीवनका लागि अथवा समग्र राजनीतिका लागि भूमिका खेल्न सकिन्छ, प्रदेशमा बस्दा अलिकति असुविधा हुन्छ । त्यसकारण मात्रै संघमा खोजेको हुँ । प्रदेशसभामा रुचि नभएको अर्थमा बुझ्न मिल्दैन ।

वर्ष दिनमा केही उल्लेख्य काम गरे जस्तो लाग्छ ?

गठबन्धनको सरकार भएपछि एकल जस्तो सजिलो हुँदैन । अझ दुई वटा निर्वाचन यही कार्यकालमा गर्नुपर्दा आचारसंहिताले पनि काम गर्न बारबन्देज भयो । मन्त्री, मुख्यमन्त्री र कर्मचारी नै चुनावमा खटिनुपर्ने परिस्थिति बन्यो । कोरोनाको प्रतिकूलता छँदै थियो । यसका बाबजुत पनि गरेका राम्रा कामको फेहरिस्त प्रस्तुत नै गर्न सकिन्छ । तर समयको सुविधा नहोला ।

म मुख्यमन्त्री हुँदै गर्दा प्रदेश सरकार आर्थिक संकटमा थियो । अघिल्लो सरकारले आर्थिक हैसियतभन्दा धेरै योजना शुरुवात गरेको थियो । पैसा नभएर नयाँ योजना हाल्नै नसकिने अवस्था थियो । भुक्तानी नपाएकाले ठेकदारले नयाँ ठेक्कामा नै नहाल्ने अवस्था थियो ।

तर अहिले त्यो अवस्थाको अन्त्य गरेका छौं । हामी आर्थिक रुपमा मजबुत छौं । थुप्रै योजना हालेका छौं । ठेकदारले गरेका कामको भुक्तानी गरेका छौं । कामकै सूचकांक भन्ने हो भने ८७ प्रतिशतभन्दा बढी खर्च गर्यौं । अहिलेसम्म संघ र प्रदेश सरकारको इतिहासमा विनियोजित बजेट यति ठूलो खर्च भएको थिएन । ६५ प्रतिशतमै सीमित थियो ।

तर प्रदेशको नाम समेत राख्न सक्नु भएन नि ?

त्यसैपनि नाम टुंग्याउने विषय आफैमा जटिल हो । त्यसमा राजनीतिक दलहरुले बेइमानीपूर्ण राजनीति गरे । जनआन्दोलन, जनक्रान्तिदेखि पटकपटक चुनावमा जनतासँग पहिचानको नाम दिन्छौं भनेका थिए । क्रान्तिमा आउनु, पहिचान दिन्छौं भनिएको थियो । त्यही भनेर चुनाव जिते, सांसद र मन्त्री भए । तर दिने बेला चाहिँ राजनीतिक दलहरु पछि हटे । कतै पनि संख्या पुगेन । न पहिचानको पक्षमा, न नदीनालाको पक्षमा । यथेस्ट प्रयत्न भने गरियो ।

कसरी सुल्झन्छ त प्रदेशको नामाकरण ?

संघीय प्रणालीको खाका निर्माण गरिरहेको अवस्था नेताहरुले सम्झेमा कुरा मिलिहाल्छ । किनकि कम्युनिष्टहरु पहिचानकै पक्षमा थिए । माओवादीले क्रान्तिकालमै वैकल्पिक सत्ता सञ्चालन पहिचानकै आधारमा गरेको थियो ।

एमालेको कुरा गर्दा समाजवादीलाई (एकीकृत समाजवादी) पनि पुग्छ । किनकि समाजवादी पनि एमाले धारबाटै छुट्टिएको हो । एमालेले २०६४, २०७० र २०७४ को चुनावमा बहुपहिचानको कुरा किटानीको साथ लेखेको छ । माधव नेपाल, झलनाथ खनाल र केपी ओली पार्टी प्रमुख हुँदा प्रस्तुत दस्तावेजमा बहुपहिचानकै प्रतिबद्धता गरिएको छ । कांग्रेसले पनि चुनावमा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ नाम हुनुपर्छ भनेको थियो । सबै दल आफ्नो नारामा प्रतिबद्ध भयो भने नाम टुंगिहाल्छ ।

नामाकरण गर्न सबै दलका नेताहरु नै समस्या देखिए ?

सबै दल पहिले बोलेको कुरामा उभिनुपर्यो ।

यसपटक उभिनु भएन ?

उभिनु भएन, प्रष्टै भयो । अर्कोपटक पनि उभिनु भएन भने नटुंगिने सम्भावना अझै छ ।

नामकरणमै यस्तो समस्या देखिएपछि संघीयताकै औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक होइन र ?

हो, खासगरी नाम समेत राख्न नसक्ने प्रदेश किन चाहियो भन्ने नै भए । अरु कामको सन्दर्भमा पनि यस्ता आलोचना छन् ।

संघीय प्रणाली जोगाउने पहलकदमी कसले गर्ने ?

आफ्नो पार्टीबाट निर्णय गराउन निर्णायक ढंगले लाग्नुपर्यो । अरु पार्टीलाई मनाउन पनि लाग्नुपर्छ । खासगरी ठूलो पार्टीको जिम्मेवारी बढी हुन्छ ।

ठूला पार्टीहरुकै चाहना नभएकाले नामाकरणबारे प्रस्ताव संसदमा प्रस्तुत गर्ने चुनौती नलिनु भएको हो ?

जोखिम उठाउन नचाहेको होइन । तर कुनैपनि नाम संसदमा छलफलमा लगेर निर्णायार्थ प्रस्तुत गर्दा पास हुन सकेन भने त्यसले अझ निराशा जन्मन्छ । त्यसैले कसेसम्म सहमतिको प्रयास गरे । पटकपटक सर्वदलीय बैठक राखे, तर कुरा मिल्दै मिलेन ।

अब, चुनावको कुरा गरौं । तपाईं जुन पार्टी निर्माण गर्न जीवनको यो अवस्थासम्म संघर्ष गर्नुभयो । अहिले त्यही पार्टी एमाले पत्तासाफ गर्ने भनेर हिँड्नु कति सजिलो भइरहेको छ ?

नाम होइन, विचार महत्वपूर्ण कुरा हो । पुष्पलाल, मदन भण्डारी, मनमोहन हुँदै विरासतका रुपमा आएको विचारलाई जोगाउन लागेका छौं । मार्न र मास्न लागेका छैनौं । तर त्यो विचारलाई मास्न खोज्ने प्रवृत्तिविरुद्ध हामी उभिएको हुनाले अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन ।

पार्टी नामलाई बिर्सने हो भने पनि जसलाई हराउने भन्दै हुनुहुन्छ, उहाँहरु त तपाईंकै लामो समयका मित्रहरु हुन् नि !

कुनैबेला उहाँहरुले सही विचार बोकेर हिंड्नुभएको हो । तर दुनियाँको इतिहास हेर्दा एकदमै क्रान्तिकारी विचार बोक्ने मान्छेहरु पनि प्रतिक्रियावादीमा रुपान्तरण भए । उहाँहरु पनि पहिले क्रान्तिकारी विचार बोक्नु हुन्थ्यो, विस्तारै त्यो विचार त्याग्नुभयो । जनविरोधी र प्रतिक्रियावादीमा रुपान्तरण भएको हुनाले यस्तो अवस्था आएको हो ।

आउने चुनावमा पूर्व सहयोद्धाहरु हराउन निर्मम भएर लाग्नु हुन्छ ?

त्यो त स्वभाविक हो । किनभने त्यो पार्टीको अस्तित्व रहेसम्म मान्छेहरु झुक्किन्छन्, भ्रममा पर्छन् । त्यसरी झुक्किनु, भ्रममा पर्नु भनेको क्रान्तिकारी पार्टी कमजोर हुनु हो । त्यस्तो पार्टीको अस्तित्व मेटिएपछि मात्रै असल विचार विकास हुन पाउँछ ।

तर कांग्रेसलाई बोकेर हिँड्ने तपाईंहरु असल कम्युनिष्ट होइन भनेर एमालेले एक स्वरमा भनिरहेको छ नि ?

चुनावी तालमेल र गठबन्धन धेरै अगाडिबाट हुँदै आएको हो । खासगरी पञ्चायत समाप्त पार्न कांग्रेस र कम्युनिष्ट मिलेर आन्दोलन गर्नुपर्छ भनेर पुष्पलालले भन्नुभएको थियो । कांग्रेसले त्यो प्रस्ताव नस्वीकार्दा लामो समय कम्युनिष्ट रह्यो ।

अहिले पनि हामी पार्टीगत र वैचारिक रुपमा मिल्न खोजेको होइन । मुख्य प्रतिक्रियावादी, जनविरोधी र अलोकतान्त्रिक शक्तिलाई परास्त गर्न कार्यगत एकता गर्न खोजिएको हो । चुनावी तालमेल गर्न खोजिएको हो ।

अहिलेको एमाले पञ्चायतजस्तै बनेकाले कांग्रेससँग मिल्नु परेको ?

मात्रामा तलमाथि हुन सक्ला । तर गुणात्मक हिसाबले हेर्दा पञ्चहरु पनि जनविरोधी थिए, प्रतिक्रियावादी थिए, अहिलेको एमाले पनि जनविरोधी र प्रतिक्रियावादी छ । सार उस्तै छ ।

तर स्थानीय चुनावको नतिजाले त अरु कम्युनिष्ट भन्दा एमालेले नै धेरै सिट ल्यायो नि ?

मानिसहरुले कुरा बुझ्न समय लाग्न सक्छ । राणालाई समाप्त गर्न पनि धेरै समय लाग्यो । पञ्चायतलाई ३० वर्ष कुर्नुपर्यो । आउने चुनावमा पनि एमालेले केही ठाउँमा जित्न सक्छ । अथवा, एमालेले हारिसकेपछि पनि त्यसका संगठन र समर्थकहरु केही समय रहन सक्छन् । तर त्यो मूल कुरा होइन । चुनावबाट परास्त हुँदै गएपछि त्यसका आधारहरु भत्कदै जान्छ ।

राजनीतिक परिदृश्यबाट एमाले नामेट हुन सक्छ भन्ने विश्वास गर्नु हुन्छ ?

एमालेले रोजेको मार्ग नै त्यही हो । तर बीचमा सुविधा त एमालेलाई हुन्छ । गल्ती महसुस गरेर, सुध्रिएर आउँदा अथवा सुध्रिएर अरु कम्युनिष्ट पार्टीसँग एकता गरेमा एमालेको अस्तित्व रहने सुविधा छ । तर यथास्थितिमा अहिलेकै जस्तो एक्लै अगाडि बढ्ने, अहिलेकै जस्तो विचार बोक्ने, अहिलेकै जस्तो व्यवहार बोक्ने हो भने समाप्ति अवसंभावी छ ।

अहिलेकै अस्तित्वको कुरा गर्दा त एकीकृत समाजवादी पो संकटमा परेकाले माओवादी केन्द्रसँग एकताको छलफल भइरहेको छ, होइन ?

लामो समयदेखि कम्युनिष्टहरुको एकता जरुरी छ भनिँदै आएको हो । पुष्पलालकै पालादेखि एकता र फुट हुँदै आयो । मदन भण्डारीको पालामा धेरै लामो समय एकताकै दौड पनि चल्यो । त्यसैले एकता नयाँ कुरा होइन, हामी संकटमा परेर होइन ।

त्यसैपनि कम्युनिष्ट एकता स्वीकृत र ऐतिहासिक मान्यता हो । अभ्यासमा पनि पटकपटक भएका छन् । किनभने कम्युनिष्टको जनमत धेरै भएपनि फुटकै कारणले कांग्रेस लगायत पुँजीवाद शक्ति सत्तामा हुँदै आएको छ । फेरि संकटमा पर्दा मात्रै एकता गरिने होइन ।

एमाले बलियो हुँदाहुँदै माओवादीसँग मिलेको हो । एकता भइसकेपछि अदालतको अप्ठ्यारो फैसलाले त छुटेको हो । त्यो एकताको औचित्य अझै बाँकी छ भनेर छलफल शुरु भएको हो । त्यो भन्नु बित्तिकै मिलिहाल्छ भन्ने छैन । विचार र संगठन मिल्यो भने मिल्ने हो ।

माओवादीसँग एकता हुँदा चुनाव अगाडि हुन्छ कि पछाडि ?

अगाडि त सम्भावना छैन । पछाडि नै हुन्छ । एकतामै पुग्छ कि पुग्दैन भन्ने पनि हेर्नुपर्छ ।

माओवादीसँग एकता संकटका कारणले होइन भन्नुभयो, अलग्गै राजनीतिक शक्तिका रुपमा चाहिँ एकीकृत समाजवादी चुनावबाट कत्रो पार्टी बन्ला ?

पार्टी निर्माण प्रक्रिया एकैपटक हलक्क बढ्ने होइन, समय लिन्छ । तर सांकेतिक रुपमा कुरा गर्दा आउने चुनावबाटै हामी शक्तिशाली हुन्छौं । सम्मानजनक हैसियत प्राप्त गर्ने सिट जित्छौं । त्यसै आधारमा क्रमशः पार्टी विस्तार गर्दै जान्छौं ।

आउने चुनावमा सम्भवतः तेस्रो पार्टी हुन्छौं । अर्को चुनावसम्म दोस्रो पार्टी हुन्छौं । त्यसपछि पहिलोका लागि प्रयास गर्छौं ।

कतिपयले मंसिरको चुनाव पछि फेरि कम्युनिष्टहरुकै सरकार बन्छ पनि भन्छन् नि ?

गठबन्धनकै सरकार बन्छ । पहिलो सरकार नेपाली कांग्रेसकै नेतृत्वमा बन्छ । किनकि एमाले भनेको खोल ओढेको कम्युनिष्ट मात्रै हो, व्यवहारमा कम्युनिष्ट रहेन । त्यसकारण एमालेसँग मिल्ने त कुनै सम्भावना छैन ।

मंसिरको चुनाव पछि पनि कांग्रेसकै सरकार बन्छ ?

पहिलो पालो कांग्रेसले नै पाउँछ । त्यसपछि आलोपालो कुरा होला ।

तपाईंहरुको सहकार्य कांग्रेससँग कहिलेसम्म ?

यो गठबन्धन सत्ता साझेदारीका लागि बनेको थिएन । खासगरी गणतन्त्र र संविधान कमजोर पार्नेगरी एमाले अगाडि बढेकाले बनेको थियो । एमालेबाट खतरामा परेको गणतन्त्र र जनताको अधिकार सुरक्षित गर्न भनेर गठबन्धन गरिएको हो । यसको अर्थ एमाले कमजोर नभएसम्म यो गठबन्धन सिद्धान्ततः जान जरुरी छ । एमाले कमजोर भएपछि यो गठबन्धनको औचित्य सकिन्छ ।

तर एमालेकै कतिपय नेताहरुले भने प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संविधान र लोकतन्त्र सुरक्षित भइसकेको छ, भन्छन् नि ?

अझै पनि एमालेको व्यवहारहरु उस्तै छ । सिद्धान्ततः भन्न अप्ठ्यारो परेपनि राष्ट्रपतिले समेत संविधान उल्लङ्घन गरिरहेका छन् । एमालेका प्रधानमन्त्रीले पनि संविधान च्यात्न लागिपर्ने, एमालेकै उम्मेदवार भएर जितेको राष्ट्रपतिलाई संविधान अमान्य हुने भइरहेको छ । त्यसैले संविधानप्रतिको एमालेको धारणा र बफादारिता सबैले बुझेकै छ । किनकि एमालेलाई सजिलो भइन्छ ऊ संविधान मान्छ, तर अप्ठ्यारो हुनासाथ च्यात्ने गरिरहेको छ । राजाहरुले पनि गरेकै त्यही थियो । अनलाइनखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी
२०८३ बैसाख २२, मंगलबार