काठमाडौं । भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रकृयाका कागजपत्र अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ। उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानविनका लागि अख्यिारले बिहीवार कागजपत्र नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको कागजपत्र अनुसन्धान सुरु गरिएको अख्यिार कार्यालयका प्रवक्ता टोपबहादुर बिष्टले बताए। अस्पतालमा खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्याँस एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रकृयामा अनियमितताको शंका गरिएको थियो।
अस्पतालले चैत १६ मा टेण्डर आह्वान गरे पनि टेण्डर स्वीकृतिको प्रकृया अस्पताल खरिद इकाई तथा मूल्यांकन समितिको हुने हुँदा टेण्डरसम्बन्धी जानकारी व्यवस्थापन समितिलाई नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताएका छन । व्यवस्थापन समितिलाई जानकारी नगराई र सार्वजनिक खरिद ऐन, नियमावली विपरीत खरिद सम्झौताविना खरिद गरिएको जोशीको दाबी छ।
टेन्डर प्रक्रियामार्फत चैत्र २९ मा महाकाली अस्पताललाई प्राप्त भेन्टिलेटर सन् २०१५ सालको पुरानो मोडलको रहेको छ। भेन्टिलेटरसहितका उपकरण तथा सामग्री आपूर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले ठेक्का सम्झौताअनुसार ५३ लाख रुपैयाँमा उपलब्ध गराएको हो।
आपूर्तिकर्ता कम्पनीका सञ्चालकको हस्ताक्षर र छाप समेत नलगााई र सम्झौता नहुँदै सामान अस्पताल पु¥याइएको बताइएको छ। पुरानो मोडेलको प्रयोग भैसकेका भेन्टिलेटरसहितका उपकरण अस्पतालमा पुगेपछि विवाद सुरु भएको थियो। विवाद बढेपछि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले समेत उपकरणको निरीक्षण गर्दै अस्पतालका लागि ल्याइएका उपकरण पुराना रहेको ठहर गरेको थियो।
मन्त्रालयका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतको नेतृत्वको प्राविधिक टोलीले भेन्टिलेटर सन् २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्विलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेपट्टीको भागमा सात आठ सेन्टिमिटर कालो दाग, एक घण्टा ब्याकअप दिने ब्याट्री नभएको औंल्याएको थियो।
यसैगरी, टोलीले डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयर अनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसन अनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको जनाएको छ। यसबारे टोलीले मन्त्रालयमा प्रतिवेदन समेत पेश गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया