वैशाख १३, २०८१ बिहिबार April 25, 2024

दाङमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकिशोर घिमिरेले गरे उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः घोराहीमा लुम्बिनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली कांग्रेस दाङको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

घोराहीस्थीत शहीद मञ्चमा भएको प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्णकिशोर घिमिरेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रतियोगिताले दाङको खेलकुद क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

जिल्लाका दश पालिकाका खेलाडीहरुको सहभागिता रहेको भलिबल प्रतियोगितामा बबई गाउँपालिका र गढवा गाउँपालिकाको भलिबल टिमले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा साविक विजेता तुलसीपुर उपमहानगरपालिकालाई बबई गाउँपालिका टिमले ३–० को सोझो सेटमा हराएको छ । बबईले २५–१६, २५–१५, २५–१८ को सोझो सेटमा जीत हासिल गरेको हो ।

शुक्रवार भएको दोस्राे खेलमा गढवा गाउँपालिकाको टिमले राप्ती गाउँपालिकाको भलिवल टिमलाई ३–१ को सेटमा हराएको थियो । राप्ती गाउँपालिकाको टिमले पहिलो सेट जिते पनि त्यसपछिका खेल लगातार हारेपछि पराजित हुन पुगेको थियो । गढवाले २५–२३, २५–२७, १७–२५, २३–२५ को सेटमा जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिग कम नक आउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा साविक विजेता तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, राजपुर गाउँपालिका, बङ्गलाचुली गाउँपालिका र शान्तिनगर गाउँपालिका र समूह ‘बी’ मा साविक उपविजेता राप्ती  गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, दंगीशरण गाउँपालिका र घोराही उपमहानगरपालिकाको भलिबल टिमहरु छन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण जित्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेस्राे हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टिमले २८ हजार एक सय ३२ रुपियाँ पुरस्कार पाउने आयोजक नेपाली कांग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगितामा प्रत्येक टिमले दुई जना खेलाडी बाहिर जिल्लाका राख्न पाउने व्यवस्था गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया