काठमाण्डौंः नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण आगामी पुस १३ र १४ गते गर्ने तयारी छ । पुस १३ गते ज्येष्ठ सदस्यको र १४ गते बाँकी अन्य सदस्यहरूको शपथ ग्रहणको मिति तय गरिएको प्रदेश प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो । खड्काका अनुसार पुस १३ गते दिनको २ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई शपथ गराउनु हुने तथा पुस १४ गते दिनको २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले अन्य १०९ जना सदस्यलाई प्रदेशसभाको सभाकक्षमा शपथ गराउनु हुनेछ ।
मकवानपुर । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुले मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरेको छ । बागमती प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रति सहित तीन दिन अगाडी प्रदेश सभा सचिवालयलाई उपलब्ध गराउन आग्रह गरेको छ ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । सोहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ ९१० बाट प्रदेशसभामा निर्वाचित ढुङ्गानाले प्रदेशसभाको आगामी अधिवेशनको बैठक सञ्चालन गर्नु हुने उहाँले बताउनुभयो । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार उहाँ ७२ वर्षको हुनु हुन्छ । उहाँको जन्म २००६ साल असोज २ गते भएको हो ।
शपथग्रहणका लागि प्रदेशसभा सचिवालयले सबै तयारी पुरा गरेको जनाएको छ । सूचनामा शपथ लिन आउँदा प्रदेशका सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त निर्वाचित भएको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र पासपोर्ट साइजको ६ प्रति फोटो साथमा लैजानुपर्ने छ । यस्तै बिहीबार शपथ सुरु हुनुभन्दा करिब २ घण्टा अघि नै सांसदहरू प्रदेश सभा सचिवालयमा आइसक्नुपर्ने छ । बागमती प्रदेशमा ११० जना सांसद हुनुहुन्छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया