बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

आज आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताएका छन ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाएका छन। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताएका छन ।

मातातीर्थ मेला स्थगित
आमाको मुख हेर्ने औँसीसमेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको छ ।

आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिएका छन । नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा रु १०० जरिवाना गर्ने जनाइएको छ ।

मातातीर्थमा संरक्षण समितिले गर्ने नित्य पूजा भने हुने नगरपालिकाले जनाएको छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार