कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

एमालेको नेतृत्वमा सरकार बनाउन सहमत भएर नै जसपा र राप्रपासँग तालमेल गरेका हौं।- प्रदीप ज्ञवाली (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चिरपरिचित प्रतिद्वन्द्वीसँग चुनावी मैदानमा हुनुहुन्छ । कहिले चन्द्र भण्डारी कहिले प्रदीप ज्ञवाली निर्वाचित हुने गुल्मी १ मा अहिले भण्डारीले माओवादीसमेतको साथ पाएका छन् । तपाईंलाई त खुब डर लागिरहेको होला है ? 

आफ्नो चुनावी परिणामप्रति विश्वस्त छु । त्यसैले डर, चिन्ता, तनावमुक्त भएर जनतासँग भेटघाट र छलफलमा छु । त्यसका निश्चित आधार छन् । गुल्मेली जनताले अविचलित रूपमा माया र विश्वास गरिरहनुभएको छ, त्यो विश्वास र माया आजसम्म कायम छ । त्यसैले तनावरहित अवस्थाबाट चुनावी अभिायनमा छु ।

हिजोको सहयात्री माओवादीको समर्थन नहुँदा तपाईंमाथि दबाब त परेकै होला नि ?

मलाई त्यस्तो लाग्दैन । पहिलोपटक २०६४ सालमा हामीसँगै चुनावी प्रतिस्पर्धामा थियौं । त्यतिबेला माओवादी अलग्गै चुनावी अभियानमा थियो । माओवादीको देशव्यापी दबदबाको समयमा आफ्नै बलबुता र सांगठनिक बलमा निर्वाचित भएको थिएँ । त्यस भएर मेरो जितमा २०७४ सालमा केही योगदान रह्यो होला तर त्यसभन्दा अघि नै एक्लै प्रतिस्पर्धा गरेर जितेको छु । गणितीय हिसाबको कुरा गर्दा पनि माओवादीको मत कटाउँदा पनि गठबन्धनको मतभन्दा अगाडि छु । त्यसैले उहाँहरूको गठबन्धनबाट कुनै चिन्ता छैन ।

गुल्मीकै सन्दर्भमा पनि तपाईंबाट अपेक्षित विकास भएन भन्ने गुनासो सुन्ने गरिन्छ नि ?

जनताका केही विषय रहन सक्छन् ।  त्यो स्वाभाविक हो । किनभने मजस्तो भद्रगोल बिरासत लिएर निर्वाचित भएँ, रातारात ती समस्याको समाधान सम्भव थिएन । मलाई गर्व छ कि, हामीले १८ अर्ब रुपैयाँ यो पाँच वर्षमा निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेका छौँ । केही महत्त्वपूर्ण र दीर्घकालीन रणनीतिका परियोजना सुरु भएका छन् । कालीगण्डकी करिडोर गुल्मी र बाग्लुङका लागि मात्र होइन, देशकै लागि लाइफलाइनका रूपमा विकास हुन सक्ने अन्तर्राष्ट्रिय राजमार्गको विकास गरेका छौँ । त्यसले पूर्णता प्राप्त गर्दैछ । मदन भण्डारी राष्ट्रिय राजमार्ग, अन्य महत्त्वपूर्ण पूर्वाधारका काम सम्पन्न गरेका छौँ ।

खानेपानीको समस्या जिल्लामा निकै ठूलो थियो । हामीले खानेपानीको समस्या ९५ प्रतिशत समाधान गरेका छौँ । जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराएका छौँ । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत जनताले आफ्नै घरमा धारा खोल्न पाउने अवस्था सिर्जना भएको छ । खरका छाना विस्थापित गरेका छौँ । प्रत्येक पालिका १५ शैय्याका अस्पताल निर्माणाधीन अवस्थामा छन् । यहाँका हरेक सुख दुखमा सँगै छु । ०७६ सालमा बाढी पहिरोले ठूलो क्षति पुर्‍यायो, त्यतिबेला उहाँहरूकै साथमा थिए । कोभिडको बेलामा अथक प्रयास गरेको छु । यी काम हुन्, जसले जनता सन्तुष्ट हुनुहन्छ भन्ने ठान्छु । निश्चय पनि केही कामलाई गति दिनुपर्ने, कतिपय नयाँ योजना थप्नुपर्ने, सुरु भएका योजनालाई पूर्णता दिनुपर्नेलगायतका केही काम बाँकी होलान् । स्वस्थ ढंगले आउने गुनासो र आलोचना हाम्रा लागि मार्गदर्शन हुन्, त्यसलाई शिरोधार्य गरेर अगाडि बढ्छु ।

तपाईंले यति भनेपछि स्वाभाविक रूपमा प्रश्न उठ्छ यो चुनावसँगै तपाईं गुल्मेली जनताका लागि के कोसेली लिएर जाँदै हुनुहुन्छ ?

यसलाई दुईवटा आयामबाट हेर्नुपर्छ । पहिलो कुरा राष्ट्रिय राजनीति नै हो । अहिले राष्ट्रिय राजनीति दुर्घटनाग्रस्त अवस्थामा पुग्न लागेको छ । गठबन्धनले राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिमा जुन ढंगले गहिरो आघात पुर्‍याएको छ । यसबीचमा लोकतन्त्रको चीरहरण भएको छ । समृद्धिका सपनालाई अस्तव्यस्त बनाइएको छ । सिंगो राज्य संयन्त्रलाई दोहनको यन्त्र बनाउने सेटिङबाट मुलुकलाई अगाडि बढाउन खोजिएको छ । मुलुकको समृद्धि र राष्ट्रिय स्वाभिमानको रक्षा हुन सकेको छैन ।

यी राष्ट्रिय मुद्दा पनि मैले साथमा राखेको छु । यसैमा जोडिएर राजनीतिमा स्वस्थ, मर्यादित, निष्ठा र मूल्यमान्यताको कुरा आउँछ, त्यसमा म निरन्तर लडिररहेको छु । त्यसमा जिल्लावासीको सधैँ माया र विश्वास पाइरहेको छु । दोस्रो आयाम चाहिँ विकाससँग जोडिएको कुरा भयो । यी निर्माणाधीन सबै परियोजनालाई समयमै सम्पन्न गर्ने प्रयास छ । अबको मुख्य फोकस युवा स्वरोजगारसँग जोडिएको छ । युवाहरूलाई सिप, तालिम र स्टार्टअपका लागि पुँजी उपलब्ध गराउँदै स्वदेशमै अड्याउन सक्ने युवा उद्यमशीलता मेरो मुख्य एजेण्डा हुनेछ ।

एमालेभित्र टिकट वितरणकै कारण देशव्यापी रूपमा असन्तुष्टि देखिएको छ । तपाईंको जिल्लामा कति प्रभाव देखिन्छ ?

मेरो जिल्लामा त्यस्तो समस्या छैन । मेरो नाम जिल्लाले सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको थियो । प्रदेशसभाका उम्मेदवारको पनि छलफल गरेर सहमति र समझदारीमै टुंगो लगाएका छौँ ।

अहिले एमालेलाई जित निकाल्न सत्ता गठबन्धनका कारण स्वाभाविक रूपमा दबाब पर्नेछ । एमालेका उम्मेदवारले सत्ता गठबन्धनभन्दा पनि एमालेभित्रकै असन्तुष्टबाट जित निकाल्न समस्या भएको विश्लेषण पनि भइरहेको छ नि ?

केही केही ठाउँमा समस्या होलान् । मैले अभियानमा व्यस्त भएकै बेलामा पनि केही जिल्लामा साथीहरूलाई फोन गरेर स्वतन्त्र र बागी उम्मेदवारी दिएका र असन्तुष्ट भएर अभियानमा नजोडिनु भएका साथीहरूलाई जोड्ने काम गरेको छु । नेताहरूले पनि त्यो गरिरहनुुभएको छ । एमालेजस्तो विशाल पार्टीमा उम्मेदवारीका आकांक्षी धेरै हुने र आफूले टिकट नपाउँदा चित्त दुखाउने देखिएको छ ।

चित्त दुखाउने एक हदसम्मको कुरालाई स्वाभाविक मान्न सकिएला तर पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उभिने कुरा चाहिँ किमार्थ पनि स्वीकार गर्न सकिँदैन । यो कुरा उहाँहरूलाई प्रस्ट बताएका छौँ । राजनीति भनेको एउटा चुनावमात्रै होइन । समय बित्दै जाँदा पार्टी केही असन्तुष्टि छन् भने ती पनि समाधान हुँदै जान्छन् । अहिले व्यक्ति को जित्ने भन्ने प्रश्न होइन । प्रश्न देशले जित्ने कि हार्ने भन्ने हो । अलिकति असन्तुष्टि र गुनासो गरिरहेका साथीहरू पनि सचेतन ढंगले अभियानमा जोडिनुहुन्छ भन्ने विश्वास छ ।

एमालेमा घनश्याम भुसाल र भीम रावलले टिकट नपाउने कमल थापा र एकनाथ ढकालहरूलाई रातो कार्पेट बिछ्याउने प्रवृत्तिले एमालेलाई कहाँ पुर्‍याउँछ ? 

एमालेमा यीसहित साह्रै धेरै नेताहरू हुनुहुन्छ । घनश्याम भुसाल र भीम रावलले मात्र टिकट नपाउनुभएको होइन । युवराज ज्ञवालीले पनि पाउनु भएको छैन । अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार हुनुभएको छैन । रामबहादुर थापा पनि लड्नुभएको छैन । उपाध्यक्षहरूले नै टिकट पाउनु भएको छैन । अरु थुप्रै हुनुहुन्छ । नेतृत्वको नजिकका साथीहरू पनि नेताहरूको व्यवस्थापन गर्दा धेरैले टिकट पाउनुभएको छैन ।  एमालेभित्र निश्चित व्यक्तिलाई पूर्वाग्रह राखेर टिकट नदिएको भन्ने मलाई लाग्दैन ।

हिजो पार्टीभित्र फरक धारणा राख्ने, अन्य समूहबाट जोडिएका साथीहरूमध्ये अधिकांशले टिकट पाउनुभएको छ र चुनावी मैदानमा हुनुहुन्छ । केही साथीको हकमा प्रश्न उठेका छन् । संसदीय मामिला भनेको निकै पेचिलो, संगठित र एउटा मतले सरकार बन्ने वा ढल्ने असाध्यै गणितीय संघर्ष पनि हो । यो गणितीय संघर्षमा अनुशासनको असाध्यै ठूलो भूमिका हुन्छ । तपाईंले नाम लिनुुभएका कतिपय साथीहरूले त्यो अनुशासन पालना गर्न सक्नुभएन । र, हामीले उहाँहरूबाट आइन्दा त्यो ढंगको गल्ती नहुने सुनिश्चितता खोजेका थियौं तर न विगतका कमजोरीप्रति आत्मालोचित हुनुभयो, न त भविष्यमा पार्टीको निर्णयको पक्षमा दृढतापूर्वक उभिने लक्षण र प्रतिवद्धता पायौँ । त्यो स्थितिमा संसदीय अभ्यासमा अराजकतालाई प्रोत्साहन दिन सकिँदैन थियो ।

त्यसकारण उहाँहरूले टिकट पाउनु भएन । दोस्रो, उहाँहरूको लडाइ मूल्यमान्यताका लागि थिएन भन्ने प्रस्ट देखिन्थ्यो । टिकट वितरणको बिहानसम्म एमालेको पक्षमा स्टाटस लेख्दै हिँड्ने साथीहरूका लागि टिकट नपाएपछि रातारात एमाले बिरानो भयो । लडाइ मूल्यका लागि थियो कि ? सिद्धान्तका लागि थियो कि ? दर्शनका लागि थियो कि ? एकथान टिकटका लागि थियो ? भन्ने प्रस्ट पारेन र ।

एमालेले टिकट वितरणमा काखापाखा गरेकाले देशव्यापी असन्तुष्टि पोखियो । त्यसले कति क्षति हुने आकलन गर्नुभएको छ ?

यसले एमालेलाई क्षति पुग्दैन । यद्यपि,  एक-एक मतको अर्थ हुन्छ । एक-एक नेताको पनि अर्थ हुन्छ । धेरै गल्ती कमजोरीका बाबजुद उहाँहरूलाई पार्टीको जिम्मेवारीमा राखेर अगाडि बढेको हो । कुनै आग्रह थिएन ।  भीम रावलको हकमा महाधिवेशनमा अध्यक्ष केपी ओलीले ‘तपाई उपाध्यक्ष बस्नुहोस् एकतावद्ध भएर जाऔँ’ भनेर प्रस्ताव गर्नुभएको थियो । एक प्रकारले महाधिवेशनको अधिकार कटौती गरेर भए पनि त्यो ढंगले भन्नुभएको हो । घनश्याम भुसाल पार्टीको स्थायी कमिटीमै हुनुहुन्थ्यो । उहाँहरूले राखेको अडानका कारण जिम्मेवारी वञ्चित गरेको होइन । सिंगो जिन्दगी र संघर्षलाई एकथान टिकटसँग साटफेर गर्ने, मूल्यांकन गर्ने साथीहरूको हकमा के भन्न सकिन्छ र ।

स्थानीय तहको चुनावताका एमालेको आन्तरिक अध्ययनमा करिब ५१ हजार नेता-कार्यकर्ताबाट क्रस भोटिङ भएको भनिएको थियो । त्यसलाई हेर्दा त अहिलेको असन्तुष्टिको प्रभाव रहने देखिन्छ नि ?

यसबीचमा हामीले स्थानीय तहका कमजोरीको समीक्षा गरेका छौँ । समस्या कहाँ रहे भन्ने विषयको पहिचान भएका छन् । त्यतिबेला कमजोरी र समस्या दोहोरिन नदिने गरी मातहतका कमिटीले पूर्ण रूपमा तयारी गरेका छन् ।

तपाईंहरू पूरै आत्मविश्वासका साथ एमाले बहुमतसहित ४ मंसिरपछि सिंहदरबार छिर्ने देखिन्छ भनिरहनुभएको छ । तर, बाह्य परिस्थिति त्यस्तो देखिन्न नि ? यो त कार्यकर्तालाई मनोवैज्ञानिक उत्साहका लागि मात्रै जस्तो देखिन्छ । 

हामी अहिले समानुपातिकतर्फको मत ४० प्रतिशत कटाउँछौँ । त्यसले करिब ५० भन्दा सिट जिताउनेछ । त्यसबाहेक प्रत्यक्षतर्फ ९० देखि १०० को हाराहारीमा सिट जित्ने प्रारम्भिक आकलन छ । त्यसकारण गठबन्धनका यावत् घेराबन्दीहरू चिर्दै मंसिरको तेस्रो साता एमाले बहुमतसहित सिंहदरबार छिर्नेछ ।

गठबन्धन आफैँ पनि भित्रबाट चर्किएको छ । धरमराएको छ । जसपाको बहिर्गमनपछि गठबन्धनको जग नै हल्लिएको छ । गठबन्धनभित्रै अविश्वास देखिन्छ । कतिसम्म भने पहिला आरजु राणालाई भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्सन गरेर प्रत्यक्षमा चुनाव लडाउने तयारी गर्नुभएको थियो तर पछि गठबन्धनभित्र अविश्वासकै कारण उहाँ समानुपातिकमा बस्ने स्थिति आयो । त्यत्रो गठबन्धनसहित रेनु दाहाललाई भरतपुर महानगरपालिकामा जिताएको थियो । तर, प्रचण्ड त्यही क्षेत्रबाट जित्न नसक्ने आकलन गरेर गोरखा जानुभयो ।

अहिले कांग्रेस ८८ सिटमा प्रतिस्पर्धा गर्दैछ । माओवादी झण्डै आधामा लडेको छ । एमाले एक सय ४० भन्दा बढी क्षेत्रमा चुनाव उठ्दैछ । आधाभन्दा कम ठाउँमा लडेका पार्टीले बहुमत ल्याउने र देशभर चुनाव लडेको एमाले पराजित हुने कुरामा प्रश्न नै हुँदैन ।

एमाले गठबन्धनसँग भिड्न एक्लै सक्षम रहेको दाबी गर्नु हुन्थ्यो । अहिले पाँच दलीय गठबन्धन बनाउनु भयो नि ?

हामीले केही-केही स्थानमा तालमेल गरेका छौँ । तर, उहाँहरूको गठबन्धन र  हाम्रो तालमेलमा भिन्नता छ । पहिलो, प्रतिपक्षले सत्तापक्षविरुद्ध गरेको तालमेल हो, जुन संसारभर स्वाभाविक मानिन्छ । सत्ताले प्रतिपक्षसँग गर्ने गठबन्धन चाहिँ सामाजिक फाँसीवाद हो । सत्तासँग शक्ति हुन्छ । शक्तिले प्रतिपक्षलाई नियन्त्रण गर्न गरिने शक्ति दुरुपयोग भनेको अलोकतान्त्रिक हो । दोस्रो, हामीले गरेका तालमेलमा भने एमालेको नेतृत्व, एमालेको नीति र एमालेले भोलि बनाउने सरकारका नीतिसँग कसैको प्रश्न छैन ।

एमालेको नेतृत्वमा सरकार बनाउन सहमत भएर नै जसपा र राप्रपासँग केही-केही ठाउँमा तालमेल गरेका हौँ । एमालेसँग भोलि कसको नेतृत्वमा सरकार बनाउने, को सरकार रहने भन्ने दुविधा रहेन । केही ठाउँमा गठबन्धनको घेरा तोड्न तालमेल गरेको भए पनि यसलाई राष्ट्रव्यापी तालमेल भन्न मिल्दैन ।

जसपालाई गठबन्धनमा ल्याउनुभयो तर प्रभु साहले क्षति पुर्‍याउने संकेत पनि देखियो नि ? 

प्रभुु साहबाट अनैतिक र बेइमानीपूर्वक कर्म भएको थियो । नेपाली राजनीतिको कुरुप चित्र पनि हो । र, असाध्यै लज्जास्पद घटना हो । पार्टी छोड्न पाइन्छ । असन्तुष्टि राख्न पाइन्छ । जोडिन पाइन्छ । पार्टीले विश्वासपूर्वक दिएको टिकटलाई खल्तीमा राखेर सम्बन्धित पार्टीको उम्मेदवारी नहुने किसिमको छुद्र खेलमा लाग्नुभयो । उहाँलाई यसको मूल्य ठूलो पर्नेछ । यस्ता खालका बेइमानीमा टिक्दैनन् । उहाँले साथीहरूले टिकट पाएनन् भनेर बहाना बनाउनुभएको छ । टिकट साथीहरूले नपाउने भए म पनि लड्न सक्दिनँ ज-जसलाई टिकट दिए पनि हुन्छ, म अलग भएँ भनेर जान सक्नुहुन्थ्यो नि । तर, उहाँले अराजनीतिक र अनैतिक र छलकपट गर्नुभयो ।

प्रभु साहको पछाडि को लाग्यो भन्न खोज्नु भएको हो ?

यसचोटी एमाले अनेक आक्रमण र घेराबन्दीबाट अगाडि  बढिरहेको छ । विभिन्न शक्ति केन्द्रहरूले नेकपा विभाजन, एमाले विभाजनबाट पनि सिध्याउन सकिएन । न सरकारबाट बाहिर्‍याएर समाप्त पार्न सकियो न त स्थानीय तहको चुनावमा घेराबन्दी गरेर एमाले सिध्याउन सकियो भन्ने बुझेका छन् । यो सबै बुझेका शक्ति केन्द्रलाई एमालेको नेतृत्वमा सामाजिक, आर्थिक रूपान्तरण अगाडि बढेको, राष्ट्रियता सुदृढ गर्ने अभियानको बर्खिलापमा भएकाहरूलाई एमाले सिध्याउनुपर्नेछ ।

एमालेलाई घाउ पारिरहने षड्यन्त्रहरू छन् । त्यसका लागि विभिन्न पात्रलाई प्रयोग गरेका हुन्छन् । प्रभु साहको क्रियाकलाप एकल वा स्वविवेकको कुरा हो भन्ने लाग्दैन । यो छलकपटको पर्दा खुल्दै जाला । प्रभु साहले राजनीतिमा पूर्ति हुन नसक्ने खाल्डो खन्नुभएको छ । त्यसले त्यही पुर्नेछ । शिलापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको बिक्रीदर १५१.४७ रुपैयाँ
२०८३ कार्तिक २०, शुक्रबार
आज शुक्रबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक २०, शुक्रबार
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार