मोरङ । उदयपुरबाट विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ल्याइएको टोलीका थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
उदयपुरमा लुकेर बसेका १२ जना भारतीयमा कोरोना संक्रमण देखिएपछि शुक्रबार राति उदयपुरबाट विराटनगर ल्याइएको थियो। उनीहरुको टोलीमा थप चार जना पनि थिए। चार जनामध्येकै थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
विराटनगर ल्याइएका कुल १६ जना मध्ये शनिबारको रिपिट थ्रोट स्वाब परीक्षणमा थप एक जनामा नतिजा पोजेटिभ आएको उपचार केन्द्रले जनाएको छ।
उपचार केन्द्रका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उदयपुरबाट ल्याइएका १६ मध्ये ४ जना नेगेटिभ रहेको थियो। सोही ४ मध्ये एकजनाको परिक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको उनले बताएका छन।
नेगेटिभ ४ जनामध्ये एकजनाको थप शंका लागेर कोशी अस्पतालस्थित पीसीआर प्रणालीबाट स्वाब परिक्षण गरिएको उनले बताएका छन।
केन्द्रका अनुसार पोजेटिभ नतिजा आएका संक्रमितलाई आइतबार अस्पताल ल्याइने बताइएको छ।
त्यसैगरि प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पनि उदयपुरबाट ल्याइएको ४ जना नेगेटिभमध्ये एक जनामा आज नमुना परिक्षण गर्दा पोजेटिभ आएको प्रस्टाएका छन।
गएराती ल्याइएको १२ जना संक्रमितको अवस्था भने सामान्य रहेको उपचार केन्द्रले जनाएको छ। यससंगै विराटनगरमा संक्रमितको संख्या कुल १३ पुगेको छ।
स्वस्थ्य मन्त्रालयले पनि थप एक जनामा कोरोना देखिएको पुष्टि गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया