महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा अज्ञात रोगको कारण आईतबार थप एक जनाको मृत्यु भएको छ ।योसँगै महोत्तरीको दुई बस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सख्या १२ पुगेको छ ।
आज बिहान भंगाहा नगरपालिका–७ स्थित ५९ बर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
भंगाहा नगरपालिक–७ र बर्दिवास नगरपालिका वडा नम्बर १२ एक आपसमा जोडिएका दुई बस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो ।
मृतकमा एकै खालको लक्षण देखिएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार अचानक पेट दुखेपछि बान्ता गर्ने र झाडा पखला लाग्ने र अन्तिममा बिरामीको मृत्यु हुने गरेको स्थानीयहरुले बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामप्रसाद अधिकारीले बताएका छन ।
सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने घटनास्थल पुगेका चिकित्सकहरुले बताएका छन् ।
विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ ।
भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताएका छन । मृतकमध्ये केही व्यक्तिको कोरोना आशंकामा आरडीटी परीक्षण गरी स्वाब संकलनसमेत गरिएको छ ।
मृतक केहीको आरडीटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन झाले बताएका छन ।
दुईदिन अघि मात्रै शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलसहितको स्वास्थ्यकर्मीसहितको टोली घटनास्थल पुगेर अवस्था बुझेर फर्केको थियो । मृतकको संख्या बढेसँगै स्थानीय त्रासमा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया