काठमाण्डौंः मधेश प्रदेशसभामा नवनिर्वाचित हुनुभएका प्रदेशसभा सदस्यहरूको शपथग्रहण पुस १५ गते हुने भएको छ ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित कुमार यादवले आज बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ः०० बजे प्रदेशसभा सदस्यका शपथ ग्रहण गराउने निर्णय भएको छ ।
मधेश प्रदेशमा निर्वाचित १० दलका प्रतिनिधिहरू सहभागी बैठकबाट शपथ ग्रहणको मिति तय गरेको प्रदेशसभा सचिवालयका निमित्त सचिव यादवले जानकारी दिनुभयो । मधेश प्रदेशमा रहेका सबैभन्दा ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले शपथ ग्रहण गराउनु हुने कार्यक्रम रहेको छ ।
प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण अघि ज्येष्ठ सदस्य न्यौपानेले प्रदेश प्रमुखबाट शपथ ग्रहण गर्नुहुने छ । न्यौपाने ७१ वर्षको हुनुहन्छ ।
मधेश प्रदेशसभामा सबैभन्दा ठूलो दलको रुपमा नेकपा एमालेले प्रत्यक्ष तथा समानुपातिकतर्फ २३ सिट, नेपाली काँग्रेस २२, जनता समाजवादी पार्टीले १६ सिट, जनमत पार्टीले १३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ९ सिट, नेकपा माओवादी केन्द्रले ८ सिट, नेकपा एकीकृत समाजवादीले ७ सिट जितेको छ ।
यस पटक प्रत्यक्षमा एक सिट पनि नजिते पनि समानुपातिकतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी १ सिट, नेपाल संघीय समाजवादी पार्टीको १ सिट र नागरिक उन्मुक्ति पार्टीको १ सिट रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया