वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

विश्वकप क्रिकेट लिग-२ : पपुवा न्युगिनीद्वारा युएई पराजित

शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ ।

शृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार दोस्रो खेलमा पराजित भएको हो । टस जितेर पपुवा न्युगिनीले फिल्डिङ राजेको थियो ।

निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सवै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पपुवा न्युगिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।

पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५, सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए । बलिङतर्फ युएईका रोहन मुस्तफाले दुई विकेट लिए ।

यसअघि ब्याटिङ गर्ने क्रममा युएईका भृत्य अरविन्दले २६, मुहमद वसिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए । युएईले हालसम्म खेलेका ३१ खेलबाट ३१ अङ्क जोडेको छ । युएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ ।

नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया