वैशाख १२, २०८१ बुधबार April 24, 2024

दश टाउके रावणको अवसान ! – कृष्णमुरारी भण्डारी

उपनिर्वाचनका बहुचर्चित तनहुँ र चितवनमा सत्तासीन गठबन्धन पछारिनुको कारण एउटै छैन तर मूल कारण भनेकै सत्तासीन गठबन्धनले प्रभावकारी काम गर्न नसकेकाले नै हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मानिसको मृत्यु के कति कारणले हुन्छ ? किन जीवजन्तु मर्छन् ? भनिन्छ, जीवजन्तु वृद्ध भएर मर्ने होइन ! मानिस पनि होइन। अनेक ज्ञात–अज्ञात रोग लागेपछि व्यक्ति मर्ने हो। त्यसो भए के कारणले गर्दा मानिसको मुटु, फोक्सो, कलेजो, मिर्गाैला र मस्तिष्कले काम गर्न छाड्छ ? युवा होस् कि वृद्ध जो पनि एकै किसिमले मर्छन् ? होइन, मर्दैनन्। मृत्युका निम्ति जोसुकैलाई पहिलेदेखि लागेको रोग वा नयाँ रोग कारण हुने गर्छ, उमेर होइन।

कसैको मृत्युको कारण खोज्नु आजको उद्देश्य होइन। मानिसले बनाएका संघ–संस्था, संगठन वा पार्टीको असान्दर्भिकताको कारण खोजेर सत्य औल्याउनु हो। भर्खरै खुलेको र एक वर्ष पनि नपुगेको पार्टीका उम्मेदवारसँग उपचुनावमा सात दशक बढी पार गरेको सत्तासीन पार्टीका उम्मेदवारले के कारणले चुनाव हारे ? गठबन्धन दशवटा दल मिलेर बनेको दश टाउके रावण भन्दा बलियो हो ? गठबन्धनका एक्ला उम्मेदवारलाई टुरिस्टको आरोप खेपेका उम्मेदवारहरूले नारायणहरि बनाइदिए– तनहुँ र चितवनमा। विकसित र सभ्य भनिएको समाजमा हो भने राष्ट्रपतिको निर्वाचन क्षेत्रमा उनकै पार्टीका प्रतिनिधिको पराजय भनेको राजनीतिक नैतिकताको प्रश्न उठ्ने थियो।

रवि लामिछाने र स्वर्णिम वाग्लेले सत्ता गठबन्धनका उम्मेदवारले पाएको भन्दा दोब्बर मत प्राप्त गर्नुको अर्थ जनताले सत्तासीन हरूका गलत विधि, प्रक्रिया र सामान्य सिद्धान्तको पनि उल्लंघनलाई दिएको भद्र जवाफ हो।

रवि लामिछाने र स्वर्णिम वाग्लेले सत्तागठबन्धनका उम्मेदवारले पाएको भन्दा दोब्बर मत प्राप्त गर्नुको अर्थ जनताले सत्तासीनहरूका गलत विधि, प्रक्रिया र सामान्य सिद्धान्तको उल्लंघनलाई दिएको भद्र जवाफ हो। यसो नहुँदो हो त सधैँ जितिरहेको निर्वाचन क्षेत्रमा दश दलीय सत्तागठबन्धनका उम्मेदवारहरूले सर्मनाक हार बेहोर्नुपर्ने थिएन। यो उपनिर्वाचनको पछिल्लो परिणामले प्रवाह गरेका दश सन्देशलाई संक्षेपमा तल उल्लेख गरिएको छ–

पहिलो, एक्काइसौँ शताब्दिको राजनीति न कसैको बपौती हो नत बिर्ता नै। जनतालाई कसैले रैती नसम्झे हुन्छ। पार्टीहरूले आफूलाई बिर्तावाल नसम्झिउन् ! खबरदार, तिमीहरूजनताको सेवक मात्र बन्न सक्छौ, मालिक होइन। तिनीहरूको पार्टी प्राइभेट लिमिटेड कम्पनी जस्तो होइन।

दोस्रो, जनता हरेक कुराको निर्णायक भएकाले जनार्दन भनिएको हो। जनता दास होइनन्। उनीहरू सार्वभौमसत्तासम्पन्न देशका मालिक हुन्। लोकतन्त्रमा जनतालाई जनार्दन मानेर राज्यसत्ता सञ्चालन हुन्छ र हुनुपर्छ। जनप्रतिनिधि भनेका जनताका अंश हुन्। अहिले सम्पन्न निर्वाचनमा जनताले आफू जनार्दन हौँ भन्ने प्रमाणित गरेका छन्।

प्राविधिकरूपमा सबै जनता एक ठाउँमा बसेर प्रत्येक निर्णय गर्न संख्याका कारण सहज हुँदैन। एकै ठाउँमा सहभागी बनेर निर्णय गर्न नसकिने भएकाले प्रत्येक नागरिकको प्रतिनिधिका रूपमा आफ्नो हितमा काम गर्न जनप्रतिनिधिलाई जनताले चुनेर पठाएका हुन्। त्यसैले पार्टी, नेता, पैसा, जमिनदार, ठेकेदार, माफिया, डन, बिचौलियाका दास होइनन् जनता। मालिक जनतार सेवक हुन् जनप्रतिनिधि।

तेस्रो, हिंग बाँधेको टालोको अस्तित्व हुँदैन, हिंगको मात्रै महत्व हुन्छ। ठूलो पार्टीले आफ्नो उम्मेदवारलाई सन्त नेतासँग समेत दाँजेको देखियो। तर हिंग बाँधेको टालो सुँघाउनुलाई नयाँ पुस्ता र आजको विज्ञान, प्रविधि र बजारको युगले स्वीकार गर्दैन। टालो होइन, हिंगको नै खोजी हुन्छ। त्यसैले हिंगबाँधेको टालोलाई होइन, हिंगको डल्लो मानिने उम्मेदवारलाई अत्यधिक मतदाताले रुचाए।

चौथो, अप्राकृतिक एवम् अपवित्र गठबन्धन सर्वस्वीकार्य हुँदैन। जनताले सधैँ विकल्प खोज्छन्, विद्रोह रोज्छन्। चुनावअगाडि पार्टीहरूले गठबन्धन गरे। जनताले ठग बन्धनको आरोपसमेत लगाए। पहिलो चुनाव सकिएपछि चुनाव लडेको दलसँग एकता गरेर सरकार बनाइयो। फेरि अर्को अपवित्र गठबन्धन भयो। लोकतन्त्रमा अपवित्र खेलबाड स्वीकार्य हुन्न। यो सर्वस्वीकार्य कुरा हुँदै होइन। त्यसैले यसलाई दश टाउके रावणको विम्बसँग दाँजेर जनता जनार्र्दनले दशदलीय गठबन्धनका उम्मेदवारलाई ढालिदिए।

पाँचौँ, हिजोको क्रान्ति, क्रान्तिको ब्याज, स्याज र ल्याज खोज्नेहरूलाई जनताले लोप्पा ख्वाइदिए। हिजोका कथाको म्याद सकिइसक्यो। त्यो बेलाको नायकले अवसर पाएको बेलामा उदाहरणीय बनेर समाज रूपान्तरण गर्ने हो। जीवनभर त्यही गीत गाएर हिँडेको कसैले सुन्नेवाला छैन। एकै जनालाई सातसात पटक प्रधानमन्त्री बनाउन खोज्दैनन् जनता। नयाँपुस्ताले त यो कुरा झन् सुन्दैसुन्दैन। पटक्कै सुन्दैन। हिजोको अविकसित, अशिक्षित, पहुँच नभएको समाजका रितहरू अबको आधुनिक, शिक्षित समाजमा किमार्थ चल्दैन।

हिंग बाँधेको टालोको अस्तित्व हुँदैन, हिंगको मात्रै महत्व हुन्छ। ठूलो पार्टीले आफ्नो उम्मेदवारलाई सन्त नेतासँग समेत दाँजेको देखियो। तर हिंग बाँधेको टालो सुँघाउनुलाई नयाँ पुस्ता र आजको विज्ञान, प्रविधि र बजारको युगले स्वीकार गर्दैन।

छैटौँ, राजनीतिक सत्ता र लाभको सिन्डिकेटलाई जोडको धक्का हो अहिलेको परिणाम। राज्यका हुन् कि दलका, सबै पद बाँड्ने काम जनतालाई स्वीकार्य छैन। श्रीमती, छोराछोरी, बुहारी, भान्जाभान्जी, मीत, सालासाली, गर्लफ्रेन्ड, बिचौलिया, तस्कर, व्यापारी, भ्रष्टाचारी, माफियालाई पद बाँडेको जनताले देखेका छन्। त्यसैले संवैधानिक आयोगका पददेखि राजदूत, सांसदलगायत हरेक ठाउँमा नातावाद कृपावाद गरेको सबैका अगाडि छरपष्ट भएकाले मतपत्रबाट जनता जनार्दनले अब यो चल्दैन, चल्न दिनुहुँदैन भनेर मतदान गर्दै तिनका उम्मेदवारलाई नारायणहरि बनाइदिए।

सातौँ, जनतामा बढ्दो राजनीतिक चेतना उपनिर्वाचनमा झन् स्पष्टसँग देखिएको छ। अब फलानालाई मत भन्ने कुरा मान्दैनौँ। हिजो पक्ष÷विपक्ष मात्र छुट्याउने र विकल्प नखोज्ने जनता आज विश्वमा आएको परिवर्तन, खुला समाज, सूचनाको उपलब्धताले गर्दा आफ्नो विवेक प्रयोग गरेर छुट्याउन सक्छन् भन्ने उदाहरण हो अहिलेको उपनिर्वाचनको परिणाम। जनतामा बढेको क्षमताले आफूले चाहेको उम्मेदवार को हो त्यसलाई गोप्य मतदानद्वारा अभिव्यक्त गर्नसकेको देखियो।

आठौँ, नयाँ मतदाताको रोजाइमा नयाँ पुस्ताको सशक्त हस्तक्षेप देखियो उपनिर्वाचनमा। १८–२५ वर्ष समूहका युवाको संख्या ४० प्रतिशत बढी छ। विभिन्न कारणले छरिएर मतदान गर्नबाट वञ्चित भए पनि सामाजिक सञ्जालमार्फत धेरै युवाहरू उपचुनावमा जोडिएकाले पनि अहिलेको चमत्कारी परिणाम आएको हो। यो पुस्ता खुराफात मन पराउन्न। विगतमा प्रगतिको लयमा कांगे्रस, माओवादी, एमालेको पक्षमा युवापुस्ताले आफूलाई अग्रगामी देखाएकै हो। अहिलेको उपचुनावमा यो पुस्ताले नयाँपन पस्कने नयाँलाई खोजेको छ।

नवौँ, लाचारहरूलाई मतदाताले राम्रैसँग लोप्पा ख्वाइदिए। निर्वाचनभर तनहुँमा गगन थापा र विश्वप्रकाशहरू शिविर बनाएर बसे। पार्टीभित्र एउटा गर्जन गर्जिने र बाहिर अर्कै हुँकार गरे पनि कांग्रेसले सरकारलाई पूर्णता दिन नसकेको यथार्थ जगजाहेर नै छ। पार्टीमा भिन्न मत भएको बताउने र उपचुनावमा कमान्डर बनेर गएका गगनलाई तनहुँका मतदाताले लोप्पा खुवाइदिए। सँगै आफ्नो उम्मेदवार जिताउन पुगेका प्रधानमन्त्रीलगायत तीन पूर्वप्रधानमन्त्रीको साम, दान, दण्ड, भेदको व्यवहारलाई जनताले ठाडै इन्कार गरेर योग्य उम्मेदवारलाई नै अत्यधिक मतले जिताइदिए। यसले जेमा फाइदा त्यतै लाग्ने पीपलपातेहरूलाई नंग्याइदिएको छ।

दशौँ, दुई दलीय प्रणालीको पक्षमा उपनिर्वाचनको दह्रो संकेत। यसअघि लगातार जितिरहेको निर्वाचन क्षेत्रबाट अत्यधिक मतान्तरकासाथ मतदाताले के कारणले चुनावमा हराइदिएका होलान् ? अहिले जताततैको अहम् सवाल यही बनिरहेको छ ? तर यसको सरल जवाफ कसैले दिन सकेको छैन। सबैतिरबाट बलियो भनिएको उम्मेदवारले न संगठन, न प्रभाव र नत विचार भएको स्वनामधन्य दलको एक उम्मेदवारसँग निर्वाचन प्रतिस्पर्धामा के कति कारणले हारेको हो ? यसको मूल कारण के हुनसक्छ ?

उपनिर्वाचनका बहुचर्चित तनहुँ र चितवनमा सत्तासीन गठबन्धन पछारिनुको कारण एउटै छैन तर मूल कारण भनेकै सत्तासीन गठबन्धनले प्रभावकारी काम गर्न नसकेकाले नै हो। दलहरूबीच भयंकर स्वार्थ छ। सरकारले पटक्कै काम गर्न सकेको छैन। आमजनतालाई धेरै सपना देखाइयो। काम भने वरको सिन्को परसम्म सार्न सकेको छैन। गणतन्त्र, संघीयता खुबै भनियो तर गणतन्त्रमा जनता बलियो भएन। नेता र तिनका आसेपासेले अकुत सम्पत्ति थुपार्नुसम्म थुपारेका छन्। बलियो पनि बनेका छन् तर बलियाहरूले प्रतिनिधित्व गर्ने पार्टी कहिल्यै जवाफदेही बनेनन्। त्यही कारण नै हो, मेयरले केन्द्रीय सरकारलाई थर्काउनसम्म थर्कायो। अन्य नगरपालिकामा पनि यही देखिन थालेको छ। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया