काठमाडौँ । लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ ।
तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ । बजारमा चामलको मूल्य प्रतिकिलो रु चार/पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन/चारसम्म बढेको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत बताउँछन् ।
बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।
लकडाउन समयमा उपभोक्ता मूल्यमात्रै नभएर गुणस्तर र नापतौलमा ठगिएको उपभोक्ता हित अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताएका छन । यो समयमा बजारमा खाद्यान्न कम आएको भन्दै म्याद सकिएका सामानसमेत बिक्री हुनसक्ने भएकाले सरकार चनाखो हुनुपर्ने उनले बताएका छन ।
सरकारले खाद्यान्नको आपूर्तिमा कुनै रोकावट नहुने भने पनि विभिन्न स्थानमा पानी, दूधलगायत खाद्यान्न बोक्ने गाडी नै रोकेको पनि उनले बताएका छन । कतिपय स्थानमा स्थानीयवासीले अन्यत्रका मानिस आउन नपाउँन् भनी बाँस राख्ने त कतै पुल रोक्ने काम गरेका छन् । उनले भने, “यसले गर्दा पनि खाद्यान्नको आयातमा नै समस्या आइरहेको छ ।”
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको लकडाउनमा पनि सरकारले बजारको नियमित अनुमगन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा प्रदेश सरकार र स्थानीय सरकारले अनुगमन गर्नुपर्ने भए पनि त्यो नभएको उनको भनाइ छ ।
सरकारकै एउटा मन्त्रालय र अर्को मन्त्रालय र तीन तहबीच आपसी समन्वयमा मात्रै बजार नियमित अनुगमन र गल्ती भएमा कारवाही हुनसक्ने उनले बताएका छन । उनले भने, “अहिले पनि गृह मन्त्रालयले यी–यी गाडी चल्न पाउने भनी अनुमति दिएकामा स्थानीय सरकारले रोकेको पाइएको छ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया